1.jpg)
मेलम्चीः मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीयले फर्काइदिएका छन्। आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्सट्रक्सनका कामदारलाई फर्काइदिएका हुन्।
सरकारले मुहानको हेडवक्सलगायतको काम गर्ने जिम्मा श्रेष्ठ कन्सट्रक्सनलाई दिएको थियो। कामको जिम्मा पाएपछि कम्पनी कामदार लिएर मेलम्चीको मुहान पुगेको थियो। तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिले भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि कामदार फर्किएको स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए।
“काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई हामीले आफ्नो समस्या र मागको बारेमा जानकारी गरायौँ, स्थानीयवासीको उक्त आवाज सुनेपछि माथि कुरा गर्ने भन्दै फर्केका हुन्”, उनले भने।
इटालियन कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो।
स्थानीयवासीलगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन्।
“हामीले सल्लाहले नै आफूहरुले सिएमसीसँगको गरेको कामको पैसा मागेका हौँ, रु तीन अर्ब धरौटी जफत भएकाले त्यहीबाट भुक्तानी दिनुपर्दछ”, श्रेष्ठले भने।
आफूहरुले सरकारसँग रकम नमागेको भन्दै आयोजना छिटो सुरु गर्न पहल होस् भन्ने माग भएको उनले बताए। रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका थिए।
यता स्थानीय सरकारले पनि स्थानीय समस्या समाधान नगरी मेलम्ची लाने सपना नदेख्न चेतावनी दिँदै आएको छ।
खानेपानी आयोजनाको काम सुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह पनि गरेका छन्। रासस