
काठमाडौं : आइसीसी टी २० विश्वकप क्रिकेटको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग दुई वटा टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ।
जुलाईमा नेपाल र मेलसियाबीच दुई पक्षीय टी २० सिरिज हुन लागेको हो।
मलेसिया क्रिकेटका अनुसार नेपाल र मेलसियाबीचको खेल जुलाई १३ र १४ मा किनरार ओभल मैदानमा हुनेछ।
हाल नेपाल टी २० छनोटको लागि बन्द प्रशिक्षणमा छन्। नेपाली टोली सिंगापुरमा हुने उक्त छनोटअघि मलेसियामा प्रशिक्षण गर्न जाने यसअघि नै तय भइसकेको थियो। त्यही बेला नेपालले मलेसियासंग खेल्न लागेको हो।
गत माघमा युएईसंग ३ खेलको टी २० आई सिरिज खेलेको नेपालले करिब ६ महिनापछि अर्को सिरिज खेल्न लागेको हो।
उक्त सिरिजपछि नेपाली टोली उतैबाट सिंगापुर जानेछ।
अहिले २५ खेलाडी राष्ट्रिय टिमको अन्तिम सूचीमा पर्नको लागि बन्द प्रशिक्षणमा व्यस्त छन्।
जुलाई २२ देखि २८ सम्म नेपालसहित ५ राष्ट्रले टी २० विश्वकप एसिया छनोट खेल्दैछ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्। नेपालले पहिलो खेल जुलाई २३ मा कतारसँग खेल्नेछ।
यस्तै नेपालले दोस्रो खेल मलेसियासँग जुलाई २४ मा, तेस्रो खेल कुवेतसँग जुलाई २७ मा र चौथो खेल सिंगापुरसँग जुलाई २८ मा खेल्नेछ।
शीर्ष स्थानमा रहने एक टिम टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।
ग्लोबल छनोट अक्टोवर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ।