PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ढुंगे पहिरोमा पैसा फलाउने गाउँ : तपाईँको स्वागतमा जुटिसकेको छ ‘रक गार्डेन’



विष्णुहरि घिमिरे

ढुंगे पहिरोमा पैसा फलाउने गाउँ : तपाईँको स्वागतमा जुटिसकेको छ ‘रक गार्डेन’

खानीगाउँ (लमजुङ) : २०६९ साल हिउँदको एक बिहान नेपाली कांग्रेस लमजुङका सचिव आनन्द घिमिरेको एउटै भनाइले सविक घेर्मु गाउँ विकास समिति (गाविस) स्थित खानीगाउँका शिक्षक कामसार्की गुरुङको लगभग ६ महिना दिमाग हल्लायो।

अहिलेको पुस्तालाई कथा लाग्न सक्छ। तर, यो सत्य हो। झण्डै ७० वर्ष अगाडिसम्म यहाँका बासिन्दाले स्थानीय खानीको नुन बेच्ने गर्दथे। एकरात मर्स्याङ्दी नदीले अन्याय गर्यो- त्यो 'नुनखानी' नै निलिदियो। नुनखानी बगरमा परिणत भयो। नुनखानी नभए पनि अब त्यही खानी सम्झाउँने खानीगाउँ भने बाँकी छ।

खानीगाउँ आफैमा पहिरोको बीचमा रहेको एउटा सामान्य गाउँ हो। यहाँको पहिरो कति पुरानो हो एकिन छैन। तीन पुस्ताले यो गाउँमा जीवन बिताइसकेको छ। गाउँ बढेमानका ढुङ्गा, ‍ओढार र ढाँणले घेरिएको छ- एक प्रकारले प्रकृतिको कुरुप अनि अत्यासलाग्दो। त्यहाँ रहेका ढुङ्गा र ओढार गाउँलेका चर्पी बनिरहेका थिए। तर, आनन्द घिमिरेले सुझाएका थिए - त्यही पहिरोलाई बगैचा बनाउने। ढुङ्गाको बगैचा। 'रक गार्डेन'।

आनन्दले 'रक गार्डेन' बनाउनु त भने तर कसरी बनाउने? यही सोचमा कामसार्कीको महिनौं बित्यो। उनी घेर्मुमा रहेको गंगामिलन माविका शिक्षक। रक गार्डेनका बारेमा केही उपाय लाग्छ कि भन्दै युट्युब चहार्न थाले। दार्जिलिङमा ढुङ्गाको बगैचा बनाएको त भेटियो तर त्यो कृत्रिम थियो। ढुङ्गा पनि सानासानामात्रै। भीमकाय ढुङ्गामा पर्यटक चढाउने रहर बोकेका उनलाई त्यसले आकर्षित गर्ने कुरै भएन।

उनी मध्यरातसम्म सोचमग्न हुन्थे। बिहान सबैरै त्यही पहिरोमा पुग्थे। ठूलो ढुङ्गामा घण्टौ बसिरहन्थे। सुरुमा ट्र्याक खोल्ने, सुरुङ, ओडार हुँदै भर्‍याङ राखेर ठूलाठूला ढुङ्गामा चढाउने आइडिया फुर्‍यो। त्यही योजना उनले गाउँलेलाई सुनाए। उनको कुराले सबै हाँसे। अरु त अरु उनकै श्रीमती धर्मपत्तीले पनि कामसार्कीको योजनालाई हाँसोमा उडाइन्। कतिले त 'कामसार्की फुस्कियो' समेत भन्न भ्याए।

धन्न, गाउँमा एकजना निस्किए जसले कामसार्कीको योजनालाई साथ दिए। लेखमान गुरुङ, साविक घेर्मु गाविसका कांग्रेस सभापति थिए। उनले गाविसको योजना तर्जुमा बैठकमा कामसार्कीको योजनामा बजेट विनियोजन गराउन पहल गरे। तर, पहिरोमा पैसा हाल्यो भनेर गाउँले बसी खान दिएनन्। लेखमान र कामसार्कीलाई 'फाल्टु मान्छे' भन्न थालियो।

गाउँमा मात्र होइन, जिल्ला सदरमुकाममा पनि उनीहरुको योजना हाँसोको विषय बन्यो।

कामसार्की सम्झन्छन्, 'हामीले जिल्लामा पनि बजेट माग गरेका थियौं। जिल्लाका ठूला मान्छेले (स्थानीय विकास अधिकारी) - कामसार्कीजी अरुले फूल रोपेर बगैचा बनाउँछन् तपाईँ ढुङ्गाको बगैचा बनाउने भन्दा हलमा रहेका सबै हाँसे। यस्तोमा पैसा हाल्न सकिदैन भनेर पैसा नै दिएनन्।'

