PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

शान्ति ठटालको स्वरमा गुञ्जियो 'मुना मदन'



पहिलोपोस्ट

शान्ति ठटालको स्वरमा गुञ्जियो 'मुना मदन'

नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा यसपटक संगीतकार शान्ति ठटालले मुना मदनलाई गीति शैलीमा प्रस्तुत गरिन्।

ठटालले सन् १९७७ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना-मदनमा पहिलोपटक संगीत भरेकी थिइन्। उनकै अगुवाइमा गान्तोकमा यसको प्रदर्शन पनि भएको थियो।

गीति-नाटककै स्वरुपमा प्रदर्शित भएको सो कृतिका धुनको अभिलेख भने थिएन। ठटालले मुना-मदनका पुराना धुनलाई परिमार्जन गर्दै पलेँटी टीमका साथ प्रस्तुत गरेकी हुन्।

दुई भागमा विभाजन गरि संचालन भएको पलेँटीको पहिलो चरणमा ठटालको गायन यात्राको चर्चा गर्दै मीना निरौलाले ठटालका पुराना गीत सुनाएकी थिइन्।

दोस्रो चरणमा ठटालले मुना-मदनलाई पहिलाको भन्दा परिमार्जन गर्दै प्रस्तुत गरेकी थिइन। सिक्किममा रहेर परिमार्जन गरिएको यो धुनमा मुना-मदनको झ्याउरे भाकाको लोकप्रिय शैलीकै झलक रहेको छ। नारायण गोपालले आफैँले धुन भरेर गाएको मुना-मदनमा पनि झ्याउरे भाकाको उही लोक शैलीको रङ्ग समेटिएको पाइन्छ। 

पलेँटीमा ठटालको धुनमार्फत् प्रस्तुत भएको मुना-मदन कथा वाचन शैलीमा प्रस्तुत गरिएको थियो। त्यसैले मुना-मदनलाई चरित्र केन्द्रीत नगरी कथा वाचनको रुप प्रदान गरिएको थियो। प्रस्तुति र कथालाई एकसाथ समेट्नका निम्ति भूषिता वशिस्ठले सूत्रधारको भूमिका निभाएकी थिइन्।

भूषिताले महाकवि देवकोटाले नेवारी लोक रचनाबाट प्रभावित भएर रचेको मुना-मदनको सन्दर्भलाई भोटतिर नजोडी अहिले खाडी मुलुकतिर जोड्यो भने यो कथा अहिले पनि उत्तिकै सान्दर्भिक हुने बताएकी थिइन्। मुना मदनका धुन भरिएका हरफहरूलाई बिमला सेञ्चुरि प्रधान, मीना निरौला, बलराम समाल र आभासले स्वर दिएका थिए।

पलेँटीको वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर कुमार महर्जन रहेका थिए।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell