PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

समयमै सकिएला त हुलाकी सडक? यस्ता छन् यहाँका १० रोगी पुल



अनन्त कोइराला

समयमै सकिएला त हुलाकी सडक? यस्ता छन् यहाँका १० रोगी पुल

मध्य गर्मीको मौसम। झापाको मेची पुलबाट महेन्द्रनगरको चाँदनी दोधारासम्मको यात्रा। महेन्द्र राजमार्गको २० देखि ३० किलोमिटर भित्र मधेशका बस्तीबाट जाने ९ सय ७५ किलोमिटर लामो हुलाकी सडक। खन्दै र बन्दै गरेको सडक। तराईको मुटु चिरेर बगेको यो सडकमा तापमानको पारो ३५ डिग्रीबाट माथि चढेको छ। बाटोमा भेटिन्छन् सडकमा माटो खन्याइरहेका ट्रक, बाटो सम्याउँदै गरिरहेका स्काभेटर, कल्भर्ट र साना पुलहरुका लागि ठडिएका रडहरु, अनि डिपिसी गरिएका पिल्लर।

सडक कस्तो छ भने आफूभन्दा अगाडि एउटा गाडी हिँडेको छ भने ५० मिटर आसपास केही देखिँदैन धूलोले। त्यसमाथि कल्भर्ट र पुलको छेउबाट खेतमा बनेका धुलाम्मे र खाल्डे डाइभर्सन। कहीं कतै ग्राभेल गरेको बाटो भेटिँदा विदेशतिर देखिने चिल्ला काला सडक नै भेटेजस्तो खुशी मान्नुपर्ने। जेठको अन्तिम साता हुलाकी सडक हुँदै मेची-महाकाली यात्रा गर्दा देखिएको दृश्य हो यो।

राणाकालीन समयदेखि नै चिट्ठी पत्र ओसारप्रसार गर्ने हुलाकीहरु हिँड्ने बाटोलाई आधार बनाएर निर्माण शुरु गरिएको हुलाकी सडकको चित्र हो यो। यो सडकलाई राणा प्रधानमन्त्री पद्मशमशेरले राजमार्गको रुपमा अघि बढाएको मानिन्छ। पद्मशमशेरले नै शुरु गरेको भनिएको सडकलाई विस्तृत रुपमा अगाडि बढाउने काम भने २०६५ बाट भएको हो। नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण शुरु भएको पनि १० बर्ष बढी भैसकेको छ।

महेन्द्र राजमार्गको समानान्तर तर तराईका भित्री शहर हुँदै बनिरहेको यो सडकले देशको आधा जनसंख्यालाई सडकको पहुँचमा सहजता दिलाउने भनिएको छ। यो सडकको निर्माणपछि मधेशको आर्थिक र सामाजिक अवस्था नै परिवर्तन हुने प्रचार पनि गरिन्छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो सडकको निर्माणमा भने सोचेजस्तो प्रगति भएको छैन। अझ यो सडकअन्तरगत पर्ने ठूला पुलको अवस्था त दयनीय नै छ। पुल निर्माणको सुस्तपनले गर्दा नै हुलाकी सडक हुँदै मेची-महाकाली यात्रा गर्न या त महेन्द्र राजमार्गकै सहायता लिनुपर्छ या त भारत हुँदै।

हुलाकी सडकले एक शहरबाट अर्को शहरसम्मको दुरी घटाउने मात्र नभएर बजारको पहुँच सहज बनाउने बताउँछन् सिरहा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष गोपालप्रसाद यादव।

‘हामीलाई यहाँबाट जनकपुर जानुपर्दा महेन्द्र राजमार्ग हुँदै जाँदा ८२ किलोमिटर जानुपर्छ,’ हुलाकी सडकले दिलाउने सहजताको बारे यादव भन्छन्, ‘हुलाकी सडकबाट जाने हो भने जम्मा २७/२८ किलोमिटरले पुग्छ। यसले त बजारसम्मको पहुँचलाई सजिलो बनायो नि।‘ अहिले आएर सडक निर्माणमा सन्तोषजनक अवस्था देखिएपनि पुल निर्माणको गति भने निराशाजनक भएको बताउँछन् उनी।

‘अहिले जुन रफ्तारमा सडकमा काम भइरहेको छ, यो हेर्दा तोकेको समयमै सडक सकिने जस्तो देखिन्छ,’ उनले भने, ‘तर कमलाको पुलकै कारण यो सडकको काम सकिँदैन।‘ पुल निर्माणको गति हेर्दा यादवको भनाइ सत्य देखिन्छ। उसो त हुलाकी सडक आयोजना नै पनि सडकको तुलनामा पुल निर्माणको गति सुस्त रहेको स्विकार्छ।

यो सडक खण्डमा रहेका ठूला पुल त के साना साना पुल तथा कल्भर्टको निर्माणको अवस्था पनि सन्तोषजनक छैन। मेचीदेखि महाकालीसम्म जोड्ने हुलाकी सडकमा रहेका १० वटा ठूला पुलको निर्माण गति यति सुस्त छ कि सडक आयोजनाले यी पुललाई रोगी पुल नै मानेको छ।

खण्डखण्ड गर्दै निर्माण भैरहेको यो सडककका लागि आर्थिक वर्ष २०७६/७७ मा १३ अर्ब बजेट छुट्याइएको छ। यो सडक निर्माणका लागि २०४७ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले नेपाल भ्रमणको क्रममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। अहिले ३ सय ५ किमी सडक भारत सरकारको अनुदानमा र ६ सय ५३ किलोमिटर सड्क नेपाल सरकारको लगानीमा निर्माण भइरहेको छ। 

 

पप्पुको जिम्मामा पुल

यो सडकखण्डका १० वटा ठूला पुल मध्ये छ वटा पुल समयमा काम नसक्नेमा देशभर बदनामी कमाएको पप्पु कन्स्ट्रक्सनको जिम्मामा छन्। हुलाकी सडक आयोजनाले पप्पुको जिम्मामा रहेका पुलहरुलाई उसको अर्को पार्टनर कम्पनीलाई अगाडि सारेर काम अघि बढाउने तयारी गरिरहेको छ। यी मध्ये केही पुलको त झन् ठेक्का नै रद्द हुने अवस्थामा छन्।

प्रदेश नम्बर दुई अन्तर्गत सप्तरी, सिराहा, धनुषा, रौतहटमा सडक निर्माणको रफ्तार बढेको छ। सडकसँगै निर्माण गर्नुपर्ने कल्भर्ट र सानासाना पुलहरुको काम पनि अघि बढिरहेको छ। आयोजनाको अहिलेको चिन्ताको विषय भनेको ठुला पुलहरु हुन्। ठेकेदार कम्पनीको ढिलासुस्तीले सडक बनिसक्दा पनि पुलहरु बनिनसक्ने अवस्थामा छन्। पुलकै कारण सडक सञ्चालनमा ढिलाइ हुनेमा आयोजना कार्यालय पनि चिन्तित छ।

शुरुवातमा यो सडकको अनुमानित लागत ४२ अर्ब २७ करोड थियो। शुरुवातमा यो सडक एक लेनमा निर्माण गर्ने योजना थियो। तर पछि सडक विभागले एक लेन सडक बनाउन रोक लगाएपछि दुई लेनको सडक निर्माण गर्नुपर्ने भएको छ। योसँगै अहिले हुलाकी सडकको अनुमानित लागत ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ।

 

रोगी पुल

हुलाकी सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रमेशकुमार सिंह यी १० पुललाई हुलाकी सडकका रोगी पुल भन्न रुचाउछन्। ‘सडक बनिसक्दा पुल नभएर सडक नै रोकिने अवस्था छ,’ सिंह भन्छन्, ‘ठेकदार कम्पनीले काममा ढिलासुस्ती गर्दा यस्तो अवस्था आउने देखिन्छ।‘

झापाको कन्काई पुल, झापाकै बिरिङ, सिराहाको बाल पुल, धनुषा र सिराहामा पर्ने कमला नदीको पुल, रौतहट र सर्लाही जोड्ने वागमती पुल, वीरगञ्ज ठोरी खण्डको तिलावे पुल, रुपन्देहीको तिनाउ खोला पुल, दानव खोला पुल, कैलालीको कान्द्रा खोला पुल रोगी पुलको सूचीमा छन्।

झापाको कन्काइ नदीमा पुल बनाउने जिम्मा पाएको पप्पु कस्ट्रक्सनले काममा ढिला सुस्ती गरेपछि उसैको अर्को लिड पार्टनर महादेव खिम्ती कम्पनीलाई अगाडि सारेर पुल निर्माणको काम अघि बढाइएको छ। २०७२ सालमा काम सक्ने गरी २०६८ सालमा ठेक्कामा लागेको यो पुलको निर्माण पहिलोपटक म्याद थप गरेर २०७४ सालमा सक्ने लक्ष्य थियो। तर यो पुलको निर्माणको अवस्था हेर्दा आयोजना सम्पन्न हुन तोकिएको आर्थिक वर्ष २०७९/८० सम्म पनि नसकिने अवस्थामा छ। चाँडो काम सक्न आयोजनाले ७ दिने, १५ दिने सूचना निकालेर ताकेता गर्दा पनि काममा तीव्रता आएको छैन।

यही सडकमा झापा जिल्लामै अर्को पुल छ बिरिङ्। लामा मैनाचुली जेभी कम्पनीले ठेक्कामा लिएको कम्पनीको काम गराइ पनि उस्तै सुस्त छ। २०६८ सालमा ठेक्कामा लागेको यो पुलको निर्माण सम्पन्न मिति यही असार ३० गतेसम्म रहेको छ। २०७१ को पुषमा काम सक्नेगरी ठेक्कामा लागेको यो पुलको म्याद थपेर यही बर्षको असारसम्म पुर्याउँदा पनि पुल निर्माणको ४५ प्रतिशत काम पनि नसकिएको अवस्थामा छ।

 

गल्ती कसको?

त्यसो त यी १० रोगी पुलमध्ये केहीमा आयोजनाकै पनि गल्ती छ। आयोजना अन्तर्गतको वागमती पुलको डिजाइन गलत हुँदा ठेकदारसँगको ठेक्का नै रद्द गर्ने अवस्थामा आयोजना पुगेको छ। लुम्बिनी बिल्डर्सले २०७० को मंसिरसम्ममा काम सक्नेगरी ठेक्कामा दिएको यो पुलको उचाइ र पुलको दिशा नै गलत भएको छ। ‘पुल बनिसक्दा खोला पुलबाहिरबाट बग्ने अवस्था देखिएको छ,’ सिंहले भने। हुलाकी सडक आयोजनाले डिजाइनमा गरेको गल्तीको सजाय अहिले यो पुलले भोगिरहेको छ।

उता वीरगंज ठोरी सडक खण्डमा रहेको तिलावे पुलको अवस्था त झन् दयनीय छ। यो पुलको ठेकदार कम्पनी हो पप्पु कन्ट्रक्सन। २०७५ को जेठमा काम सक्ने लक्ष्यका साथ २०७२ सालमा ठेक्का लागेको यो पुलको काम जम्मा १९ प्रतिशत मात्र भएको छ। त्यस्तै पप्पु बाम्ती जेभीको ठेक्कामा रहेको तिनाउ खोला पुल, पप्पु बाम्ती जेभीकै ठेक्कामा रहेको दानव खोला पुलको अवस्था पनि त्यस्तै सुस्त छ। यी दुवै पुल २०७३ मा सक्ने गरी ठेक्कामा दिइएको थियो। त्यसको ३ बर्षपछि पनि पुल सकिने अवस्थामा छैनन्।

पप्पुकै ठेक्कामा रहेका धनुषाको कमला पुल, सिरहाको बालन पुलको अवस्था त झन् दयनीय छ। २०६८ सालमा ठेक्कामा लागेका यी पुलमा पिल्लर ठड्याउने कामसमेत हुन सकेको छैन। पप्पु कन्ट्रक्सनले कहिले बालुवाको बहाना, कहिले गिट्टीको बाहना गरेर काममा आलटाल गर्ने गरेको गुनासो गर्छन् आयोजनाका सिडिई सिंह। ‘अरु ठेकदारलाई चाहिँ समस्या महुने तर पप्पुलाई मात्र गिटी बालुवाको समस्या हुने भनेको नियतको कुरा हो,’ सिंह भन्छन्, ‘सूचना निकाल्दा निकाल्दा हामी नै आजित भैसक्यौं।‘

हुनत पप्पु बाहेकका ठेकदार कम्पनीको जिम्मामा रहेका पुलको अवस्था पनि फरक छैन। कैलालीको कान्द्रा खोलाको पुल निर्माणको जिम्मा पाएको लामा-शाल्पा शेर्पा बिरुवा जेभीको काम गराइ पनि पप्पुकै हाराहारीको छ। २०७० को पुष मसान्तसम्ममा काम सक्नुपर्ने ठेक्का लिएको पुलको काम ३५ प्रतिशत पनि सकिएको छैन। तोकिएको समयमा काम नसकिएपछि उसलाई २०७५ को असारसम्म काम सक्ने म्याद थपिएको थियो। तर अहिलेसम्म पनि पुल निर्माणमा प्रगति हुन सकेको छैन।

दिनेश खड्काको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell