PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गुठी विधेयक खारेजीको माग गर्दै खबरदारी र्‍याली, 'नभए ४ गतेको भन्दा ठूलो आन्दोलन हुन्छ'

गुठी विधेयक खारेजीको माग गर्दै खबरदारी र्‍याली, 'नभए ४ गतेको भन्दा ठूलो आन्दोलन हुन्छ'

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक फिर्ता लिने निर्णय गरेसँगै भोलि त्यसका लागि मतदान हुँदैछ।

गुठियारको अधिकार समाप्त हुने प्रावधानसहित ल्याइएको विधेयकविरुद्ध काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा व्यापक विरोध भएपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

तर, गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका अभियान्ताहरुले सरकारले विधेयक फिर्ता लिँदा प्रयोग गरेको भाषाहरुप्रति आपत्ति जनाउँदै विधेयक खारेज हुनुपर्ने भन्दै असार ४ गते माइतीघरमा खबरदारी सभा गरेको थियो।

आज पनि अभियान्ताहरुले काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा खबरदारी सभा आयोजना गर्‍यो। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको पहलमा भएको विरोध सभामा सरकारले भोलि विधेयक फिर्ता लिएर खारेज गर्ने प्रक्रिया अघि बढाउने आशा व्यक्त गरेका थिए।

काठमाडौंमा विधेयक विरुद्ध खबरदारी गराउने हेतुले जुद्ध शालिकदेखि न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, भद्रकाली, सुन्धारा, खिचापोखरी, झोछे हुँदै बसन्तपुर महादेव पार्वती डबलीसम्म र्‍याली गरिएको थियो।

वसन्तपुरमा पुगेर खबरदारी सभामा परिणत भएपछि अभियान्ताहरुले विधेयक खारेज गरी सरोकारवालहरुसँग छलफल गरेर मात्रै विधेयक फेरि प्रस्तुत गर्नुपर्ने माग गरेका थिए।

नेवा राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठले भने,' विधेयक फिर्ता त लिने भन्यो। तर फिर्ता भएको छैन। भित्रभित्रै विधेयक फिर्ता नगराउने षड्यन्त्र भइरहेको हल्ला छ। आशा छ त्यस्तो नहोस्। नत्र यहाँ ४ गतेको भन्दा ठूलो आन्दोलन हुन्छ।'

आयोजक समितिले सरकारले भोलि विधेयक फिर्ता लिएर खारेज नगरेसम्म आन्दोलनका कार्यक्रम संचालन गरिरहने जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell