
- केशव विष्ट
काठमाडौं : असार समय बितेको पत्तै नहुँदो रहेछ। मैले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी बहन गरेको पनि चार वर्ष पूरा भइसकेको छ। मेरो विचारमा, आफ्नो चार वर्षे कार्यकालमा भएका र गरेका कार्यहरूको विषयमा ‘समीक्षा’ गर्ने यो सही र उपयुक्त अवसर हो। किनभने यति बेला हामी अर्को एउटा महत्वपूर्ण उपलब्धिको संघारमा छौं। ३३ वर्षयता देशकै सबैभन्दा ठूलो र बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले पनि निर्धारित समयमा आयोजना हुन नसकिरहेको थिएन। त्यसलाई हामीले ‘ट्रयाक’ मा ल्याएका छौं।
सातौं र आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न, गर्यौं। सम्भवतः प्रजातन्त्र र त्यसपछि गणतन्त्रमा रुपान्तरित भएको नेपाली समाजमा खेलकुद क्षेत्रको यो सबैभन्दा महत्वपूर्ण उपलब्धि बनेको छ। देशमा प्रजातन्त्रको अगमनपछि खेलकुद क्षेत्र सरकारी उपेक्षाको सिकार बन्न पुगेको आरोप लगाउनेहरूका लागि पनि यो उपलब्धि एउटा गतिलो जवाफ बन्न सक्छ। पक्कै पनि, मानिस स्वभावैले स्वार्थी हुन्छ। त्यसमाथि सार्वजनिक पदमा बसेर आफूले गरेका कामहरूको समीक्षा आफैले गर्नु झनै अप्ठ्यारो कार्य हो। त्यसैले मैले आफ्नो चार वर्षे कार्यकालमा नेपाली खेलकुद क्षेत्रको उत्थान र विकासका लागि गरेका कामहरूको समीक्षा गर्ने असली हकदार सबै खेलप्रेमी महानुभाव हुनुहुन्छ मेरो ठम्याइ छ।
खेल मैदानमा हारजितका लागि खेलाडीबीच हुने तँछाडमछाड मात्र होइन, खेलकुद प्रशासन चलाउने हामी खेल पदाधिकारीले गरेका राम्रा नराम्रा कार्यहरूलाई सबैले नजिकबाट नियाली रहनुभएको छ। त्यसैले पनि मेरो चार वर्षे कार्यकालको असली समीक्षक खेल क्षेत्रका व्यक्ति नै हुनुहुन्छ। पक्कै पनि चार वर्षे कार्यकाल मेरो लागि सहज रहेन। म सदस्यसचिव पद समाल्न आउँदा खेल क्षेत्रको अवस्था सहज थिएन। विनाशकारी भूकम्पको कालो छायाँ खेलक्षेत्रमा पनि परेको थियो। खेलकुद विकासको आधार स्तम्भका रुपमा रहेका अधिकांश खेल संघहरू आपसी विवादमा रुमल्लिएका थिए। परम्परागत ढर्रामा चल्दै आएको खेलक्षेत्रका अधिकांश पदाधिकारीमा खेल विकासको भावनाभन्दा पनि राजनीतिक र व्यक्तिगत स्वार्थ बढी थियो।समग्रमा भन्नुपर्दा, नेपाली खेलक्षेत्र थाँतका थाँत विकृतिबाट गाँजिएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्नु पनि त्यही राजनीतिक र व्यक्तिगत स्वार्थबाट उब्जिएको विकृत्तिको एउटा दुःखद कडी थियो, जसको प्रभाव मेरो कार्यकालको सुरुआती अवस्थामै देखा परेको थियो। जे होस्, हाम्रो अथक प्रयासका कारण यो समस्या समाधान नजिक पुगेका छौं। निकट भविष्यमै यसले मूर्तरुप लिनेछ। मैले दुःखका साथ भन्नुपर्छ, नेपाली खेलक्षेत्रमा आपसमा हातेमालो गरेर अगाडि बढ्ने भन्दा पनि एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले विगतदेखि नै जरो गाड्दै आएको छ। राम्रो कार्यका लागि सबै पक्ष एक भएर अघि बढ्ने अनि राज्यले खेलकुदमा गरेको लगानी अनुत्पादक क्षेत्रमा गरेको लगानी नभई उपलब्धिमूलक क्षेत्रमा गरेको लगानी हो भन्ने जनमत सिर्जना गर्न हामी सँधै चुक्दै आयौं। यसको सिधा प्रभाव खेलक्षेत्रको विकासमा पर्दै आएको छ,। खेलक्षेत्रप्रति सरकार, आम नागरिक र खेल मैदानमा मुलुकका लागि रगत पसिना बगाउने खेलाडीको विश्वास आर्जन गर्नु मेरो पहिलो चुनौती थियो। मलाई लाग्छ, आफ्नो उद्देश्यमा हामी धेरै हदसम्म सफल भएका छौं।
‘नेपाली खेलकुदमा स्वर्ण युग’ कोरा कल्पना होइन, मेरो लक्ष्य हो। पक्कै पनि लक्ष्य केही कठिन थिए तर, यसका लागि मसँग केही योजना, स्पष्ट मार्गचित्र र ठोस आधार थियो। अहिलेसम्म मेरो कार्यकालमा नेपालले सबैभन्दा धेरै अन्तर र्राष्ट्रिय प्रतियोगितामा भाग लिएको तथा आयोजना गरेको छ। मैले सदस्यसचिवको जिम्मेवारी सम्हालेको चार वर्षको अवधिमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक पदक जितेको तथ्यांक समग्र खेलकुद क्षेत्रकै लागि गर्वको विषय हो। लगातार दुई संस्करण राष्ट्रिय खेलकुद आयोजनासँगै १२ औं दक्षिण एसियाली खेलकुद, १८ औं एसियाली खेलकुद, रियो ओलम्पिकजस्ता ठूलो प्रतियोगितामा सहभागिता जनायौं।
सागमा फुटबल, जुडो, उसुले ऐतिहासिक रुपमा स्वर्ण पदक जित्यो। एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भयौं। घरेलु प्रतियोगितामा राखेप च्याम्पियनसिप, उपराष्ट्रपति कप, पारा नेसनल गेम्स, राष्ट्रपति महिला खेलकुद, प्रधानमन्त्री कप वान डे क्रिकेट, उपसभामुख कप भलिबलजस्ता प्रतियोगिता परिषदको आयोजनामा सुरु भएका छन्। यस अवधिमा नेपाली खेलकुदलाई दीर्घकालीन लाभ पु¥याउने केही ठूला परियोजनाका सन्धिसम्झौता भएका छन्। पूर्वाधार निर्माणको कार्यले पनि गति लिएको छ। विभिन्न जिल्लामा राखेपको स्वामित्वमा करोडौँको सम्पत्ति वृद्धि गर्नुका साथै खेलाडीका लागि प्रोत्साहन, पुरस्कार लगायतका कल्याणकारी कामको पनि थालनी गरिएको छ।
अहोरात्र खेलकुद क्षेत्रको विकासमा सक्रिय खेल साधक र तिनका परिवारको सर्वसुलभ उपचारका लागि खेलकुद अस्पताल निर्माणको अन्तिम चरणमा छ। यसैगरी लामो समयदेखि तदर्थवादमा चलिरहेका धेरै खेल संघहरूलाई निर्वाचन प्रक्रियामा लगिएको छ भने काम नगर्ने संघहरूलाई खारेज गर्ने कामको थालनी पनि गरिएको छ। अहिले संघहरूको हिसाबकिताब पनि पारदर्शी छ। सदस्यसचिवका लागि तालाबन्दी र विवाद नभएको यो पहिलो कार्यकाल हो। खेलकुदलाई भ्रष्टाचार र पार्टीगत हस्तक्षेपबाट मुक्त गराउने प्रयासको थालनी गरेको छु। खेलकुदमा पर्याप्त सुधार गर्न खोजेको छु। त्यसैले लाग्छ हामी सही बाटोमा छौं। विभिन्न कारणले लामो समयदेखि निरन्तर हुन नसेको राष्ट्रिय खेलकुदको सातौं र आठौं संस्करण क्रमिकसँग आयोजना हुनुलाई मैले आफ्नो कार्यकालको ठूलो उपलब्धिको रूपमा लिएको छु।
भनिरहनुपर्दैन, राष्ट्रिय खेलकुद भनेको घरेलु खेलकुदको सबैभन्दा बृहत र ठूलो प्रतियोगिता हो। यही प्रतियोगिताबाट देशका दूरदराजका स्थानमा लुकेर रहेका प्रतिभाले आफ्नो क्षमता प्रदर्शन गर्ने र अगाडि आउने अवसर पाउँछन्। नेपालका समग्र खेलाडीमध्येबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन उत्कृष्ट खेलाडी पनि तयार हुन्छन्, राष्ट्रिय खेलकुदबाट। देशको सर्वाधिक ठूलो खेलकुद महोत्सवको छैटौंदेखि सातौं संस्करणसम्मको यात्रा पूरा हुन पाँच वर्ष लाग्यो। यसअघिका दुई संस्करण त १३ र ११ वर्षपछि भएका थिए। यस्तो अनियमित र अवरुद्ध राष्ट्रिय प्रतियोगिता दुई वर्षको अन्तरमै सफलतापूर्वक सम्पन्न गर्न सक्नु समग्र खेलक्षेत्रकै लागि ठूलो सफलता हो। विगतमा राष्ट्रिय प्रतियोगिता राजनीतिक विवाद, आर्थिक अनियमितता र असहमतिबीच हुने गरेको तीतो इतिहास छ। तर, खेलकर्मीको असहयोगको स्थिति, राजनीति विवाद, आर्थिक घोटाला र एकलौटी ढंगले खेल आयोजना ग¥यो भन्ने आरोपबाट मुक्त रह्यो, सातौं राष्ट्रिय खेलकुद।
पहिलोपल्ट राष्ट्रिय खेलकुद विवादरहित सम्पन्न भएको छ भन्नु अतिशयोक्ति नहोला। आर्थिक पारदर्शिता र मितव्ययी पनि बन्यो, सातौं राष्ट्रिय खेलकुद। खेल संख्यामा वृद्धि, सातौं संस्करणको अर्को उपलब्धि हो। राष्ट्रिय खेलकुदलाई नियमितता प्रदान गर्न हामीले नवौं संस्करणको तयारीसमेत अघि बढाइसकेका छौं। यसको मतलब सानातिना विवाद र कमजोरी भएनन् भन्दिनँ म आठौं राष्ट्रिय खेलकुदमा।
यसैगरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) पनि मेरै कार्यकालमा छिमेकी राष्ट्र भारतको दुई फरक राज्य आसामको गुवाहाटी र मेघालयको सिलोङग आयोजना भयो। मैले जिम्मेवारी सम्हालेको अत्यन्तै कम समयमा १२ औं सागमा सहभागिता जनाउनुपर्ने भएकाले पनि प्रतियोगिताका लागि सोचेजस्तो तयारी गर्न गराउन सकिएन। यसका बावजुद १२ औं सागमा नेपाली खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रह्यो। सागको त्यो संस्करण नेपाली खेलकुदका लागि धेरै अर्थमा महत्वपूर्ण रह्यो। प्रतियोगितामा नेपालले तीन स्वर्ण पदक जित्यो। यद्यपि समग्र पदकलाई आधार मान्ने हो भने हाम्रा लागि १२औं साग उपलब्धिमूलक रह्यो भन्नु अतिशयोक्ति नहोला।
१८ औं एसियाली खेलकुदमा पनि विवादरहित सहभागिता रह्यो। जहाँ नेपालले ऐतिहासिक रुपमा रजत पदक जितेको थियो। पहिलो पल्ट समावेश पाराग्लाइडिबमा नेपालले रजत पदक जित्नु हाम्रा लागि अर्को विशेष उपलब्धि थियो। अन्तर्राष्ट्रिय स्तरका कुनै पनि प्रतियोगितामा सहभागी राष्ट्रका खेलाडीको प्रदर्शन र तिनले हासिल गरेको उपलब्धि मापन गर्ने आधार भनेको फरक फरक हुन्छन्। सहभागी राष्ट्रका खेलाडीले प्राप्त गर्ने स्वर्ण पदकको संख्या वा पदक तालिकामा त्यो राष्ट्रको उपस्थिति पनि त्यसैमध्ये एक हो। तर, पदक तालिकाको जोड घटाउलाई मात्र सिंगो राष्ट्रको सहभागिता मापन गर्ने एकमात्र आधार बनाउनु भने उपयुक्त हुँदैन। तर, प्रतियोगितामा आफ्ना खेलाडीले देखाएको प्रदर्शन, प्रतियोगिता सुरु हुनुअघि हामीले त्यसका लागि गरेको तयारी, खेलकुद विकासमा राज्यले गरेको लगानी, प्रतियोगिताका क्रममा भएका सानाठूला कमिकमजोरी, आगामी दिनमा आफ्नो स्तरबाट गर्नुपर्ने सुधारजस्ता विषयमा गम्भीर भएर मूल्यांकन गर्ने परिपाटी अझैसम्म पनि नेपाली खेलकुदको परम्परा बन्न सकेको छैन।
जबसम्म यी विषयहरू मूल्यांकनका आधार बन्दैनन् र गहन छलफलका शृंखलामा जोडिँदैनन् तबसम्म हामीले आफ्नो वास्तविक स्तरको पहिचायन गर्न सक्दैनौं। त्यसैले १२औं सागबाट फर्किएपछि हामीले यी विषयहरूमा आफ्नो ध्यान केन्द्रित गरेका छौं। १२औं सागबाट प्राप्त शिक्षालाई हामी १३औं सागमा बढीभन्दा बढी सफलता हासिल गर्ने आधारका रुपमा प्रयोग गर्नेछौं। संयोगवस, १३औं साग आयोजनाको जिम्मेवारी पनि हामीले नै पाएका छौं। त्यसैले १३औं साग आयोजनामा पनि हामीले आफ्नो ध्यान केन्द्रित गरिसकेका छौं। साग आयोजना राज्यको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सरकारले पनि बेलैमा यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ। हामीले पनि यस विषयमा बारम्बार सरकारलाई घच्घच्याउँदै आएका छौं। सरकारसँग अन्य क्षेत्रलाई पनि यसमा जोड्न सक्नु आवश्यक छ।
राखेपमा सदस्य सचिवको चार वर्षे कार्यकाल पूरा गरेपछि 'चार वर्षे कार्यकाल,यात्रा' मा विष्टले लेखेको अनुभव