सप्तरी : दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग टी २० क्रिकेटको उपाधि डाक्नेश्वरी ड्रागनले जितेको छ। आइतवार भएको रोमान्चक फाइनलमा मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई २ विकेटले पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन च्याम्पियन बनेको हो।
उपाधिसहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप-विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो।
सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा पहिले ब्याटिङ गर्दै रुपनीले ११५ रन बनाएको थियो। ११६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर जित्यो।
जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए। थापाको विकेटपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो।
डाक्नेश्वरीको जितमा ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ३८ रन बनाए। यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए। रुपनी राइडर्सको बलिंगमा सैदुल्लाह अन्सारीले सर्वाधिक ३ विकेट लिए। यस्तै अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिंग गरेको रुपनीले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए।
डाक्नेश्वरीको बलिंगमा दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २/२ विकेट लिए भने रोबिन सिंहले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए।
प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल घोषित भए। उनले १५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए। दुवैले समान १० हजार रुपैयाँ प्राप्त गरे। रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए। उनले क्रिकेट ब्याट पुरस्कार पाए।
सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा कुल ५ टोलि सहभागी रहेका थिए।