जिल्लाबाट निरास भएर फर्किएका कामसार्कीले गाविस सचिव शिवप्रसाद पौडेललाई घुर्की लगाए, 'कि खाए म खान्छु। नेपालको बजेट धुमधामसँग कहाँ पो सदुपयोग भएको छ र?' लेखमानको पनि दवाव थियो, जिल्लामा एलडिओ पनि फेरिएका थिए। सचिवले ल एक पटक हेरौं न त भन्दै सात लाख ८८ हजार रुपैयाँको बजेट छुट्याए।  त्यही पैसाले ट्र्याक खुल्यो।

झण्डै आठ लाख पहिरोमा लगानी गरिएको थियो। दुई जनाबाहेक सबै त्यो योजनाको विरोधमा थिए। त्यहीबेला स्थानीय विकास अधिकारी (एलडिओ) शेखर पौडेल अनुगमनका लागि आए। त्यसो त उनी अनुगमनकै लागि पनि आउन सजिलो मानेका थिएनन्।

'पहिरोमा पैसा हालेको आलोचना हुन्छ भनेर होला उहाँ तीनतीन पटकसम्म अनुगमनका लागि हामीले गरको अनुरोध छल्दै आउनु भएको थियो। निकै कर गरे पछि आउनु भयो,' कामीसार्कीले भने। रक गार्डेनकै ठूलो ढुङ्गामा इतिहास खोतलिरहँदा कामसार्कीको हाउभाउ हेर्नलायक थियो।

 

गाली पछि ताली

निकै कर गरेपछि योजना अनुगमनका लागि आएका एलडिओले बेलुका गाउँलेको अगाडि भनिदिए, 'म भाग्यमानी रहेछु। यदि म आज अनुगमनका लागि नआएको भए जीवनमा ठूलो कुरा गुमाउने रहेछु।'

कामसार्की र लेखमानले लामो सास ताने। मन ढक्क फुल्यो। एलडिओले थपे, 'तपाईँहरुले राम्रो काम गर्नु भएको रहेछ। म जहाँ भए पनि सहयोग गर्छु।'

'एलडिओले त्यसो भनेपछि मात्र हामी ढुक्क भयौं, नत्र हामी आफै अन्यौलमा थियौं, हामीले राम्रो गर्‍यौं कि गल्ती गर्‍यौं भन्ने भइरहेको थियो,' कामसार्कीले थपे।

साँझ एक चक्कर लगाएका एलडिओलाई अझै धीत मरेको रहेनछ। बिहान फेरि अर्को चक्कर लगाए रक गार्डेनको। जसका कारण जिल्लामा हुने बैठकमा एक घण्टा ढिलो पुगे। उनले आफू ढिलो हुनुको कारण सुनाउँदै माफी पनि मागे। एलडिओको त्यो माफी मगाई रक गार्डेनका लागि भने गज्जबको प्रचार भयो। एकपछि अर्का गर्दै जिल्लाका हाकिमहरु आउन थाले, रक गार्डेन हेर्न। नेपालको पहिलो रक गार्डेनको प्रचारप्रसार हुन थालेपछि ढुङ्गाको बगैचा हेर्न आउनेको संख्या पनि बढेको छ।

हिजो ‘फुस्कियो’ भन्नेहरु आज कामसार्कीले ठीक गर्‍यो भन्न थालेका छन्। ‘यहाँको ढुङ्गा, छेपारो देखाएर पनि मान्छे आउँछन्? तिमी त पागल हुन लाग्यौ,’ भन्नेहरु पनि थिए। ती कुरा सम्झिँदा उनी भावुक हुन्छन्। 'एक जना आमा अस्ति भर्खर अर्को गाउँबाट आएका आफन्तलाई घुमाउँदै हुनुहुँदो रहेछ। उहाँले नै ‘कामसार्कीले यो ढुङ्गा देखाउन मान्छे ल्यायो भने मेरो मुखमा थुकिदिनु’सम्म भन्नु भएको थियो,' कामसार्कीले सुनाए।

२१ लाख लगानीमा बनेको रक गार्डेनबाट अहिले सबै खुसी छन्। रक गार्डेनकै कारण गाउँको पनि प्रचार भएको छ। गाउँमा मान्छे धेरै आउन थालेपछि खानीगाउँमा होम स्टे सुरु भएको छ। होम स्टेका लागि गण्डकी प्रदेश सरकारले दश लाखको बजेट दिएको छ। रक गार्डेनलाई नै लक्ष्य बनाएर आउनेमात्र होइन मनाङ घुम्न आएका पनि छिर्न थालेका छन्।

रक गार्डेनमा प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ। घाम झुल्किएपछि नआस्ताउँदासम्म खुल्छ यो ठाउँ। एक जनाले जागिर पनि पाएका छन्। रक गार्डेनमा  १७ वटा प्वाइन्ट छ। हरेक प्वाइन्टमा ढुङ्गाको खोच छिचोल्नु पर्ने हुन्छ। सुरुङ पार गर्दा युद्ध नै जिते जस्तो लाग्छ। साहसिक खेल मन पराउनेका लागि उम्दा नै छ ठाउँ। भीमकाय ढुङ्गामाथि चढ्न फलामको भर्‍याङ बनाइएको छ। ढुङ्गामाथि छेउमा रेलिङ हालिएको छ। यहाँ छिरेपछि समय बितेको पत्तै हुँदैन। सयौं वर्ष पुरानो पहिरो र केही वर्ष अगाडिसम्म गाउँलेका लागि खुला शौचालय रहेको ठाउँ अहिले पर्यटकका लागि आकर्षक भ्रमणस्थल बनेको छ।

होमस्टे आवश्यकता नै बन्यो

रक गार्डेनका कारण होम स्टे नभइ नहुने भयो। ढुङ्गाको बगैचा हेर्न मान्छे आउन थालेपछि उनीहरुलाई कहाँ बस्ने भन्ने समस्या भयो। गाउँका घरलाई सामान्य मर्मत गरी अहिले होम स्टे बनाइएको छ। २६ घरमा अहिले ६ वटामा मात्र पाहुना राख्ने गरिएको छ। अब छिट्टै चार घर तयार हुँदैछन्।

होम स्टेले गाउँलेको आम्दानी भएको छ। अहिलेसम्म हङकङको एउटा समूहले नै १५ लाख बुझाइसकेको छ। कामसार्की भन्छन, 'हङकङबाट मात्र नौ समूह आयो। एक समूहमा ३० देखि ३५ जना थिए। यसरी आउनेहरु चार पाँच रात बस्छन्।'

होम स्टेमा एक जनाको एक रातको ६ सय तिर्नुपर्छ। तर, तपाईँ गाउँ छिर्नासाथ मुस्कानसहितको स्वागत पाइन्छ। ओठमा मुस्कान र हातमा फूल लिएर स्वागत गर्न घरबेटी आतुर देखिन्छन्। होम स्टेमा पुग्ने पाहुनालाई शुरुमा सिजन अनुसारको फलफूलबाट स्वागत गरिन्छ। सुन्तला, अम्बा, काक्रोलगायत गाउँमा जे फल्छ त्यही टक्र्याइन्छ। त्यसपछि भुटेको मकै र चिया बेलुका नेपाली खाना।

आमा समूह, स्थानीय बाल क्लबको एकल तथा समुहगत नृत्यले साँझलाई रमणीय बनाउने गर्दछ। सुत्नका लागि सफा र चट्ट परेका विस्ताराले कुरिरहेको छ।

 

अब रक म्युजियम

खासमा कामसार्की आफैँलाई पनि विश्वास थिएन पहिरो यसरी पर्यटक केन्द्र बन्छ भन्ने।

'गर्दै जाउँ हेर्दै जाउँ भन्ने थियो। घुम्न आउनेहरुबाट पनि केही सुझाव आएका छन्। आफैँमा पनि केही नयाँ उपाय फुरेको छ,' उनले भने।

अब कामसार्कीले रक म्युजियमको अवधारणा ल्याएका छन्।  

७७ जिल्लाको ढुङ्गा ल्याएर रक म्युजियम बनाउने। हरेक ढुङ्गामा जिल्लाको नाम राख्ने उनको योजना छ। यसै गरी रक गार्डेन भित्र ढुङ्गाको खोचमा रहेका झाडीको स्थानमा फूल रोप्ने, कृत्रिम छहरा र पोखरी बनाउने योजना पनि बनाएका छन्।

कामसार्कीको मेहनतले यहाँ ल्याएको परिवर्तनलाई गाउँपालिकाले पनि आत्मसाथ गरेको छ। मर्स्याङ्दी गाउँपालिकाको बैठक पनि यही रक गार्डेनमै राखिनुले यसको सम्भावना कस्तो छ भन्ने देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell