PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदूरपश्चिममा मल अभाव, मुख्यमन्त्री कार्यालय पुगेर किसानले दिए आन्दोलनको चेतावनी



एम बम

सुदूरपश्चिममा मल अभाव, मुख्यमन्त्री कार्यालय पुगेर किसानले दिए आन्दोलनको चेतावनी

कैलाली: रोपाइ गर्ने समयमा कैलाली कञ्चनपुरमा  मलको चरम अभाव भएको छ। रोपाइ गर्न खेत खनजोत गरेर ठीक्क परेका किसान रासायनिक मल नपाउँदा समस्यामा परेका छन्। महिना दिनदेखि मलका लागि कार्यालयमा धाउँदा पनि मल नपाएको किसानको गुनासो छ। तीन दिनभित्र मल आपूर्ति नभए चरणवद्ध आन्दोलनमा उत्रने किसानहरूले चेतावनी दिएका छन्। 

दिनहुँ धाउँदा पनि मल नपाएका किसानले तीन दिनभित्र मल आपूर्ति गर्नुपर्ने माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट्रडिङमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै किसान अगुवा ओमप्रसाद शर्माले तीनदिनभित्र मल आपूर्ति नभए तालाबन्दी गरी चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिए। ‘एक महिना बढी भयो मलका लागि दिनहुँ लाइन बस्न थालेको, ‘उनले भने अब पनि मल आपूर्ति सहज भएन भने आन्दोलन गर्नु बाहेक विकल्प छैन।’
 
अनुदानको मल बिक्री वितरणको जिम्मा सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले गर्ने गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले पनि अनुदानको मल बिक्री गर्छ। तर यी दुवै सरकारी कम्पनीका धनगढीस्थित गोदाममा मल छैन। मलको अभावमा रोपाइ गर्न खन जोत गरेर ठिक्क पारिएका किसान दिनहुँ धाउँदा पनि मल नपाएपछि समस्यामा परेका छन्। 

भैरहवामा मल पुगेको भए पनि ढुवानी गर्ने कम्पनीको लापरबाहीले मल आपूर्ति हुन नसकेको मल आपूर्ति गर्ने निकायहरूको भनाइ छ। यसबारे केन्द्र र प्रदेश सरकारलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराएपनि सुनुवाइ नभएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए। ‘हामीले मल अभाव हुन्छ भनेर विगतबाटै समन्वय, पहल गर्दा पनि कसैले चासो दिए।’ उनले भने अब यसमा प्रदेश सरकारले चासो दिनुपर्ने आवश्यक देखिएको छ।’

सुदूरपश्चिम प्रदेशमा वर्षमा १५ हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ। यस क्षेत्रमा पूर्वी तराइको भन्दा छिटो धान रोपाइ समेत हुने गरेको छ। तर अहिले सम्म त्यसको आधा पनि मल आपूर्ति हुन सकेको छैन। 

अहिले मल अभाव सुदूरपश्चिमको बाह्र मासे समस्या बन्दै गएको छ। खेतीपातीका समयमा सुदूपश्चिमका किसानहरूले सहजरुपमा मल पाउन नसकेको गुनासो गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell