PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भेरीगंगाको सार्वजनिक जग्गा अतिक्रमण: नगरपालिका निरीह बनेपछि अदालतको फैसला भएन कार्यान्वयन



पी बी खड्का

भेरीगंगाको सार्वजनिक जग्गा अतिक्रमण: नगरपालिका निरीह बनेपछि अदालतको फैसला भएन कार्यान्वयन

सुर्खेत: भेरीगंगा नगरपालिकामा पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीव्र रुपमा बढेको छ। भेरीगंगाको मुख्यबजार क्षेत्र छिन्चु बजारलगायत आसपासका क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण बढेको हो।

यसरी दिनप्रतिदिन सरकारी जग्गा अतिक्रमण गर्ने बढे पनि यसतर्फ रोक्न सरकारी निकाय भने मौन छ। सार्वजनिक जग्गा तीव्र रुपमा अतिक्रमण गरी घर हाल्ने काम भइरहेको छ भने, खेती योग्य जमिन समेत मासिँदै गएको छ। त्यत्तिमात्रै नभएर सार्वजनिक जग्गा व्यक्तिले ओगटेर राख्ने काम पनि उत्तिकै छ।

तर, स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले भने कुनै चासो देखाएको छैन्। सार्वजनिक जग्गा आफ्नो मातहतमा ल्याउन अदालतलेसमेत फैसला गरेको जग्गा ल्याउन नसकेको नगरपालिका अतिक्रमण रोक्ने विषयमा कल्पन समेत गर्न सकिने स्थानीयवासी बताउँछन्।

यसरी मनपरी रुपमा अतिमक्रण गरेको जग्गा सरकारी निकायले तत्काल आफ्नो मातहतमा ल्याई अतिक्रमण रोक्नुपर्ने स्थानीयको माग छ। ‘अहिले छिन्चु बजार लगाएत आसपासमा सरकारी जग्गा मिच्नेहरु दिनदिनै लागि परेका छन्,’ भेरीगंगा नगरपालिकाका युवा नेता रमेश शर्माले भने,‘तिनै मिचेका जग्गाहरुमा व्यक्तिका ठुला ठुला संरचना बन्दै  छन्। यो रफ्तारले भोलिका दिनमा आवश्यक सरकारी संरचना निर्माण गर्न जग्गा पाउन सक्ने अवस्था हुदैन्। सरकारी निकाय अहिलेसम्म मौन छ।’

यसरी मनपरी सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गरी स्थानीय सरकारले आफ्नो स्वामित्वमा लिनुपर्ने उनको भनाई छ।

अदालतले फैसला गरेको सरकारी जग्गा मातहत लिन सकेन नगरले

स्थानीय सरकार निरीह बनेपछि अदालतले फैसला गरेको सार्वजनिक जग्गा समेत आफुमातहत लिन सकेको छैन्। अदालतले फैसला गरेको एक दशक बढी भइसक्यो। जनप्रतिनिधि आएको २ वर्ष वितिसक्यो भने, फैसला गरेको जग्गा अहिलेसम्म आफ्नो मातहत लिन जनप्रतिनिधिले कुनै पनि पहल गरेका छैनन्।

नगरपालिकाभित्र रहेको उक्त जग्गा २०६५ माघ २२ गते जिल्ला अदालत सुर्खेतले सरकारी जग्गा भनी फैसला गरेको थियो। उक्त जग्गासमेत आफ्नो मातहतमा लिन सकेको छैन नगरपालिकाले। यसरी अदालतले फैसला गरिसकेको जग्गा सरकारी निकायले आफु मातहत लिन नसक्दा आलोचना बढ्दै गएको छ भने, अन्य सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम समेत बढेको छ।

भेरीगंगा नगरपालिका –१२ स्थित साविक छिन्चु वडा नं. ७को गाविस कार्यालय नजिकै रहेको कि.नं.७–०–० क्षेत्रफल भएको जग्गा फैसला गरेको हो। व्यक्तिले हडपेको जग्गा मुद्दामामिला गर्दा अदालतले सरकारी जग्गा भएको फैसला गरिसकेको छ।

सो जग्गाको दाबी गर्दै साविक छिन्चु–७का भविलाल सुनारले मुद्दा लडेका थिए। तर, साविकै छिन्चु ७ को खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिको पक्षमा जिल्ला न्यायधीश कृष्णबहादुर थापाको इजलासले फैसला गरेको थियो।

उक्त जग्गा अहिलेपनि छिन्चु खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोग गरे पनि त्यसको संरक्षण नहुँदा दिनप्रतिदिन अतिक्रमण हुदैँ गएको छ। तर, सो क्षेत्रमा अहिले स्थानीय व्यक्तिले राजनीतिक दलको आड र पहुँचमा धमाधम घर टहरा निर्माण गरिरहेका छन्।

उपभोक्ता समिति मार्फत या स्थानीय सरकारले उक्त सार्वजनिक जग्गा आफु मातहत ल्याएर सार्वजनिकीकरण गर्नुपर्ने स्थानीय बताउँछन्।

त्यस्तै, तत्कालिन खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष एवं भेरीगंगा नगरपालिका–१२ का वडाअध्यक्ष हरिप्रसाद कँडेलले कार्यपालिका बैठकबाट निर्णय भइसकेको र कार्यान्वयन गर्न नसकिएको बताए। ‘हामी सबै बसेर कार्यपालिकाको बैठकमा निर्णय भइसकेको छ। कार्यान्वयन प्रक्रिया अघि बढाउन सकेका छैनौँ।’ उनले भने,‘नगरपालिका सिंगो टिम लाग्नुपर्ने तर, एकजुट नहुँदा समस्या भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell