ललितपुर: ६४ वर्षीया गंगा महर्जन नाङ्लोमा तोरी केलाउँदैछिन्। खोकनाकै स्थानीय गंगा जहिल्यै बिहान १० बजे नै सिकाली बहुउद्देश्यीय सहकारी तेल मिल पुग्छिन र तोरी केलाउन लागि पर्छिन्।
यता, तोरी पेलेर तेल निकाल्न व्यस्त छन् गोरखाका श्याम गुरुङ। महर्जनले केलाएर राखेको तोरीलाई मेसिनमा पेलेर तेल निकाल्ने काम गुरुङ एक्लैले गर्छन्।
यी दुवैजनाको मेहेनतले सहकारीबाट दिनको करिब २०० लिटर तोरीको तेल उत्पादन हुने गरेको छ। तर त्यति उत्पादनले मात्रै बजारको माग पूरा भने गर्न सकिएको छैन।
सहकारीका कर्मचारी बिपिन डंगोलका अनुसार तेलको माग पहिलाभन्दा बढी रहेको छ। तर माग जति उत्पादन गर्न भने सकिएको छैन।
करिब ११ वर्षअघि सहकारीले तेल मिललाई ब्युताउँने निधो गर्दै सो तेल मिल किनेको थियो। 'बजारमा प्रशोधित तेलको नाममा मिसावटी तेलहरु देखापरे। त्यसैले यहीँ नै तेलको उत्पादन सुरु गरेर गुणस्तरीय तेल निकाल्न सहकारीले तेल मिल फेरि सुरु गरेको हो,' उनले भने।
बजारमा पाइने प्रशोधित र बोतलका तोरीका तेलभन्दा खोकनामा उत्पादन हुने तेलको गुणस्तर राम्रो हुने गरेकोले माग बढेको उनको दाबी छ। भन्छन्,'तेल भनेको अलि रातो अलि पहेंलो हुनुपर्छ। त्यसैले हामी तोरीलाई डढ्ने गरी भुट्दैनौं। बाहिर तोरी भने डढ्ने गरी भुटिन्छ। तेल कालो देखियोस र अरु तेल मिसाउन मिलोस भनेर नै तोरी डढ्ने गरी भुटिन्छ।'
खोकनामा पहिलोपटक 'सोमा/स: सा' अर्थात सहकारीका माध्यमबाट नै तेल उत्पादन शुरु भएको उनी बताउँछन्। भन्छन्,'पहिला १५२ जनाले ५ पैसा - १० पैसा राखेर तेल उत्पादन शुरु गरेको बुढापाकाले सुनाउने गरेका थिए। पहिला उनीहरुले मात्रै तेलको प्रयोग गर्न पाउँथ्यो। पछि तोरीको अभावसँगै तेल मिलहरु बन्द भए।'
अहिले पनि तोरीको अभाव नभएको होइन। सिजनमा यही खोकनाकै तोरी प्रयोग हुन्छ। तर त्यतिले मात्रै नपुग्ने भएकाले विदेशबाट तोरी आयात गर्नुपरेको छ। 'अफ सिजन'मा त विदेशबाट तोरी नल्याइ तेल उत्पादन हुनै नसक्ने डंगोल बताउँछन्।
उक्त सहकारीले उत्पादन गर्ने तेलको ८० प्रतिशत खपत त खोकना र आसपासका शहरहरुमा मात्रै हुन्छ। २० प्रतिशत तेल काठमाडौं उपत्यकामा मागअनुसार डेलिभरी गर्ने गरिएको छ। विदेशमासमेत तेल निर्यात गरिन्छ।
मिलमा तेल किन्न आएका शंकर महर्जन सम्झन्छन्,'पहिला हाम्रो हजुरबुवाहरुले मकवानपुरबाट तोरी किनेर ल्याउनु हुन्थ्यो। अनि यहाँबाट तेल लगेर सामान किनेर ल्याउनु हुन्थ्यो। अहिले हामी केही सस्तोको लोभमा बजारको रिफाइन्ड तेलको प्रयोग गर्दैछौं।'
शंकरका अनुसार केही वर्षअघि उनको परिवारले बजारबाटै बोटलको तेल किनेर प्रयोग गर्ने गर्थे। तर पछि परिवारका सदस्यहरु अस्वस्थ हुन थालेपछि खोकनाकै तेल प्रयोग गर्ने गरेको उनी बताउँछन्।
बिपिनका अनुसार खोकनामा रहेका अधिकांश मिलमा नयाँ प्रविधिका साथै पुरानो प्रविधिबाट पनि तेल उत्पादन हुने गरेको छ।
पुरानो प्रविधि अनुसार दुई ठूला काठको बीचमा भुटेको तोरी राखेर पेलिन्छ र तेल निकालिन्छ। त्यसरी तेल निकाल्न कम्तीमा दुई जना मानिस चाहिन्छ जसले तेल निकाल्न हालको सहाराले चक्का हल्लाइ रहनुपर्छ। स्थानीयहरु त्यस्तो प्रविधिलाई य:सी / कोल प्रविधि भन्ने गरेको बताउँछन्। अहिले भने त्यस्ता काठलाई केही आधुनिक बनाउने प्रयास भएका छन्। पेल्न सजिलो होस भनेर काठमा फलाम राख्न थालिएको छ।
सहकारीमा भएको काठ भने करिब २०० वर्ष पुरानो रहेको विपिन बताउँछन्।
यस्तै, बजार माग धान्न तेल मिलहरुले आधुनिक प्रविधिसमेत अपनाएका छन्। विद्युतीय मेसिनबाट आएको तेल र काठबाट निस्कने तेलको स्वादमा भने भिन्नता रहने गरेको छ।
तेल निस्किसकेपछि त्यसलाई भाडामा राखेर कम्तीमा सात दिनसम्म राख्नुपर्छ। यसरी भाडामा राखेपछि तेलमा रहेका कसरहरु तल जाने गर्छ। एक सातापछि भने तेललाई बोटलमा राखेर बिक्री गर्ने गरिन्छ।
हाल खोकनामा रहेको सबै तेल उत्पादन गर्ने तेल मिलहरु सबैका लागि खुल्ला छन्। तेल कसरी उत्पादन हुन्छ भनेर सबैले हेर्न पाउँछन्। दिनहु नयाँ अनुहारहरु खोकनाका तेल मिल पुग्ने गर्छन र तेल खरिद गर्ने गरेका छन्। पर्यटकहरु पनि परम्परागत तरिकाले उत्पादन हुने तेल हेर्न पुग्छन्। तर, स्थानीय भने तोरीको खेती कमी भइरहेको र उब्जाउ जमिन साँघुरिँदै गएको बताउँछन्।
शंकर भन्छन्,' पहिला यहीको तोरीले पुग्थ्यो। अहिले विदेशमा भर पर्नुपर्छ। खेती गर्ने जमिन नै नरहे तेलका कारण चिनिएको खोकनाको पहिचान मेटिएला कि भन्ने डर उत्तिकै छ।'