PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सरकारले नटेरेपछि काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा खतराको सूचीमा राख्ने प्रस्तावको तयारीमा युनेस्को



सहयोग रञ्जित

सरकारले नटेरेपछि काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा खतराको सूचीमा राख्ने प्रस्तावको तयारीमा युनेस्को

काठमाडौं: युनेस्कोले काठमाडौं उपत्यकामा अवस्थित विश्व सम्पदा सूचीलाई खतराको सूचीमा राख्न प्रस्ताव अघि बढाउने तयारी गरेको छ।

काठमाडौं उपत्यकामा रहेका सबै सम्पदालाई खतराको सूचीमा राख्ने प्रस्ताव गर्ने तयारी गरेको सीएनएनले उल्लेख गरेको छ।

काठमाडौं उपत्यकामा मात्रै सातवटा सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचीकृत रहेका छन्।

हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपतिनाथ मन्दिर र चांगु नारायण मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत रहेका छन्।

काठमाडौंमा रहेका उल्लेखित सम्पदाहरुको संरक्षणमा सरकारले ध्यान नदिएको र सम्पदा क्षेत्रभित्र असर पुग्ने गरी अनाधिकृत निर्माण कार्य भइरहेको भन्दै युनेस्कोले सरकारलाई बारम्बार चेतावनी दिँदै आएको थियो।

विशेषगरी पशुपति श्लेश्मान्तक वनमा निर्माण भएको सडक, विश्वरुप मन्दिर पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएकोमा युनेस्कोले आपत्ति जनाउँदै आएको थियो। युनेस्कोको आपत्ति र सर्वोच्चको फैसलाअनुसार हाल निर्माण गरिएको बाटो बन्द गर्ने प्रक्रिया अघि बढाइए पनि केहीले भने बाटो खुल्ला हुनुपर्ने माग गर्दै आएका छन्।

यस्तै, स्वयम्भु र बौद्धनाथमासमेत अनाधिकृत निर्माण भइरहेको प्रति सरोकारवालहरुले चासो देखाउँदै आएका थिए। यो वर्ष बुद्ध जयन्तीको केही दिनअघि स्वयम्भु भगवानपाउमा कंक्रिटको प्रयोग गरी प्रवेशद्वार निर्माण गर्न लागिएको थियो। सम्पदा अभियान्ताहरुको विरोधपछि काठमाडौं महानगरपालिकाले प्रवेशद्वार निर्माण गर्न रोक लगाएको थियो। यस्तै स्वयम्भू स्तूप परिसरमा आचारसंहिता विपरित घरहरू बनिरहेको भन्दैसमेत विरोध हुँदै आएको छ।

बौद्धानाथमा समेत केही महिनाअघि स्तूपलाई सजाउने नाममा किल्ला ठोक्ने र बत्तीहरु राख्ने घटना सार्वजनिक भएको थियो। अभियान्ताहरुको विरोधपछि किला र बत्ती निकालिएको थियो।  

भूकम्पपछि काठमाडौं,पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका धेरै सम्पदाहरु भत्किए। सरकारले ती सम्पदाहरु पुनर्निर्माण गर्न ध्यान नदिएको सरोकारवालाहरुले आरोप लगाउँदै आएका थिए। हाल केही सम्पदाहरु पुनर्निर्माण भएपनि दरबार क्षेत्रमा असर पर्ने गरि हुने विभिन्न कार्यहरु रोक्न भने सरकार असफल भएको अभियान्ताहरुले बताउँदै आएका छन्।

सरकारले २०२० लाई भ्रमण वर्ष २०२० घोषणा गरेकै बेला यसरी युनेस्कोले काठमाडौं उपत्यकाका सम्पदाहरुलाई खतराको सूचीमा राख्न प्रस्ताव गर्ने तयारी गर्नुले सरकार सम्पदा संरक्षणमा गम्भीर नरहेको स्पष्ट हुने अभियान्ताहरु बताउँछन्।     

युनेस्कोले बंगलादेशको द सनडरबान्स, बुलगेरियाको एन्सियन्ट सिटी अफ नेस्सेबास, अलबानियाको ओहरिड क्षेत्र, मेक्सिकोको गल्फ अफ क्यालिफोर्नियामा रहेको टापु र संरक्षित क्षेत्र र इराकको बेबीलोनलाई खतराको सूचीमा राख्न प्रस्ताव गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell