
काठमाडौँ : ‘म पासपोर्ट लिएर आउँछु है। एकै छिन पर्खनुहोला।'
गत शुक्रवार दिउँसो त्रिभुवन विमानस्थलमा डायनाले भनेकी थिइन्। जैन श्रीपालीले उनको पासपोर्टका बारेमा केही सोध्न नपाउँदै उनले नै थपिन्- ‘म पासपोर्ट बोकेर हिँड्दिन जुन देशको अध्यागमनले पनि एउटा चिट दिन्छ त्यही देखाए पुग्छ। मेरो पासपोर्ट यहीँ छ।'
श्रीपालीले 'ओके' भनेपछि उनले बताएअनुसार 'अध्यागमनमा रहेको आफ्नो पासपोर्ट' लिन हिँडिन्। श्रीपाली र डायना केही दिनअघि मात्र नेपाल घुम्न मुम्बईबाट आएका थिए। ३५ वर्षीय श्रीपाली भारत महाराष्ट्र फलबर रेलनगर बस्दै आएका छन्। डायनाले भने आफूलाई सिङ्गापुरे नागरिक बताउँथिन्।
श्रीपाली बोर्डिङ पास लिने ठाउँमा पुगे। डायनामा आउने बाटोतिरै उनी आँखा लगाइरहे। बोर्डिङ पास लिएका यात्रुलाई विमानमा जान 'अनाउन्स' गरियो। डायन नआइपुगेपछि उनले फोन गरे। फोनमा डायनाको बोलीले उनलाई झस्कायो।
श्रीपाली छटपटिए। त्यसपछि उनी विमानबाट मुम्बई नगई महानगरीय प्रहरी परिसर काठमाडौं हानिए। किन श्रीपाली प्रहरीकहाँ पुगे त? के सम्बन्ध थियो यी दुई बीच?
उजुरीकै आधारमा महाशाखाको टोलीले डायना सेकेन्डलाई गत शुक्रवार बेलुका नै पक्राउ गर्यो। अहिले डायना प्रहरी हिरासतमा छिन्। उनी विरुद्ध ठगीमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
कसरी पक्राउ परिन् डायना?
केही महिना अगाडि मात्र डायनाले श्रीपालीलाई फेसबुकमा रिक्वेस्ट पठाइन्। एक सुन्दर युवती, प्रोफाइलमा व्यापारी र सिङगापुरे नागरिक। श्रीपालीले केही नसोची रिक्वेस्ट एसेप्ट गरे।
योसँगै म्यासेन्जरबाट उनीहरूबीच कुराकानी बाक्लिन थाल्यो। सिङ्गापुरे नागरिक बुबाको एक्ली छोरी, विदेशमा अरबौँको सम्पत्ति भन्ने थाहा पाएपछि श्रीपाली लोभिए।
एक दिन डायनाले आफू घुम्न दुबई आएको बताइन्। सुन्दरी र बिलेनियर युवतीले बोलाएपछि उनले नाइ भन्न सकेनन्। मुम्बईबाट उनी सिधैं लागे, दुबई। केही दिन उनीहरूले दुबईमा बिताए।
अनि आ-आफ्नो काममा फर्किए। केही दिनपछि फेरि डायनाले भारत घुम्न मन लागेको बताइन्। त्यसपछि श्रीपालीले भारत घुम्न आउन प्रस्ताव गरे। भारतमा कन्स्ट्रक्सन व्यापारी हुन् उनी।
डायना भारतको मुम्बई पुगिन्। केही दिन घुमफिरमै बित्यो। श्रीपालीले आफ्नै घरमा राखे उनलाई। भारत आएको समयमा नेपाल पनि घुम्न जाने प्रस्ताव राखिन् उनले।
श्रीपाली डायनाको सम्पत्तिमा लोभिएका थिए। दुबई र भारतमा घुमेको खर्च सबै डायनाले नै तिरेकी थिइन्। त्यसपछि उनीहरू नेपाल घुम्न आए।
सिनामंगलको वाग्मती होटेलमा बसेर केही दिन नेपाल घुमे। गत शुक्रवार फर्किने तयारीमा थिए। शुक्रवार डायनाले आफूलाई २३ लाख रुपैयाँ आवश्यक परेको बताइन्। डायनाको बुबाले पनि फोन गरेर छोरीलाई पैसा दिन आग्रह गरे।
शुक्रवार श्रीपालीले डायनालाई पैसा बुझाए। बिलेनियरकी छोरी भएकाले २३ लाख रुपैयाँ दिन उनी हिच्किचाएनन्। पैसा पाएपछि डायना एयरपोर्टबाट बाहिरिइन्। अनि फर्किनन्।
को हुन् डायना?
डायना सेकेन्ड नाम भएकी युवती सिङगापुरको नागरिक नभएर नेपाली नै भएको खुलेको छ। उनको महोत्तरीको औरी नगरपालिका वडा नम्बर ३ घर रहेको प्रहरी अनुसन्धानमा खुल्यो। उनका बुबा पेशाले वकिल हुन्। २१ वर्षीया डायना प्लस टू फेल भएकी विद्यार्थी हुन्। आफूलाई सिङ्गापुरको नागरिक भन्दै ठगी गर्ने गरेको खुलेको हो। परिवारकी दोस्री छोरी भएकाले उनका बाबुले उनलाई डायना सेकेन्ड नाम दिएका थिए। उनको वास्तविक थर भने यादव हो।
‘आफूलाई हाइ क्लासको देखाएर ठगी गर्न गरेको भेटियो। थप अनुसन्धान गरिरहेका छौँ,' महाशाखाका एसपी ओम अधिकारीले भने।
हेर्दा विदेशी जस्तो देखिने र अग्रेजीमा बोल्ने भएकाले श्रीपालीले डायनामा कुनै शङ्का गरेनन्। विदेशमा हुने खर्च समेत उनी आफैँ गर्थिन्।
‘अङ्ग्रेजी बोल्ने हाइ क्लास देखाउने भएकाले श्रीपालीले नेपाली हुन् भन्ने शङ्का नै गर्न पाएनन्। उनले पासपोर्ट समेत देखाएकी थिइनन्,' एसपी अधिकारीले भने।
डायना एक्लै घटनामा संलग्न नभएर अरू पनि हुनुपर्ने प्रहरीको आशङ्का छ।