
एलेक्स केरी र उस्मान खवाजाको शतकीय साझेदारीपछि मिचेल स्टार्कले शानदार बलिङ गर्दै ५ विकेट लिँदा आइसीसी विश्वकप क्रिकेट २०१९ मा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ।
अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड स्टार्कको धातक बलिङपछि ४३.४ ओभरमा १५७ रनमै अलआउट भयो।
यस जितपछि ८ खेलबाट १४ अंक जोडेको अष्ट्रलिया शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ भने लिग चरणमा शीर्ष दुईमा रहने पक्का भएको छ। उता ६ खेलसम्म अपराजित न्यूजिल्याण्ड लगातार दोस्रो हारपछि ८ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा छ। अब सेमिफाइनल पुग्न न्यूजिल्याण्डले इंग्ल्याण्डविरुद्धको खेल जित्नैपर्ने वा कम्तीमा पनि १ अंक आवश्यक छ।
न्यूजिल्याण्डका कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए। यस्तै रोस टोलर ३०,मार्टिन गुप्टिलले २०, टम लाथमले १४ र मिचेल सेन्टनर १२ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
किवी टोलीलाई कम स्कोरमा अलआउट गर्न घातक बलिङ गरेका स्टार्कले १० ओभरमा १ ओभर मेडन राख्दै २६ रन मात्र खर्चेर ५ विकेट लिए। यस विश्वकपकमा स्टार्को यो दोस्रो ५ विकेट हो भने यो उत्कृष्ट बलिङ प्रदर्शन समेत हो।
न्यूजिल्याण्डविरुद्ध ५ विकेट लिएपछि स्टार्कको विकेट संख्या २४ पुगेको छ र अब उनी एकै विश्वकपमा सर्वाधिक विकेट लिने आफ्नै देशका ग्लेन म्याग्राभन्दा मात्र २ विकेट टाढा छन्। म्याग्राले २००७ को विश्वकपमा २६ विकेट लिएका थिए।
यस्तै अष्ट्रेलियाका लागि जासोन बेहरोनडपले २, प्याट कमिङ, नाथन लियोन र स्टिभ स्मिथले १-१ विकेट लिए।
त्यसअघि लर्ड्समा कप्तान आरोन फिन्चले टस जितेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो।
न्यूजिल्याण्डका बलरले सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर विकेट लिँदा अष्ट्रेलिया २१.३ ओभरमा ९२-५ को कठिन स्थितिमा थियो। तर उस्मान खवाजा र एलेक्स केरीले छैटौँ विकेटका लागि शतकीय साझेदारी गर्दै इनिङ्स उकासे।
१०७ रनको साझेदारी गरेपछि केरी ४३औँ ओभरमा आउट भए। उनले ७२ बल खेल्दै ११ चौकाको मद्दतमा ७१ रन बनाए। अष्ट्रेलियाको इनिङ्सलाई एक छेउबाट साथ दिएका खवाजाले ८८ रन बनाए। उनले १२९ बल खेल्दा ५ चौका प्रहार गरे।
अन्तिम ओभरमा अष्ट्रेलियाले खवाजासहित ३ विकेट गुमायो। न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले लगातार ३ विकेट लिँदै ह्याट्रिक पुरा गरे। उनले ५०औँ ओभरको तेस्रो बलमा खवाजा, चौथो बलमा स्टार्क र पाँचौ बलमा जासोन बेहरोनडपलाई लगातार आउट गर्दै ह्याट्रिक विकेट लिए। उनी विश्वकपमा ह्याट्रिक विकेट लिने न्यूजिल्याण्डका पहिलो खेलाडी समेत बने।
बोल्टले ह्याट्रिकसँगै १० ओभरमा १ मेडन ओभर राख्दै ५१ रन खर्चेर ४ विकेट लिए। यस्तै लकी फर्गुसन र जेम्स निशमले २-२ तथा कप्तान केन विलियमसनले १ विकेट लिए।