
काठमाडौं : नेपालका दुई चर्चित क्लब थ्री स्टार रमनाङ मर्स्याङ्दीले चौथो ललित स्मृती यू–१८ फुटबल प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन्।
शुक्रवार भएको खेलमा उपाधिका दावेदार यी दुई क्लबले २-२ को बराबरी खेल्दै समान १ अंक जोडे।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको २२ औं मिनेटमा छितीज भण्डारीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर ४४ औं मिनेटमा दिपसोन राउतले थ्री स्टारका लागि बराबरी गोल फर्काए।
दोस्रो हाफमा थ्री स्टारले अग्रता लियो। ५८ औं मिनेटमा सुमन श्रेष्ठको गोलमा थ्री स्टारले २-१ को अग्रता बनाएको थियो। तर खेलको इन्जुरी टाइमको दोस्रो मिनेटमा मनाङका सृजन रोहन लामाले गोल गर्दै खेल बराबरीमा सकाए।