
थोरै रन, रोमाञ्चक खेल अनी मोहम्मद सामीको ह्याट्रिक। यी विशेषतापछि भारतले अफगानिस्तानलाई पराजित गर्दै आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपराजित यात्रा कायमै राखेको छ। शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो। जितपछि भारत ५ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा छ।
तुलनात्मक रुपमा कमजोर मानिएको अफगानिस्तानलाई हराउन भारतले निकै संघर्ष गर्नुपर्यो।
भारतीय बलरले उत्कृष्ट प्रदर्शन गरेपछि २२५ रनको लक्ष्य पाएको अफगानिस्तानले एक बल बाँकी छँदा सबै विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो।
अफगानिस्तानका लागि मोहम्मद नावीले अर्धशतक प्रहार गरे पनि जिताउन सकेनन्। उनी अन्तिम ओभरको तेस्रो बलमा आउट भए। भारतका मोहम्मद सामीले नावीसहित अफताव आलम र मुजब उर रहेमानको विकेट लिँदै ह्याट्रिक पूरा गरे।
अफगानिस्तानका लागि नावीले ५२ र रहेमत शाहले ३६ रन बनाए।
अफगानिस्तानलाई जितबाट रोक्न भारतका सामीले ह्याट्रिकसहित ४ विकेट लिए। उनले ९.५ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए। यस्तै जसप्रित बुमराह, युजभेन्द्र चाहल र हार्दिक पाण्ड्याले २-२ विकेट लिए।
त्यसअघि साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले ६७ र केदार जाधवले ५२ रन बनाए। अफगानिस्तानका नावी र कप्तान गुल्बदिन नैबले २-२ विकेट लिए।