PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

पल्सर स्पोर्ट्स अवार्डको लागि चार विधाको मनोनयन सार्वजनिक, क्रिकेटबाट सर्वाधिक ५ जना



पहिलोपोस्ट

पल्सर स्पोर्ट्स अवार्डको लागि चार विधाको मनोनयन सार्वजनिक, क्रिकेटबाट सर्वाधिक ५ जना

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७५ को लागि चार भिन्न विधाको मनोनयन सार्वजनिक भएको छ।

मंगलवार आयोजित कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा अनी उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो।

जसमा क्रिकेटबाट सर्वाधिक ५ जना परेका छन्। यस्तै फुटबलबाट ३, भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोबाट २-२ जना मनोनयनमा पर्दा ब्याडमिन्टन, कराते, गल्फ र तेक्वान्दोबाट १-१ जना छन्।

यही असार १७ गते कमलादीस्थति एकेडेमी भवनमा आयोजना हुने १६औं संस्करणको अवार्डको लागि यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ। बाँकी पाँच विधाको अवार्डको विजेता भने अवार्डकै दिन घोषणा गरिने एनएसजेएफले जनाएको छ।

वर्ष २०७५ सालभर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक एवंम एनएसजेएफका सचिव गोविन्द रेग्मीले जानकारी दिए।

मंगलवार सार्वजनिक मनोवयनमा भने क्रिकेटबाट चार खेलाडी र एक प्रशिक्षक गरी पाँच जना परेका हुन्।

वर्षको उत्कृष्ट खेलाडी पुरुषमा राष्ट्रिय टिमका कप्तान पारस खड्कासंगै सोमपाल कामी, प्याराग्लाइडिङका युकेश गुरुङ, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ मनोनयनमा परेका छन्।

यस्तै महिलातर्फ क्रिकेटकी सीता रानागर संगै फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी,जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ छन्।

यस्तै उत्कृष्ट युवा पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सका अजित कुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्।

यसैगरी उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाईडिङका योगश भट्टराई, क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरी खड्का मनोनयनमा छन्।

यसअघि नै सार्वजनिक भइसकेको पिपुल्स च्वाइस अवार्डमा पनि क्रिकेट खेलाडी सन्दीप लामिछाने परेका छन्। सन्दीपसंगै फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।

प्रिन्स र सावित्रा दुई फरक विधामा मनोनयनमा परेका हुन्।

लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट अवार्ड, स्पेशल अवार्ड र टिम अफ दि इअरको अवार्ड घोषणा असार १७ गते नै गरिनेछ।

यस्तै यस संस्करण देखि एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत अवार्ड प्रदान गरिनेछ।

यस वर्ष वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र उत्कृष्ट प्रशिक्षक अवार्डको विजेताले बजाज एनएस मोछरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले नगद ५० हजारका साथै गिफ्ट ह्याम्पर प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell