PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

युवतीको शरीरमा ‘तिखो बस्तुले घोच्ने’ प्रकरणमा एक्ला अभियुक्त सन्तोष कि अरू पनि ?



सविन ढकाल

युवतीको शरीरमा ‘तिखो बस्तुले घोच्ने’ प्रकरणमा एक्ला अभियुक्त सन्तोष कि अरू पनि ?

काठमाडौँ: एक युवकले बाटोमा हिँडिरहेकी युवतीलाई सिरिन्ज घोचेर भाग्यो। प्रहरीमा अचानक आएको सूचनाले प्रहरीलाई एक्सनमा उत्रिन बाध्य बनायो। महाजगञ्जमा एक युवतीमाथि आक्रमण भएको सूचना आएको थियो।


प्रहरी टोली घटनास्थलमा पुग्यो। ‘प्रहरी पुग्दा एक युवती मरेँ, मरेँ भन्दै रोइरहेकी थिइन्,’ महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले सुनाए। केही महिनादेखि राजधानीमा ‘सिरिन्ज आक्रमण’ भनेर आतङ्क नै फैलिएको थियो। पाँचजना युवती आक्रमणमा परिसकेको जानकारी प्रहरीमा थियो। आक्रमणको घटना बढ्दै गएकोले सिरिन्ज प्रहार गर्नेलाई कानुनको कठघरामा ल्याउने चुनौती प्रहरी सामु थपिएको थियो।
घटनास्थलमा पुगेर प्रहरीले विवरण उठायो। युवतीले आफू सडकमा हिँडिरहेको बेला विपरीत दिशाबाट आएको युवकले सिरिन्ज हानेको बयान दिइन्। ‘ हामीले उनको सबै अवस्था हेरेका थियौँ। हातमा केही कोतरिएको थियो,‘ डिएसपी बोगटीले भने।


प्रहरीले घटनाको अनुसन्धान गर्‍यो। तर निष्कर्ष निस्कियो सिरिन्ज प्रहार होइन रहेछ। बाटोमा हिँड्दा युवकको हातमा लगाएको औँठीले कोतरिएको प्रहरीले निष्कर्ष निकाल्यो। ‘ सिरिन्ज होइन, त्यो औँठीले कोतरिएको भेटियो,‘  बोगटीले भने।
राजधानीमा मात्र होइन। काभ्रेमा समेत सिरिन्ज आक्रमण भएका समाचार आए। महिला तथा युवतीलाई सडकमा हिँड्न डराउनु पर्ने अवस्था सृजना हुनलाग्दै थियो। गत बिहीबार राति प्रहरीले सिरिन्ज आक्रमण गरेको अभियोगमा रामेछापका ३० वर्षे सन्तोष कार्कीलाई नियन्त्रणमा लियो।


शुक्रवार बिहान प्रहरीले कार्कीलाई सार्वजनिक गर्‍यो। प्रहरीका अनुसार कार्कीले सिरिन्ज नभएर ढलान किलाले घोचेको प्रहरीमा बयान दिए। कार्कीले आफूले मजा लिन यस्तो हर्कत गरेको समेत स्विकार गरेको प्रहरीले पत्रकार सम्मेलनमा नै जानकारी गरायो। सङ्क्रमण रोगको भयमा रहेका पीडितलाई अभियुक्तको बयानले केही राहत मिल्यो। तर अझै के हो भन्ने खुल्न सकेको छैन।


पीडित महिला तथा युवतीलाई अहिले हेपटाइटिस्ट बी विरुद्धको भ्याक्सिन लगाइएको छ र एचआइभी परीक्षण गरिएको छ। यसको रिपोर्ट आउन समय लाग्ने सिरिन्ज कि किला खुल्न सकेको छैन। ‘हामी पनि अभियुक्तको भनाइमा विश्वास गर्ने पक्षमा छैनौं। हाम्रोतर्फबाट पनि अनुसन्धान गरिरहेका छौँ,‘ डिएसपी बोगटीले भने।
राजधानीमा भएका घटना आफूले नै गरेको कार्कीले स्विकार गरेपछि प्रहरी निर्धक्क भयो। अब राजधानीमा यस्ता घटना घट्ने छैनन्।
तर…….

प्रहरीले शुक्रवार बिहान सिरिन्ज आक्रमणका अभियुक्त भनेर एकजनालाई सार्वजनिक गर्दैथियो। उता अभियुक्त प्रहरीको हिरासतमै भएको बखतमा सिरिन्ज आक्रमण भएको भन्दै अर्को उजुरी आयो। महानगरीय प्रहरी वृत्त किर्तिपुरमा १२ वर्षीय बालिकामाथि सिरिन्ज आक्रमण भएको जानकारी आएको थियो। पीडितको बयानको आधारमा प्रहरीले अर्का अभियुक्तको खोजी गरिरहेको छ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले दिएको जानकारी अनुसार बालिकाको पिडुलामा घाउ देखिएको छ। सिरिन्ज आक्रमण हो वा अरू केहीले आक्रमण गरेको भन्ने खुलेको छैन। आइतबारसम्म प्रहरीले बालिकाले दिएको हुलियाको आधारमा खोजी गरिरहेको छ। ‘ हामीले मकैबारी क्षेत्रमा आज पनि खोजी गरेका छौँ। सिरिन्ज हो वा के हो अनुसन्धान भइरहेको छ,’ डिएसपी कामतीले भने।
प्रहरीले बिहिवार राति पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेका सन्तोष नै एक्ला अभियुक्त भएर किर्तिपूरको घटना कसरी भयो? किर्तिपुरमा घटना हुँदा अभियुक्त सन्तोष प्रहरीको हिरासतमा थिए। वा बालिकामाथिको प्रहार सिरिन्ज, ढलान किला होइन?  
‘ यो घटनापछि धेरै युवतीहरू शरीरमा देखिएको आलो दागलाई आक्रमण गरेको भनेर पनि आएका थिए। तर पछि पुष्टि भएन। धेरै डर र हल्लाले पनि यस्तो भएको देखिन्छ,‘ डिएसपी बोगटी भन्छन्।
केटी प्रति आकर्षण
बा ४७ प १३३१ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका रामेछापका ३० वर्षे सन्तोष कार्कीले आफूले मजा लिनको लागि आक्रमण गर्ने गरेको बयान प्रहरीमा दिएका छन्। केही वर्ष खाडी मुलुकमा बसेर फर्किएका कार्की दाइसँग मिलेर महारगजगञ्जमा रेष्टुराँ चलाउँदै आएका थिए। विवाहित कार्कीका दुई छोराछोरी छन्।


उनले केटीप्रति अलि बढी नै झुकाव राख्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। केटीलाई बढी नै जिस्काउने, उनीहरुसँग समय बिताउने जस्ता गतिविधि गर्ने गरेको अनुसन्धानबाट खुलेको बोगटीले बताउँछन्। कार्कीकी श्रीमती भने गाउँमा बस्दै आएकी छिन्।
कार्कीको कसुर अदालतबाट प्रमाणित भए १० बर्ष  जेल सजायदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीको दाबी छ। प्रहरीले कार्कीको शरीरमा सङ्क्रमण सार्ने किसिमको कुनै रोग भए नभएको पत्ता लगाउन रगतदेखि अन्य परीक्षण गर्न समेत पठाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell