PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

ललिता निवास प्रकरण : अनुसन्धानका लागि ८९ जनालाई अख्तियारले बोलायो



पहिलोपोस्ट

ललिता निवास प्रकरण : अनुसन्धानका लागि ८९ जनालाई अख्तियारले बोलायो

काठमाडौं : बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८९ जनालाई छानविनका लागि कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ।

अनुसन्धान आयोगले बुधवार ८६ जनालाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो। त्यस्तै, बिहीवार थप तीन जनाको नाममा गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सात दिन भित्र अख्तियारको कार्यालयमा उपस्थित हुन भनेको छ।

ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुको समेत मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्तिको नाममा पारिएको विषयमा अनुसन्धान गर्नका लागि अख्तियार सार्वजनिक सूचना जारी गर्दै ८९ जनालाई एक साता भित्र आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। 

सरकारले कानुन बमोजिम मुआब्जा दिइ अधिग्रहण गरिएको हाँडीगाउँ मौजा हा नं ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने सो जग्गा विभिन्न मितिमा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्तिलाई फर्ता दिई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरिएको भन्दै सरकारले गठन गरेको छानविन समितिले फिर्ता लिन सुझाब सरकारलाई दिएको थियो।

यो जग्गा प्रकरणमा ने क पाका महासचिव विष्णु पौडेल मुछिएपछि आलोचना हुँदै आएको छ। प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा सार्दै महासचिव पौडेलका छोरा नविनको नाममा ८ आना जग्गा रहेको छ। नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गा रहेको छ।

२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको जग्गा डिल्लीबजार मालपोत कार्यालयबाट नविन पौडेलको नाममा दर्ता पास भएको थियो। पौडेलले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको उनको श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको दाबी गर्दै आएका छन्। 

यद्यपि, अख्तियारले अनुसन्धानका लागि सूचना प्रकाशित गरी बोलाएको व्यक्तिको सूचीमा नविन पौडेलको नाम भने समावेश छैन। 
अख्तियारको सूचनामा पौडेललाई जग्गा बेच्ने उमाकुमारी ढकाललाई भने बोलाइएको छ। साथै उनका पति शोभाकान्त ढकाललाई पनि अनुसन्धानका लागि बोलाइएको छ। त्यस्तै शोभाकान्त ढकालकी छोरी लक्ष्मी ढकाललाई पनि अनुसन्धानका लागि बोलाइएको छ। 
त्यतिबेला जग्गा पास गर्न सहयोग गर्ने मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख उपसचिव हुपेन्द्रमणि केसी समेतलाई पनि सात दिनभित्र उपस्थित हुन सूचना जारी गरिएको छ।

त्यस्तै, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, डिएफएल डेभलपर्सका सञ्चालक कैलाशचन्द्र गोयललाई पनि अनुसन्धानका लागि भन्दै अख्तियारले आयोगको कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको हो।

बिहीवार अख्तियारले जारी गरेको सूचनामा डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी र हुपेन्द्रमणि केसीलाई सात दिनभित्र उपस्थित हुन भनिएको छ। यिनीहरुको निवासमा केही दिनअघि पूर्जी टाँसिएको थियो। जसमध्ये सुवेदी मालपोत कार्यालय डिल्लीबजारमा लेखापढी गर्ने लेखन्दास हुन्। 

अनधिकृत रूपमा व्यक्तिका नाममा फिर्ता गरिएको बालुवाटारको जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा दोषीमाथि भ्रष्टाचार निवारण र अख्तियार ऐनबमोजिम कारबाही गर्न अख्तियारले अनुसन्धान अघि बढाएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell