
महेन्द्रनगर : कञ्चनपुरमा भइरहेको चौथो संस्करणको मिराई प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ भिड्ने भएका छन्।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलमा मंगलवार भएको दोस्रो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई डिएल मेथडमा ४ रनले पराजित गर्दै फाइनलमा सुदूरपश्चिमसंग भेट पक्का गरेको हो। त्यसअघि पहिलो सेमिफाइनल वर्षाले रद्ध हुँदा समूह चरणमा विजेता भएको आधारमा सुदूरले प्रदेश नम्बर २ संग खेल नै नखेली फाइनलमा स्थान बनाएको हो।
समूह चरणमा सुदूरपश्चिमको पाँच अंक जोडेको थियो भने प्रदेश नम्बर २ ले चार अंक जोडेको थियो।
दोस्रो सेमिफाइनल पनि वर्षाका कारण प्रभावित बनेको थियो। एपीएफले राष्ट्रिय टिमको कप्तान समेत रहेकी रुविना क्षेत्रीको टोलीलाई एपीएफले पराजित गरेको हो। एपीएफको कप्तानी राष्ट्रिय टिमकी उपकप्तान सीता राना मगरले गरिरहेकी छिन्।
वर्षा कारण ५ ओभरमा छोट्याएको खेलमा प्रदेश १ ले डिएल मेथडमा ४६ रनको लक्ष्य पाएको थियो। जसमा प्रदेश १ ले ४१ रन मात्रै बनाउन सक्यो।
त्यसअघि एपीएफले वर्षा हुनु अघि ८ ओभरमा १ विकेट गुमाएर ४८ रन जोडेको थियो। एपीएफको लागि ज्योति पाण्डेले सर्वाधिक २३ बनाइन्। कप्तान सीता राना मगरले नटआउट २० रन जोडिन्।
वर्षाका कारण खेल प्रभावित भएपछि डिएलका आधारमा प्रदेश नम्बर १ ले पाँच ओभर ४६ रनको लक्ष्य पाएको थियो। तर प्रदेश १ ले ५ ओभर खेल्दै ५ विकेको गुमाएर ४१ रन मात्र जोड्न सक्यो। प्रदेश १ का लागी कप्तान रुविनाले १२ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।
असार ४ गतेदेखि भइरहेको प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ७ बजे सुदुरपश्चिम प्रदेश र एपीएफकाबीच हुनेछ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन्।