
आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी राष्ट्र अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ।
प्रतियोगितामा चौथो जित हासिल गरेको पाकिस्तान ८ खेलबाट ९ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ। यस जितपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई अंक तालिकामा १ अंकले पछि पारेको छ। पाकिस्तानले अब लिग चरणमा बंगलादेशसँग अन्तिम खेल खेल्न बाँकी छ। उक्त खेल जितेमा र अन्य खेलको नतिजाले साथ दिएमा पाकिस्तान शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ।अफगानिस्तानको यो लगातार आठौँ हार हो।
अलराउण्डर इमाद वासिमले नटआउट ४९ रन बनाएपछि अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पाकिस्तानले २ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि बाबर अजामले ४५ र इमाम उल हकले ३६ रनको योगदान गरेको थियो।
अफगानिस्तानलाई २२७ रनमा रोक्ने क्रममा पाकिस्तानका शाहिन शाह अफ्रिदीले बलिङमा ४ विकेट लिएका थिए।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले दोस्रो बलमै ओपनर फकर जमानलाई गुमाएको थियो।
टिमले रनको खाता नखोल्दै जमनलाई मुजिव उरहेमान आउट गरेपछि पाकिस्तानलाई सुरुमै झड्का लागेको थियो। तर दोस्रो विकेटका लागि इममा उल हक र बाबर अजामले ७२ रनको साझेदारी गरे। त्यसपछि अफगानिस्तानका मोहम्मद नावीले लगातार इमाम र बाबरलाई आउट गरेपछि पाकिस्तानले ८१ रन हुँदा ३ विकेट गुमायो। इमामले ३६ र बाबरले ४५ रन बनाए।
जमानलाई आउट गरेका मुजिव उर रहेमानले ३०औँ ओभरमा मोहम्मद हाफिजलाई आउट गरेपछि पाकिस्तानले १२१ रनमा चौथो विकेट गुमायो।
त्यसपछि हरिस सोहेल २७ रन बनाएर आउट भए भने कप्तान सर्फराज खान रनआउट भए। ३९औँ ओभरमा १५६ रन हुँदा सर्फराज रनआउट भएपछि पाकिस्तानले छैटौँ विकेट गुमाएको थियो।
तर सातौं विकेटका लागि इमाद वासिम र शदाब खानले ५० रनको महत्वपूर्ण साझेदारी गरे। ४७औँ ओभरको चौथो बलमा शदाब रनआउट भएपछि पाकिस्तानले सातौं विकेट गुमायो।
तर इमाद वासिमले एक छेउबाट इनिङ्स सम्हाल्दै पाकिस्तानलाई जितसम्म पुर्याए। अफगानिस्तान विकेट झार्दै पाकिस्तानालाई दबाबमा राखेपनि खेल फिनिस गर्न नसक्दा पहिलो जितबाट चुक्यो।
इमादले नटआउट ४९ रन बनाउँदै पाकिस्तानलाई जित दिलाए। उनले ५४ बल खेल्दै ५ चौका प्रहार गरे।
अफगानिस्तानका लागि उत्कृष्ट बलिङ गर्दै मोहम्मद नावीले २ विकेट लिए। उनले १० ओभरमा २३ रन मात्र खर्चिए। मुजिव उर रहमानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो। अफगानिस्तानको लागि अस्गर अफगान र नजिबुल्लाह जद्रानले ४२-४२ रन बनाए। यस्तै रहेमत शाहले ३५ तथा इक्रिम अलि खिलले २४ रन जोडे।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट लिएका हुन्। इमाद वासिम र वाहव रियाजले २-२ तथा शदाब खानले १ विकेट लिए।