
काठमाडौँः जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हुण्डी कारोबारमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो विशेष सूचनाको आधारमा भएको प्रहरी अप्रेशनमा ४१ लाख ९२ रुपैयाँसहित ८ जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सोमेन्द्र राठौरले जानकारी दिए।
पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिकाका विनोद सुनार, पर्सा छिपहरमाई नगरपालिकाका राज कुपुर साह, भारत बिहार मोतिहारीका सुनील कुमार प्रसाद र गुलाब साह पक्राउ परेका हुन्। यस्तै पक्राउ पर्ने अन्यमा वीरगञ्जका चन्दन कुमार सर्फ, राकेश कुमार सिंह, पर्सा विन्दाबासिनी गाउँपालिका घर भएका सुजीत कुमार साह, बारा परवानीपुरका घनश्याम सर्राफ रहेका छन्।
प्रहरी टोलीले पर्साको माइस्थानस्थित कन्हैया प्रसाद सोनारले सञ्चालन गरेको के.पी. स्वर्णकला केन्द्र (सुनचाँदी पसल) ज्वेलर्ससँगै टाँसिएको पश्चिमतर्फको कोठाबाट कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
आन्तरिक राजश्व कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले उक्त पसल थप अनुसन्धानको लागि सिल समेत गरेको।
नेपाल बाहेक भारत, चीन, अस्ट्रेलिया, दुबईलगायत देशहरूमा हुण्डीको कारोबार हुने गरेको छ।
उनीहरूले एक लाख रुपैयाँको हुन्डी गरेबापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिने गरेको पाइएको छ। हुन्डी कारोबारीहरूको दुबै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अंकको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्। उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्।