PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

असारको पहिलो हप्ता बितिसक्दा पनि परेन पानी: मौसमविद् भन्छन्, अब एकदुई दिनमै शुरु हुन्छ वर्षा



अनन्त कोइराला

असारको पहिलो हप्ता बितिसक्दा पनि परेन पानी: मौसमविद् भन्छन्, अब एकदुई दिनमै शुरु हुन्छ वर्षा
फाइल फोटो

काठमाडौं: ‘पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ’, मनसुन ढिला शुरु भएर पानी नपरेको चिन्ता यसरी पोख्छन् महोत्तरी गौशाला नगरपालिका–१० का किसान देवलाल महतो।

सिँचाइको उचित व्यवस्था नभएको महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानलाई खेतमा तयार पारेको धानको तयारी अवस्थामा रहेको बेर्ना जोगाउन कठिन भएको छ।

असारको पहिलो हप्ता सकिनै लाग्दा पनि पानी पर्ने सुरसार छैन। आकाशे पानी हेर्दै रोपाइँ गर्न पर्खेका किसान आत्तिएका छन्।

किसान आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा तयारी अवस्थामा रहेको धानको बेर्नालाई चर्को घामबाट जोगाउन मुस्किल हुँदै गरेको महतोले बताए।

यता सिन्धुपाल्चोकस्थित इन्द्रातवीका गाउँपालिकाकाका किसान रोशन काफ्लेले पानी नपरेकाले रोपाई रोकिएको बताए। 'खोलामा पानी सुक्यो। बीउ जोगाउन पनि मुश्किल होला जस्तो छ। पानी पर्दैन कि भनेर किसानहरु आत्तिन थालेका छन्,' काफ्लेले भने।

'आत्तिनुपर्दैन, हप्तादिनमा मनसुनले देशभर पानी पार्छ'

पानी पर्न केही ढिला भए पनि नआत्तिन मौसम विभागले अनुरोध गरेको छ। मनसुन पूर्वमा प्रवेश भइसकेकाले अब केही दिनमै पानी पर्ने मौसम विभागका मौसमविद् सुभाष रिमालले पहिलोपोस्टलाई बताए।

'मनसुन पूर्वबाट प्रवेश गरिकेको छ। बादल भारी देखिन्छ। मोरङ र सुनसरीतिर त आजै पानी पर्ने सम्भावना छ', मौसमविद् रिमालले भने, 'देशभर मनसुनको प्रभाव देखिन एकहप्ता लाग्ला। ५-७ दिनमा त देशभर नै पानी पर्ला।'

अरब सागरमा देखिएको चक्रवातका कारण मनसुन ढिला भएको उनले बताए। मनसुन छिटो शुरु हुने वा ढिलो हुनेमा धेरै तत्वले असर पार्ने उल्लेख गर्दै मौसमविद् रिमालले भने, 'मनसुन ढिलाइमा यसपटक पनि धेरै चिजले असर गरेको छ। नेपालको मनसुनको प्रवेशद्वार पूर्वी भाग नै हो। उत्तरपूर्वी वायुको गतिले पनि यसको निर्धारण गर्छ। अरब सागरमा भएको चक्रवात पनि एउटा कारण हो।'

केही दिन पानी पर्न ढिला हुनु अस्वभाविक नहुने उनको भनाइ थियो। 'कहिले १० दिन पहिले नै मनसुन शुरु हुन्छ। कहिले १० दिन ढिला। यसलाई अस्वभाविक मान्न मिल्दैन,' रिमालले भने।

मौसममा चासो राख्ने समीरमणि दीक्षितले पनि मनसुन भित्रिसकेको र केही दिनमै पानी पर्न शुरु गर्ने बताए। 'जेठको अन्तिम साताबाट शुरु हुनुपर्ने मनसुन केही ढिला भयो,' दीक्षितले भने, ‘मनसुन प्रवेश गरिसकेको छ। अब एक दुई दिनमा पानी पर्न शुरु हुन्छ।‘

मनसुनका लागि हावाको बहाव पूर्वबाट पश्चिमतिर हुनुपर्छ। केरलामा आएको चक्रवातले हावाको बहाव परिवर्तन गरिदिँदा मनसुन ढिला भएको दीक्षितले बताए। 'मनसुनका लागि हावाको बहाव पूर्वबाट पश्चिमतिर हुनुपर्छ। तर यसपटक केरलामा आएको साइक्लोनले हावाको बहावलाई परिवर्तन गरिदियो। त्यसकारण केही ढिला भयो।' बादलको मात्रा बढेको र भारी बादल देखिन थालिसकेकोले अब चाँडै बर्षात् शुरु हुने बताउँछन् दिक्षीत।

राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell