
उपाधि जित्न सक्ने टोलीको रुपमा लिइए पनि दक्षिण अफ्रिका आइसीसी विश्वकप क्रिकेट २०१९ को लिग चरणबाटै बाहिरिएको छ।
आइतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका दुई खेल खेल्नुअघि नै बाहिरिएको हो। दक्षिण अफ्रिकाको यो पाँचौ हार हो। एक खेलमात्र जितेको दक्षिण अफ्रिकाको ७ खेलबाट ३ अंक मात्र छ।
दक्षिण अफ्रिकालाई हराउँदै दोस्रो जित हात पारेको पाकिस्तानले भने ६ खेलबाट ५ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चारमा रहने टिम सेमिफाइनल पुग्नेछन्।
लण्डनस्थित लर्डस्मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले हरिस सोहेलको ८९ रनको मद्दतमा ५० ओभरमा खेल्दै ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो।
जवाफमा दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि सोहेल र बाबर अजामले अर्धशतक प्रहार गरे। सोहेलले ५९ बल खेल्दै ९ चौका र ३ छक्काको मद्दतमा ८९ रन बनाए। बाबरले ६९ रन बनाए भने ओपनरद्वय इमाम उल हक र फकर जमानले समान ४४ रन बनाए।
दक्षिण अफ्रिकाका लुंगी एनगिदीले ३ र इमरान ताहिरले २ विकेट लिए।
ब्याटिङमा दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले मात्र अर्धशतक बनाउन सके। उनले सर्वाधिक ६३ रन बनाए। यस्तै क्वेन्टन डे ककले ४७ र भा डेर डुसानले ३६ रन जोडे। एन्डिल फेहलुकवायोले नटआउट ४६ रन जोडे।
बलिङमा पाकिस्तानका वाहव रियाज र शदाब खानले ३-३ तथा मोहम्मद आमिरले २ विकेट लिए।