
कञ्चनपुर : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटप्रतियोगिता प्रदेश नम्बर ३ की खुशी डंगोलले कीर्तिमान बनाएकी छिन्। उनले १.३ ओभरको स्पेलमा कुनै पनि रन नदिई ५ विकेट लिइन्।
खुशीकै शानदार बलिङ मद्दतमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको छ।
महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ३ विकेट गुमाएर १५६ रन बनाएको थियो। प्रदेश ३ का लागि अस्मिता कर्माचार्यले नटआउट रहँदै ४७ रन बनाइन्। यस्तै अस्मिता खरेल र कञ्चना श्रेष्ठले २८-२८ रन बनाइन्।
१५७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १५.३ ओभरमा सबै विकेट गुमाएर ६६ रन मा१ बनाउन सक्यो। कर्णालीका लागि रुवीना चौधरीले २२ तथा लक्ष्मी रिमालले ११ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक छुन सकेनन्। कर्णालीका चार खेलाडीले खाता खोल्न सकेनन्।
कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिइन्। नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ विकेट लिने खुसी पहिलो खेलाडी बनिन्। पुरुष क्रिकेटमा पनि यस्तो उपलब्धी कुनै पनि खेलाडीले हात पार्न सकेको छैनन्।