PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

एएफसी कप : मनाङको लक्ष्य सुखद अन्त्यको, चेन्नायीनको नकआउट राउण्ड



पहिलोपोस्ट

एएफसी कप : मनाङको लक्ष्य सुखद अन्त्यको, चेन्नायीनको नकआउट राउण्ड

काठमाडौं : एसिएन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता एएफसी कप खेल्ने पहिलो नेपाली क्लब बनेको मनाङ मर्स्याङ्दी क्लब घरेलु मैदानमा हुने अन्तिम खेलमा सुखद नतिजा ल्याउन चाहन्छ। उता भारतीय क्लब चेन्नायी एफसी समूह चरण पार गर्नको लागि अन्तिम खेल जित्ने लक्ष्यमा छ।

यी दुई क्लब एएफसी कप २०१९ को समूह ई को अन्तिम खेलमा बुधवार प्रतिस्पर्धा गर्दै छन्। यसै समूहमा रहेका दुई टोली मिनेर्भा पञ्जाब र बंगलादेशको अबहानी ढाका लिमिटेड पनि भोलि नै खेल्दैछन्। मनाङ र मिनेर्भा यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ। अबहानी १० अंकसहित समूहको शीर्ष स्थानमा छ र चेन्नायी ८ अंकसहित दोस्रोमा छ।

चेन्नायीनलाई मनाङ विरुद्धको खेल जितेर मात्र पुग्नै अर्को खेलमा पनि आफू अनुकुल नतिजा आउनुपर्नेछ। यस समूहबाट शीर्ष स्थानमा रहने एक टिममात्र इन्टर जोनल सेमिफाइनलमा प्रवेश गर्नेछ।

त्यसैले अबहानी र चेन्नायी दुवैको लागि भोलिको खेल महत्वपूर्ण छ।

यता घरेलु मैदानमा अबहानीसंग पहिलो खेल (१-० ले पराजित) खेल्दै प्रतियोगिताको सुरुवात गरेको मनाङले पहिलो सहभागिता अहिलेसम्म ५ खेल खेल्दा जित हात पार्न सकेको छैन। मनाङले ३ खेलमा हार बेहोर्दा २ खेलमा बराबरी नतिजा निकालेको थियो।

यसअघि भारतमा भएको खेलमा मनाङ चेन्नायीसँग २-० ले पराजित भएको थियो। अब अन्तिम खेलमा घरेलु मैदानमा सुखद नतिजासँगै प्रतियोगिता अन्त्य गर्ने लक्ष्यमा मनाङ रहेको छ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अन्तिम खेलमा चेन्नायीनलाई आफ्नो टोलीले जितका लागि खेल्ने बताएका छन्। मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा लोप्साङले चेन्नायी विरुद्ध जितका लागि तयार भएको बताए।

'हामी एएफसी कपको अन्तिम खेल खेल्दैछौँ। हाम्रो मुख्य उद्देश्य भनेको राम्रो खेल्ने र सुखद रुपमा प्रतियोगिता अन्त्य गर्ने हो।'

अबहानी विरुद्धको पछिल्लो खेलमा मनाङले राम्रो खेल्न नसकेको उल्लेख गर्दै एएफसी कपको यात्राबाट धेरै सिकेको उनले बताए। पछिल्लो खेलमा मनाङ अबहानीसँग ५-० को फराकिलो अन्तरले पराजित भएको थियो।

यस्तै चेन्नायीनका प्रशिक्षक जोन चार्ल्स ग्रेगोरीले नकआउट चरण पुग्ने आशावादी रहेको बताए। 'हामी मनाङसँग उसैको मैदानमा खेल्दा दबावमा छैनौं। हामी दुई पटकको लिग च्याम्पियन हौँ र हामीले एएफसी कपमा देखाइसकेको छौँ कि हामी प्रेसरमासमेत राम्रो प्रदर्शन गर्न सक्छौँ,' ग्रेगोरीले भने। अर्को चरण पुग्न यो खेल मस्ट विन खेल हो। हामी राम्रो प्रदर्शन गर्ने प्रयास गर्छौँ। हामी भोलि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell