
चालु वर्षमा सुरु गर्ने/नगर्ने भन्ने दुविधामा अघि बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामा विभिन्न टिप्पणी भइरहेका छन्। आर्थिक वर्षको अन्त्यमा सुरु गरिएको यो कार्यक्रम प्रभावहीन भएको विपक्षी दल लगायतका टिप्पणी गरिरहेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री रोजगार कार्याक्रमका तस्विर भन्दै जनप्रतिनिधिहरुले नै सार्वजनिक गरेका तस्विरहरुको आलोचना हुँदै आएको छ। सामान्य सडक सफा गरेका, गोरेटो बाटो बनाएका, मकै खनेका तस्विर सामाजिक सञ्जालमा आइरहेका बेला दोलखाको शैलुङ गाउँपालिका वाड न १ दुधपोखरीमा निर्माण भइरहेको सडकको तस्विर भाइरल भइरहेको छ। उक्त कामको प्रशंसा भइरहेको छ। अन्यत्र 'झाडी सफा गर्न, मकै खन्न' उपयोग भएको कार्यक्रम तपाईँले चाहिँ किन सडक बनाउन उपयोग गर्नुभयो? गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालसँग पहिलोपोस्टका विधुर ढकालले गरेको कुराकानी-
प्रधानमन्त्री रोजगार कार्यक्रमले अन्यन्त्र झाडी सफा गर्ने, मकै खन्ने, गोरेटो बाटो सफा गर्ने काम गरिरहँदा तपाईँले चाहिँ किन सडक बनाइरहनु भएको छ? अलि नमिलेजस्तो लाग्दैन?
हाम्रो गाउँपालिका विकासमा पछाडि परेको छ। हाम्रो पहिलो प्राथमिकता भनेकै सडक हो। सडक नहुँदा हामी विकासमा पनि पछाडि पर्यौँ। त्यसैले हामीले प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा सडक निर्माणमा खर्च गरेका हौँ। कार्यक्रम अन्तर्गत हामीलाई २९ लाख निकासा हुने थाहा पाएपछि हामीले सबै वडाहरुलाई बराबर रुपमा पैसा दिने गरी सडकको काम अगाडि बढाउन भनेका हौँ। रोजगार संयोजकले तोकेको मापदण्ड अनुसार रहेर इन्जिनियरहरुले सडकको डिजाइन गरेअनुसार काम भइरहेको छ। अहिले सबै वडामा कार्यक्रम अन्तर्गत सडकको भइरहेको छ। हामीले सबैभन्दा राम्रो काम हुने वडालाई सम्मानित गर्ने भनेका छौँ। सबैले राम्रो काम गरिरहनुभएको छ। १ नम्बरमा अली बढी राम्रो काम भइरहेको छ।
रोजगार कार्यक्रममा आफ्नामात्र दलका कार्यकर्तालाई काम दिएको आरोप अन्यत्र लागिरहेको छ। तपाईँकोमा के छ?
हाम्रोमा त्यस्तो छैन। हामीले सुरुमा फारम भराएका थियौँ। कसैले कृषिमा कसैले निर्माण कसैले के मा फारम भर्नुभएको थियो। हामीले हाम्रो आवश्यकताअनुसार सबैलालाई सडकमै काम लगाएका हौँ। ८ वटा वडामध्ये ६ वटा वडामा ने क पाका वडाध्यक्ष हुनुहुन्छ, दुईवटा वडामा नेपाली कांग्रेसको वडाध्यक्ष हुनुहुन्छ। सबै वडामा बराबर रकम पठाइएको छ। वडाध्यक्षहरुलाई नै यसको जिम्मेवारी दिएका छौँ। उहाँहरुले फारम भरेका सडक बनाउन इच्छुकलाई काम लगाउनु भएको छ। त्यस्तो आफ्नालाई दिएको भन्ने हाम्रोमा छैन।
रोजगार कार्यक्रमको खर्च अनावश्यक भएको भनेर आलोचित छ। स्थानीय स्तरमा सामुदायिक रुपमा गरिने कार्यक्रमलाई रोजगारको नाम दिइएको छ भनिन्छ। के यस्तै भइरहेको छ?
त्यस्तो होइन। सडक निर्माण सबैभन्दा महंगो निर्माण हो। हाम्रो प्राथमिकता पनि सडक हो। हाम्रोमा अहिलेसम्म सात मिटरको डेड सय किलोमिटर चौँडा सडक बनेका छन्। त्यस्तै गाउँपालिकामा शैलुङ चक्रपथ बनाउने गरी ट्र्याक खोल्ने काम भइरहेको छ। करिब ७५ किलोमिटर सडकको ९० प्रतिशत ट्र्याक खोलिएको छ। बाँकी काममा हामीले नसक्ने चट्टानसहितका क्षेत्र भएकाले केन्द्र सरकार र प्रदेश सरकारलाई सहयोगका लागि भनेका छौँ। माथिबाट सहयोग आएपछि। हामीले मात्र गरेर हुँदैन। हामीले निर्माण गर्ने हो। संरक्षण गर्न स्थानीयलाई नै भनेका छौँ। तपाईँहरुले नै यसको संरक्षण गर्ने हो भनेर भनेका छौँ।
यो कार्यक्रम रोजगार सिर्जनामा साच्चिकै सहयोगी भएको छ?
हामीले हाम्रो विकासलाई अगाडि बढाउने हो। यसको लागि जनशक्ति पनि आवश्यक हुन्छ। पहिलो चरणको रोजगार कार्यक्रमले हामीलाई विकासमा सहयोग पुर्याएको छ। अब अर्को चरणमा आउँदा केही सुधार गर्नुपर्ला। युवाहरुलाई नेपालमै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ। यो साँच्चिकै रोजगारी सिर्जना गर्न सहयोगी छ।
सडक बनाएका फोटा सामाजिक सञ्जालमा चर्चामा छन्। ७५३ स्थानीय तहमा कार्यक्रम सञ्चालित छ। कामबारे उत्तिकै आलोचना पनि छ। तपाईँले त कार्यक्रमकै 'नाक' जोगाइदिनु भयो भनेर चर्चा छ। नेताहरुले पनि त बधाई दिए होलान है?
अहिलेसम्म फोन त व्यक्तिगत रुपमा आएको छैन। तर, सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया आइरहेको छ। मैले कमेन्टहरु पनि हेरिरहेको छु। सकरात्मक प्रतिक्रिया पाइरहेको छ। यसले थप काम गर्न हौसला प्राप्त भएको छ।
पालिकाको बजेट तथा कार्यक्रम चाहिँ कस्ता बनाउनु भएको छ?
मैले अगाडि नै भने हाम्रो प्राथमिकता भनेको सडक नै हो। सडक नहुँदा नै हामी पछाडि परेका हौँ। हामीले यसपटकको बजेटमा पनि सडकलाई प्राथमिकतामा राखेका छौँ। सडक भयो भने हाम्रो पचास प्रतिशत गरिबी निर्मूल हुन्छ। हामीले मुडेको आलु भन्छौँ। त्यो पनि शैलुङकै आलु हो। सडक नहुँदा हामीले कृषि उत्पादनलाई शहरसम्म पुर्याउन सकेका छैनौँ। हाम्रा उत्पादनले बजारसम्म पहुँच पाए भने थप रोजगारी तथा स्वरोजगारी सिर्जना हुन्छ।
मुडे–बाघखोर–ढुङ्गे सडकलाई पिच गर्दै कालापानीसम्म स्तरीय सडक पुर्याउने, मुडे–भैसे गाउँपालिकाको केन्द्रदेखि वडा केन्द्रसम्म जोड्ने सबै सडकहरुलाई सर्वयाम यातायातका साधनहरु चल्ने बनाउने गरी कार्यक्रम तथा बजेट तयार गरेका छौँ।
त्यसै पर्यटकीय दृष्टिले पनि हाम्रो सम्भावना बढी छ तर यातायात र सडक नहुँदा हामी पछि परेका छौँ। त्यसैले हाम्रो प्रमुख प्राथमितका सडक नै हो।