PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

प्रधानमन्त्री कप महिला क्रिकेट : दोस्रो जितपछि प्रदेश १ र २ सेमिफाइनल नजिक



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला क्रिकेट : दोस्रो जितपछि प्रदेश १ र २ सेमिफाइनल नजिक

कञ्चनपुर : प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले शनिवार जित हात पारेका छन्।

राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ को समूह बी मा यो लगातार दोस्रो जित हो। यसै समूहमा प्रदेश २ ले पनि दोस्रो जित हात पारेको छ।

प्रदेश १ ले अझै समूह्यमा १ एक खेल्न बाँकी छ भने प्रदेश २ ले ३ वटै खेल खेलिसक्दा २ जित र १ हारको नतिजा निकालेको हो।

दुवै टिमले समान ४ अंक जोडेका छन् भने रनरेटमा प्रदेश १ शीर्ष स्थानमा छ। दुई जितपछि दुवै प्रदेश सेमिफाइनल नजिक पुगेका छन्।

अब समूहको अन्तिम खेलमा प्रदेश १ ले प्रदेश ३ संग खेल्नेछ र उक्त खेल प्रदेश १ ले जितेमा प्रदेश १ समूह विजेता र प्रदेश २ समूह उपविजेता बन्नेछ। प्रदेश ३ ले विजयी भएमा भने ३ वटै टिमको ४ अंक हुनेछ र रनरेट निर्णायक बन्नेछ। यस समूहमा ३ वटै खेल हारेको कर्णनली प्रदेश भने बाहिरिसकेको छ।

 

वर्षाले प्रभावित खेलमा प्रदेश एक १० विकेटले विजयी

महेन्द्रनगरस्थित खुल्ला मैदानमा भएको शनिवारको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो। वर्षाले प्रभावित उक्त खेल ५-५ ओभरमा घटाइएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ५ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो। डिएल मेथडमा २६ रनको लक्ष्य पाएको प्रदेश १ ले १.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा गर्‍यो। प्रदेश १ का लागि रुविनाले १२ र काजल श्रेष्ठले ११ रन बनाए। दुवै खेलाडी नटआउट रहे।

 

प्रदेश २ को रोमाञ्चक जित

शनिवारै भएको दोस्रो खेलमा प्रदेश २ ले प्रदेश ३ माथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।

प्रदेश २ ले दिएको १०७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले १९.४ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाएको हो। प्रदेश ३ का लागि हेलिसा लामा र कञ्चन श्रेष्टले २६-२६ रन बनाएपनि जितका लागि पर्याप्त भएन। यस्तै अस्मिता कर्माचार्यले १५ रन जोडिन् भने ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

प्रदेश ३ लाई अलआउट गर्न प्रदेश २ का लागि कविता गौतम र रोजी कडारीले २-२ तथा सन्तोषी कुमारी चौधरी र शान्ति चौधरीले १-१ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो। प्रदेश २ का लागि शोभा आलेले ४२ रन बनाइन् भने सन्तोषी चौधरीले नटआउट १५ रन जोडिन्।

बलिङमा प्रदेश ३ की सुमन खतिवडा र करुणा श्री लामाले २-२ तथा खुशी डंगोल र रश्मी गुरुङले १-१ विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell