
उपाधिको दाबेदार मध्ये एक रहेको अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणको सुरुवाती दुई खेलमा सोचे अनुसार प्रदर्शन गर्न नसकेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। समूहकै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरेपछि अर्जेन्टना कोलम्बियापछि समूहमा दोस्रो भएको हो।
अर्जेन्टिनाले पहिलो खेलमै कोलम्बियासँग पराजित भएको थियो भने दोस्रो खेलमा पाराग्वेसँग बराबरीमा रोकिएको थियो।
अर्जेन्टिनालाई पहिलो जित दिलाउने क्रममा लाउटारो मार्टिनेज र सर्जियो गुएरोले एक-एक गोल गरे।
गुस्ताभो कुएलरको एक मात्र गोलको मद्दतमा कोलम्बियाले पाराग्वेलाई पराजित गर्दै समूह चरणमा शतप्रतिशत जित हात पारेको हो।
९ अंकसहित कोलम्बिया समूह ए'को विजेता बन्दा ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बनेको हो।
२ अंक मात्र रहेको पाराग्वे भने तेस्रो स्थानमा छ।
समूह ए'बाट ब्राजिल र भेनेजुएला क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। यस्तै साविक विजेता चिली र उरुग्वे पनि समूह सी'बाट क्वाटरफाइनलमा पुगिसकेका छन्।
तीन समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सिधै क्वाटरफाइनल पुग्नेछन्। यस्तै तेस्रो हुने तीनमध्ये उत्कृष्ट दुई पनि क्वाटरफाइनलमा पुग्नेछन्। पाराग्वे हारेपछि समूहमा ४ अंक जोडेर तेस्रो भएको पेरु पनि उत्कृष्ट तेस्रोमा पर्दै क्वाटरफाइनल पुगेको छ।
अब क्वाटरफाइनल पुग्ने एक टोलीको मात्र टूङ्गो लाग्न बाँकी छ।
समूह चरण अन्तर्गत भोलि बिहान अन्तिम दुई खेल हुँदैछन्। समूह सी अन्तर्गत चिली र उरुग्वे तथा जापान र इक्वेडर भिड्नेछन्।
चिली र उरुग्वे बीचको खेलको विजेता समूह विजेता बन्नेछ। बराबरीले पनि चिली समूह विजेता बन्नेछ।
यस्तै इक्वेडर र जापानबीचको खेलको विजेता पनि उत्कृष्ट तेस्रोमा पर्दै क्वाटरफाइनल पुग्नेछ। यो खेल बराबरी भएमा भने पाराग्वेलाई फाइदा पुग्नेछ।