PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

दार्जिलिङबाट पहिलो पटक आउँदा ‘थिएन कोही मेरो’, अहिले अँगाल्यो काठमाडौंले : बानिका प्रधान



मन्दिरा खत्री

दार्जिलिङबाट पहिलो पटक आउँदा ‘थिएन कोही मेरो’, अहिले अँगाल्यो काठमाडौंले : बानिका प्रधान

‘थिएन कोही मेरो न कसैको चाह थियो

तिम्ले आधार दियौँ र प्वाँख फर्फराउन खोजेँ।’

झण्डै ६ वर्ष अगाडि काठमाडौंमा गायिका बानिका प्रधानको जिउने अरु कुनै आधार थिएन। यही गीत गाउन काठमाडौं आएकी थिइन् उनी। अहिले यतै नेपाली संगीत उद्योगमा पाइला अगाडि बढाउँदै छिन्। चलचित्र ‘मेघा’मा समावेश यही गीत नै बानिकाको सांगीतिक करियरको टर्निङ प्वाइन्ट बन्न पुग्यो।

गीतको शब्द र संगीत गोपाल योञ्जनको छ। यो गीतमा बानिकाको स्वर भरिनुमा पनि संयोगले जुराएको भेटले काम गरेको छ। सन् २०१२ सालमा गोपाल योञ्जन पत्नी रिन्छेन योन्जनसँग बानिका भेट दार्जिलिङमै भएको थियो। सन् २०१३ मा सम्झना उप्रेती रौनीयारको निर्देशनमा ‘मेघा’ बन्दै थियो। सम्झनाका श्रीमान विकास रौनियारले फिल्म बनाउँदै थिए। फिल्मका गोपाल योञ्जनका पुराना गीतहरुको रिमेक भर्सन समावेश हुने भए। पुरानासँगै नयाँ गीत ‘थिएन कोही मेरो’ का लागि पनि नयाँ स्वर खोजिँदै थियो। स्वर दार्जिलिङतिरबाट खोज्दै जाँदा योञ्जन पत्नी रिन्छेनलाई धेरैले बानिकाकै प्रस्ताव गरे।

'मेघा फिल्ममा समावेश हुने गीतका लागि नयाँ आवाज खोज्नकै उहाँहरु दार्जिलिङ पुग्नु भएको थियो। यही शिलशिलामा उहाँहरुसँग मेरो भेट भयो। उहाँले मेरो आवाज सुन्नुभयो। अनी सेलेक्ट गर्नुभयो,’ बानिका सम्झिन्छिन्, ‘यही गीतले नै मलाई नेपाल ल्याइ पुर्‍यायो। अहिले नेपालमै जिउने आधार तयार गरिदियो।’

‘मैले चिनेको गीतसंगीतमा लागेको कोही थिएन। चाहनामा पनि कोही थिएन् थियो त केवल गीत संगीत थियो,’ बानिका भन्छिन्, ‘यही गीत गाउनकै लागि पहिलो पटक काठमाडौं आएँ।’

रिन्छेनले नै बानिकालाई काठमाडौंको बाटो देखाइन्। ‘मेघा’मा समावेश नारायण गोपाल र मीरा राणाले गाएको गीत ‘तीमी देउ या नदेउ’को रिमेकमा कर्मा ग्याल्जेनसँग उनले आवाज दिइन्। त्यस्तै ‘हरेक मोडमा तिमीले मलाई भेट’ नारायण गोपाल र अरुणा लामाले गाएको यो गीत पनि मेघामा समावेश गरियो। यसमा पनि बानिकाले नै आवाज दिइन्।

तीन वटा गीत रेकर्डिङका लागि आएकी उनी १५ दिन बसेर फर्किइन्। ‘त्यसपछि मेरो काठमाडौं आउने जाने भइ रह्यो,’ उनी भन्छिन्, ‘आउने जाने गरिहनु भन्दा यतै बसाई सर्नु उचित लाग्यो।’

मैले नेपाली गीतसंगीत अँगालें, काठमाडौंले मलाई

काठमाडौंमा उनले आफूलाई ‘लक्की’ ठान्छिन्। ‘काठमाडौंमा आएर मैले धेरै संघर्ष गर्नुपरेन। दार्जिलिङमै गरेको मेहनतले मलाई यहाँ सहज बनायो,’ उनी भन्छिन्, ‘मैले नेपाली गीत संगीतलाई अँगाले काठमाडौंले सायद मलाई अँगाल्न चाह्यो।’

उनी सन् २०१४ को जुनदेखि काठमाडौंमै डेरामा बस्दै आएकी छिन्। गीत गाएरै काठमाडौंमा बाँचिरहेकी छन्। सन् २०१३ मा ‘थिएन कोही मेरो न कसैको चाह थियो’ गाएर दार्जिलिङ फर्किएकी बानिका यतै बस्ने गरी आउँदा यसपटक भने उनको आवाज चाहनेहरु बढेका थिए। उनको आवाज चलिसकेको थियो। उनको खोजी हुँदै थियो।

संगीतकार सुरेश अधिकारीले उनलाई गीतको अफर लिएरै आए। ‘मैले संगीतकर्मीहरुको ढोकाढोकामा गएर गीतको लागि रिक्वेस्ट गर्नुपरेन। त्यतिबेलासम्म मेरो गीतहरु अलिअलि आउन थालिसकेको थियो,’ उनले भनिन्, ‘मैले साधना गरिहेकी थिएँ। तर म गाउँछु है भनेर कसैको अगाडि प्रुभ् गर्दै हिँड्नु परेन।’

उनी हरेक गीतमा आफूले शतप्रतिशत दिने प्रयास गर्ने बताइन्। ‘नयाँ थिएँ। विश्वास गरेर आउनेहरुलाई निरास पारिनँ। शतप्रतिशत दिन मौका पाएँ,’ उनले भनिन्, ‘मलाई डर पनि हुन्थ्यो। कतै मैले राम्रो गर्न सकिन भने, कतै मेरो स्वर बस्यो भने। उहाँहरुलाई निरास पार्नुपर्‍यो भने।’

तर उनलाई नेपाल र दार्जिलिङ फरक लागेन। उस्तै माया गर्ने। नेपाल आइसकेपछि भने उनले लोकगीतहरु बढी सुन्न पाएको बताउँछिन्।

जागिर खोज्दै थिएँ, चिनायो संगीतले

संगीतमा चर्चा कमाएकी बानिका ९ वर्षको उमेरदेखि नै गीत संगीतमा जोडिएकी हुन्। पढाईसँगै संगीतको निरन्तरता दिइन्। तर, संगीतले मात्र खान दिँदैनथ्यो, जीवन कुनै समय जागिरको खोजी पनि थियो।

नर्थ बंगाल विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर हुन उनी। ‘१० वर्ष अगाडि गीत गाएरै जिउने अवस्था थिएन। म पनि मास्टर्स सक्छु। जागिर खान्छु। कमाएको केही पैसाले गीत रेकर्ड गराउँछु भन्ने थियो,’ उनी सम्झिन्छिन्, ‘मास्टर्स सकेपछि काम खोज्दै थिएँ।’

अध्ययन एकातिर थियो, गीत पनि गाउँथिन्। ‘पढाइसँगै गीत पनि गाइदिन्थे। प्रतियोगिताहरुमा पनि भाग लिन्थेँ। जागिर पनि खोज्दै थिएँ। त्यतिमै मैले गुरु भेटाएँ,’ उनी संगीतको सुरुवाती चरण सम्झिन्छिन्, ‘सौरोज्योती घोष, उहाँले मलाई संगीतमै करियर देखाइदिनु भयो।’ तीनै गुरुबाट उनले संगीतको पूर्णकालिन सारथि बन्ने प्रेरणा पाइन्। उनी त्यो प्रेरणा नपाएको भए सायद दार्जिलिङका अन्य नेपाली गायकहरुले जस्तै जागिर खाएर बस्थिन् फुर्सदमा जागिरले जुटाएको पैसाले गीत गाउँथिन्। ‘सोचेकै थिइन् म्युजिक मात्र फूल टाइम गरेर बसेर जीवन गुजारा हुन्छ भनेर,’ उनी भन्छिन्, ‘जागिर खानै पर्छ भन्ने नै थियो।’

तर, गुरुको मार्गदर्शन र प्रेरणाले बाटो बदलियो। ‘संगीतमा त लाग्ने भइयो। अब मेरा सामु दुई वटा अप्सन थिए,’ उनले भनिन्, ‘मुम्बई या काठमाडौं।’ त्यत्तिकैमा ‘थिएन मेरो कोही’ले उनलाई काठमाडौंमा ब्रेक दियो।

दाजुसँगै एउटै स्टेजमा

घरकी कान्छी छोरी सबैकी प्यारी। त्यसमाथि तोते बोलीमै गीत गुनगुनाउने। सबैले माया गर्ने नै भए। ‘मैले गाँउघरमा अझ बढी अटेन्सन पाउँथे। घरमा कान्छी सबैकी प्यारी, गाँउघर र स्कुलमा पनि सबैको माया पाउँथे,’ उनी सम्झिन्छिन्।

आफ्नै दाईबाट संगीतमा लाग्ने प्रेरणा मिल्यो। दाई सुरज प्रधान दार्जिलिङमै सांगीतिक व्याण्ड खोलेर गाउँदै हिँड्थे। दाइले नै गाउन लैजान्थे। दाइकै साथमा लागेर उनी पनि स्टेज उक्लिन्थिन्। यो ब्याण्डले आफ्नै गीत ननिकाले पनि नेपाली गीत गाउँदै स्टेज सो गथ्र्यो। ‘दाइहरुले मलाई पनि गीत गाउन लगाउनुहुन्थ्यो,’ उनी सम्झिन्छिन्।

भजनमा पनि अब्बल

नेपाली गीत संगीत त छँदै छ बानिका भजनमा पनि अब्बल छिन्। भजनसँगको उनको नाता पनि पुरानो हो। दार्जिलिङ मै श्री सत्य शाही संस्थामा गएर भजनको नियमित अभ्यास गर्थिन्।

उनले गाएको भजन सुन्न टाढा टाढादेखि भक्तजनहरु आँउथे। उनको भजन सुनेर रुन्थे पनि। ‘सायद मेरो आवाजले कनेक्ट गराउँथ्यो होला,’ उनी भन्छिन्।

सात कक्षामा पढ्दा उनी जिल्ला शाही भजन प्रतियोगितामा प्रथम भइन्। उनको पहिलो एल्बम पनि भजन संग्रह नै हो। ११ कक्षामा पढ्दा उनको ‘दुर्गा माता’ एल्वम रेकर्ड भयो। उनले सुरेश अधिकारीको संगीतमा नेपाली भजन पनि गाएकी छिन्।

‘हिमालय आइडल’ चिनायो, सिक्किममा दिनमै चार गीत रेकर्डिङ

२००५ सालमा उनी ‘हिमालय आइडल’ नामक गायन प्रतियोगितामा पनि सहभागी भइन्। जुन सिक्मिको एसके अडियो भिजनले आयोजना गरेको थियो। भारतमा रहेका नेपाली भाषीहरु माझ परिचित यो प्रतियोगिता जितेपछि उनको यस क्षेत्रमा चर्चा चुलियो। भजन हुँदै हिमालयन आइडलको बिजेता भएपछि उनलाई केही गीत तथा संगीतकर्मीहरुले नोटिस गर्न थाले। सिक्किम र दार्जिलिङमा रेकर्डिङको प्रस्ताव आउन थाल्यो। दार्जिलिङमा केही गीतहरु गाउदै जाँदा उनलाई नेपाली मात्र नभएर बंगाली, भोजपुरी, राजवंशी, हिन्दीलगायतका विभिन्न भाषाका गीतहरुका पनि अफर आउन थाले। 

हालसम्म उनको चार वटा सोलो एल्बम र लभगभ ४ सय गीत रिलिज भईसकेका छन्। ‘सिक्किममा हुँदा मैले एकदिनमा चारवटासम्म गीत रेर्कड गराएको छु। तर एकदाम गाह्रो हुने, त्यसैले अहिले म दिनमा एउटा मात्र गीत रेकर्ड गर्छु तर कुनै बेला अलि प्रेसर बढ्छ एक दिनमा सक्नुपर्ने प्रोजेक्ट हुन्छ त्यो बेला भने दुईवटासम्म रेकर्ड गरेको छु,’ उनी भन्छिन्।

उनले नेपालमा पूराना तथा नयाँ संगीतकारसँग काम गरिसकेकी छिन्। गोपाल योञ्जनदेखि सुरु भएको यो यात्रा कालीप्रसाद बास्कोटासम्म पनि छ। सुरेश अधिकारी, शम्भुजित बास्कोटा, न्ह्यु ब्रजाचार्य, दीपक जंगम, हरि लम्साललगायतका नेपालमा चलेका संगीतकारसँग काम गरिसकेकी छन्।

नेवारी भाषामा पनि गीत गाउने सोच छ। ‘नेवारी गीत गाउने बारेमा पनि सोच्दै छु। राम्रो प्रोजेक्ट पाएँ भने छिट्टै पनि होला,’ उनी भन्छिन्। दैनिक संगीत साधनामा व्यस्त हुने बानिकालाई भेट्दा उनी रेकर्डिङकै तयारीमा रहेकी थिइन्। उनको नयाँ एल्बम ‘पदमवेनी’ रेर्कडिङमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell