हुम्लाः भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मंगलबार अपराह्न दुर्घटना भएको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन। सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा दुर्घटना भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ। तर, पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि यात्रु भेट्टाउन नसकिएको हो। स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको बताएका छन्।
दुर्घटनामा परेकी उपाध्यक्ष शाहीको झोलामा रु ६४ हजार, नागरिकता र अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।
दुर्घटनास्थलमा पुगेका सशस्त्र प्रहरीका निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य भए पनि भेट्टाउन मुस्किल रहेको बताए।
दुर्घटना भएको जीपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए।
शोकमा हुम्ला
जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ। कर्णाली नदीमा खसेको जीपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन। रासस