PahiloPost

Oct 22, 2019 | ५ कात्तिक २०७६

नेपाली साइबाबाको स्कूल : नाम निःशुल्क, असुलिन्छ विभिन्न शुल्क, खुट्टामा निधार जोडेर ढोग्नुपर्छ चाहे कलिला विद्यार्थी होस् वा बुज्रुक शिक्षक

नेपाली साइबाबाको स्कूल : नाम निःशुल्क, असुलिन्छ विभिन्न शुल्क, खुट्टामा निधार जोडेर ढोग्नुपर्छ चाहे कलिला विद्यार्थी होस् वा बुज्रुक शिक्षक

पहिलोपोस्ट /पहिलोपोस्ट


  • स्वेच्छा राउत -

भक्तपुरको बालकोट मूल सडकभन्दा केही भित्र जालीले घेरेको ठूलो कम्पाउन्डभित्र प्रि-फ्याब्रिक भवनहरु सजिएका देखिन्छन्। कम्पाउन्डको मूलगेटबाट भित्र छिरेपछि देखिन्छ ठूलो चौर। त्यही चौरमा छन् ब्याडमिन्टन कोर्ट, दुबोको बगैँचा र केटाकेटीले खेल्ने ठाउँ।

झट्ट हेर्दा कुनै पार्क वा महँगो निजी विद्यालयजस्तो देखिन्छ। तर यसका संस्थापक बाबा हुन्। विदेशी हैन, नेपाली साइबाबा जसलाई सञ्जय साईको नामले चिनिन्छ। नाम राखिएको छ- सञ्जय साई विद्या आश्रम।

भारतका साइबाबाकै अनुसरण गर्दै सञ्जय साइबाबाले पनि 'नि:शुल्क' विद्यालय खोलेका छन्, पढाइमा खर्च गर्न नसक्नेहरुका लागि भनेर। अहिले यो विद्याश्रममा ४ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन्। भनिएको छ 'नि:शुल्क' र यहाँ पढ्न महिनैपिच्छे शुल्क पनि तिर्नुपर्दैन। तर बस शुल्क, ‘केयर टेकिङ’ शुल्क तथा क्यान्टिन शुल्क भने तिर्नुपर्छ।

अचम्म त के छ भने, नि:शुल्क भनिएको विद्यालयको ‘केयर टेकिङ’ शुल्क नै ११ सयदेखि १५ सय रुपैँयासम्म राखिएको छ। क्यान्टिनको लागि छुट्टै १२ सय तिर्नुपर्छ भने बसको दूरी अनुसारको बस सेवा शुल्क।

साइबाबाको नेपाली रुप भनेर दाबी गर्ने सञ्जय साइबाबाको संस्था सञ्जय साइ सेवा संस्थाले शुरुवातमा केही विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो। पैसा अभावका कारण कसैले पनि पढ्न नपाउने अवस्था नहोस् भनेर आफुले विद्यालय चलाएको सञ्जयको दाबी छ।

छात्रवृत्तिबाट शुरु भएको संस्थाले काठमाडौँको शंखमुलमा एउटा घर भाडामा लिएर करिब दर्जन विद्यार्थी पढाउन शुरु गर्‍यो। बिस्तारै उनको संस्थामा पढ्न आवेदन दिनेको संख्या बढ्दै गयो। संख्या बढेपछि संस्थाले आठ वर्ष अघि विद्यालय दर्ता गर्‍यो।  यो विद्याश्रम बुद्धनगरबाट बालकोट सरेको एक वर्ष भयो।

यो विद्यालयमा पढ्ने, पढाउने र काम गर्ने सबैले एकअर्कालाई 'साइराम' भनेर सम्बोधन गर्छन्। तर बाबा अर्थात् सञ्जय साइबाबालाई भने सबैले खुट्टामा ढोग्नुपर्छ, चाहे ती कलिला विद्यार्थी हुन् या बुज्रुक शिक्षक।

विद्यालयका संस्थापक सञ्जय साइबाबालाई ढोग्नु पर्ने भए पनि यहाँ पढ्ने विद्यार्थीहरु सबै साइभक्त नभएको बताउँछन् विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर लुइँटेल।

पहिलोपोस्टसँग कुरा गर्दै लुईँटेलले भने, ‘प्रवेश परिक्षा लिएर छानिएकामध्ये कोही अरु धर्म मान्ने पनि होलान्।‘ जनमैत्री क्याम्पस कुलेश्वरमा प्राध्यापन छोडेर साइबाबाको विद्यालयमा ‘हेडसर’ हुन पुगेका उनी भने बाबाभक्त हुन्।

मासिक शुल्क नलिएर पढाउने विद्यालयको स्रोत के हो भन्ने प्रश्नको जवाफमा संस्थापक सञ्जय ‘भक्तको दान’ भन्छन्। यसका लागि ‘बाबा’को दर्शन गर्न आउने भक्तबाट तीन सय रुपैयाँका दरले चन्दा उठाइन्छ। 

पहिलोपोस्टसँग कुरा गर्दै सञ्जय साइबाबाले भने, ‘‘हामी विशुद्ध भक्तको दानमा चलेका छौं। भक्तको सहयोग बाहेक अन्य कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय स्रोत छैन।' 

उनका अनुसार विद्यालयको खर्चमात्र हैन विद्यालयको भवन निर्माणदेखि विद्यालयका भित्तामा झुण्ड्याइएका घडीसम्म दानबाट प्राप्त हुन्। 
हामीसितको कुराकानीमा बाबाले स्वीकारे, 'आफ्नो ड्रेस आफूले किन्नुपर्छ। आफ्नो किताब कापीको खर्च आफैले गर्नुपर्छ। अनिपछि वर्षको एकचोटी भर्ना फी (केयर टेकिङ चार्ज), बच्चाको केही दुर्घटना भएको खण्डमा उपचारका लागि लिन्छौं। त्यसको लागि १५ सय चार्ज छ। क्यानटिनमा खाजा खाए बापत् १२ सय। त्यस्तै बस सुविधा लिनेको दुरी अनुरुप चार्ज छ।'

अरु विद्यार्थीलाई पनि ढोगाइन्छ खुट्टा 

गत फागुन २७ गते, सोमबार। सञ्यय साइको नरेफाँटस्थित आश्रममा एसईई दिने विद्यार्थीहरुका लागि पूजा भयो। यो पूजा हरेक वर्ष हुने गर्छ। जसलाई 'सरस्वती यज्ञ' भनिन्छ। यो वर्षको पूजामा सञ्जय साई स्कूल र एडभान्स स्कूलका कक्षा १० का विद्यार्थी सहभागी भए। सबैले पूजा आराधना गरे, भजन गायनमा सहभागी भए। 

पूजा सकिएपछि आशीर्वाद थाप्ने कार्यक्रम थियो। आशीर्वादका लागि पहिले सञ्जय साई विद्या आश्रमका विद्यार्थी लाम लागे। सेतो पहिरनमा देखिएका छात्र र सेतोमा सुन्तले घेरा भएको कुर्ती लगाएका छात्रा। 

सबै पालैपालो बाबाको अगाडि पुगे। टीका थापे। टीकासँगै झिलझिले कागजमा बेरेको उपहार र प्रसाद समाते। त्यो लिएर एकपटक बाबाको पाउमा निधार जोडेर ढोगे र आ-आफ्नो ठाउँमा आएर बसे। 

त्यसरी नै एड्भान्स स्कूलका विद्यार्थीलाई आशिर्वादको लागि लाइनमा राखियो। उनीहरुको लागि भने झिलझिले कागजमा पोको नपारेको उपहार थियो। बाबाको फोटो अंकित टिसर्ट र प्रसाद हातमा समाएर उनीहरुले पनि उसैगरी खुट्टामा ढोगे। 

यसरी बच्चालाई खुट्टामा ढोगाएको कति अभिभावकलाई मन पनि परेको छैन। तर उनीहरु प्रतिकार गर्न पनि सक्दैनन्। ‘भगवान’को प्रतिकार गर्न ठूलै हिम्मत चाहिन्छ। त्यसमाथि नि:शुल्क पढाउन पाइएको छ भन्नेहरु पनि धेरै छन्। 

आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाइरहेका एक स्थानीयले नाम नबताउने शर्तमा भने , ‘अहिले पो केटाकेटी छन् जे सिकायो त्यही गर्लान् पछि बुझ्ने भए र उनीहरुको आस्था फेरियो भने? ढोग्न नमान्नेले चाहिं पढ्न पाउने कि नपाउने?’ तैपनि उनी विद्यालयले उपलब्ध गराएको 'नि:शुल्क' सेवाका कारण खुशी छन्। नयाँ प्रिन्सिपल ल्याएपछि व्यवस्थापन पनि सुध्रने उनको आशा छ। 

घरबाट आवत् जावत् गर्न नजिक र फी सस्तो भएका कारण सोही स्कूलमा सन्तान पढाई रहेकी छिन् एक स्थानीयले। उनका अनुसार खाजासँगै अन्य मासिक खर्च कापी, कलममा हुन्छ। नाम नबताउने सर्तमा भनिन् 'पढाई चित्त बुझ्दो छैन। पैसा थोरै भएर के गर्नु? यो वर्ष पनि बच्चाको पढाई सुध्रिएन भने स्कूल फेर्ने हो।'

बाबाको विद्याश्रमबाट दुई ब्याचले एसइइ परिक्षा दियो। उनको विद्यालयबाट बढीमा २० प्रतिशत विद्यार्थीले बी प्लस ग्रेड ल्याएका छन्। प्रधानाध्यापक लुईँटेल नि:शुल्क भएपनि पढाइको गुणस्तर र अध्यापकहरुको योग्यता उत्कृष्ट रहेको दाबी गर्छन्।

पहिलोपोस्ट टीम उनको विद्यालय पटकपटक पुगेको थियो। भ्रमणका क्रममा विद्यालयका विज्ञान शिक्षक समिन तण्डुकार विद्यालयमा भन्दा बाबाको आश्रममा बढी भेटिन्थे। आश्रममा दर्शन तथा प्रवचन दिने बेला उनी बाबासँगै हुन्छन्। प्रवचन दिएका बेला बाबाको छेउमा भुइँमा हात जोडेर बस्ने, बाबालाई पानी दिने उनको काम हुने गर्छ।

शिक्षाविद् विद्यानाथ कोइराला खुट्टा ढोग्नुलाई नितान्त व्यक्तिगत छनौटका रुपमा व्याख्या गर्छन्। हिन्दु संस्कारमा गुरुप्रतिको सम्मान दर्शाउन त्यसो गरिन्छ। भने,'संस्कार, आस्था र देखासिखीका कारण कसैको खुट्टा ढोगिने हो।' 

'जबरजस्ती गराइएको होइन भने ठीक छ। मुख्य कुरो पढाई हो। शिक्षा राम्रो भए भइहाल्यो नि', उनले भने,'जबरजस्ती गरियो भने चाहिं कारण सोध्नुपर्छ, रोक्नुपर्छ।' 

स्कूल सार्दा विरोध

श्री सञ्जय साइ विद्यालय बुद्धनगरबाट बालकोट स्थान्तरण गर्ने क्रममा प्याब्सन अन्तर्गतका ४० विद्यालयले विद्यालयको विरोधमा नगरपालिकामा निवेदन दिएका थिए। नगरपालिकाको सकारात्मक साथ सहयोगका कारण स्कूल सार्न सम्भव भएको बताउँछन् सञ्जय बाबा स्वयं। सम्पूर्ण प्रक्रिया पूरा गरेर सारिएको बताउँछन् सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा अधिकृत शालिग्राम कोइराला। 

त्यस समय निवेदन दिने विद्यालयहरुले नगरपालिका कार्यालय बाहिर विरोध प्रदर्शनी समेत गरेका थिए। मेरीगोल्ड माध्यमिक विद्यालय, भक्तपुरका प्रधानाध्यापक भुवनलाल श्रेष्ठ भन्छन्, 'नगरपालिकाको शिक्षा नियमावलीमा विद्यालय एक जिल्लाबाट अर्कोमा सार्ने बारे केही पनि उल्लेख गरिएको छैन। जुन सरासर गलत हो। नगरपालिकाले केका आधारमा काम गर्‍यो हामीलाई थाहा छैन।' 

उनले त्यसअघिको जिल्ला स्तरीय नियमावलीमा विद्यालयको जिल्ला स्थान्तरण गर्न नपाइने उल्लेख रहेको समेत बताए। 

शिक्षा ऐनको दफा १५ मा 'नेपाल सरकार वा तोकिएको अधिकारीले जिल्ला शिक्षा समितिको राय लिई सञ्चालन भइरहेका कुनै विद्यालयलाई एक स्थानबाट अर्को स्थानमा सार्न वा दुई वा दुईभन्दा बढी विद्यालयलाई गाभी एउटा विद्यालय कायम गर्न वा विद्यालयको नाम परिवर्तन गर्न वा विद्यालय बन्द गर्न वा तोकिएको ठाउँ वा क्षेत्रमा विद्यालय खोल्न वा विद्यालयमा कक्षा थप गरी सञ्चालन गर्न अनुमति वा स्वीकृति दिन सक्नेछ' भन्ने उल्लेख गरिएको छ। 

'स्थानीय सरकारले बनाएको विधानमा स्कूल सार्ने बारे केही उल्लेख नभएको खण्डमा शिक्षा ऐन २०२८ का सोही दफा अनुरुप स्कूल सारेको हुनसक्छ', शिक्षा मन्त्रालयका उप सचिव विदुरराज गिरीले भने।

(काठमाडौँको किलागलबाट एकाएक हराएका १४ वर्षका सञ्जय कपाली कसरी सञ्जय साइबाबा बने? पहिलोपोस्टको विशेष रिपोर्टिङ भोलि) 
 

सम्पादन : अनन्त कोइराला र उमेश श्रेष्ठ

 

नेपाली साइबाबा शृङ्खला

शृङ्खला १ : नेपाली साइबाबाको स्कूल : नाम निःशुल्क, असुलिन्छ विभिन्न शुल्क, खुट्टामा निधार जोडेर ढोग्नुपर्छ चाहे कलिला विद्यार्थी होस् वा बुज्रुक शिक्षक

शृङ्खला २ : किलागलको थोत्रो घरबाट हराएका किशोर कसरी एकाएक बने 'नेपाली साइबाबा'?



ट्रेन्डिङ पोस्ट

Ncell