PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

नेपाली संगीतमा स्थान खोज्दै दीपंकर मुखिया:  '२० वर्ष अघि काठमाडौंमा संघर्ष गर्न सकिन, पछि परेँ अब चाँहि गर्छु'



मन्दिरा खत्री

नेपाली संगीतमा स्थान खोज्दै दीपंकर मुखिया:  '२० वर्ष अघि काठमाडौंमा संघर्ष गर्न सकिन, पछि परेँ अब चाँहि गर्छु'

भारतका पूर्वोत्तर राज्यमा नेपाली भाषीहरुको बाहुल्यता छ। धर्म संस्कृति नेपालीसँग समान दसैँ तिहारको उस्तै रौनक। नेपालमा जस्तै त्यता पनि देउसी खेलिन्छ। २० वर्ष अगाडि भर्खर जुँगाको रेखी बसेको थियो दिपंकर सिंह मुखियाको।

साथीभाइसँग तिहारमा देउसी खेल्थे। गाउँ गाउँ पुग्थे। देउसी–भैलो खेल्दा साथीहरुले भन्थे, ‘तेरो स्वर राम्रो छ गीत निकाल् न।’ यसैले हौसायो। २० वर्ष अगाडि १९९८/९९ मा गीत निकाल्नकै लागि काठमाडौं आए। भाषा संस्कृति एउटै भए पनि काठमाडौंलाई भने उनले अंगाल्न सकेनन्। उनी सिक्किम नै फर्किए। ‘सायद त्यतिबेला मलाई समयले साथ दिएन। भाषा त आफ्नै थियो। तर ठाउँ फरक। एक्लै बसेर संर्घष गर्न सकिनँ। आँट नै आएन र आफ्नै ठाउँ फर्किएँ,’ साता अगाडि नेपालमा आफ्नो गीत सार्वजनिक गर्नकै लागि काठमाडौं आएका मुखियाले ती दिन सम्झिए, ‘सायद म त्यतिबेलै यता बसेको भए सबैले चिन्थे। त्यतिबेला संघर्ष गर्न डराएँ। अलि कन्फिडेन्ट पनि थिइनँ।’ उनी १९९२ मा पहिलोपटक नेपाल आएका थिए।

‘हामी भारतमा बसेको भारतमा नै हुर्केको मान्छे, यहाँ हामीलाई अलिकति भाषिक लवजमा पनि समस्या हुन्छ। शुरुवाती दिनमा त भाषा नबुझेर निकै गाह्रो हुन्थ्यो,’ उनी सम्झिन्छन्।

त्यतिबेला दार्जिलिङ सिक्किममा नेपाली भाषाका सञ्चार माध्यम थिएनन्। एफएम रेडियो पनि पुग्दैनथे। पुगे पनि राम्रो सुनिँदैनथ्यो। बज्थ्यो त अल इण्डिया रेडियो। तर भाषा हिन्दी। कसैले सुन्दैनथे।  ‘रेडियो नेपाल पुग्दैनथ्यो। अल इण्डिया रेडियोमा स्थान पाउन मुस्किल थियो,’ उनी सम्झिन्छन्, ‘गीत गाउन तर गाउने कसका लागि गाउने? श्रोता खोज्दै काठमाडौं आइपुगेको थिएँ।’

उनले 'चक्रब्युह' एल्बम निकालेका थिए। त्यही एल्बमले उनलाई नेपाली चलचित्रमा गीत गाउन र संगीत भर्न अवसर भने दियो।

सन् २००१ मा रिलिज भएको ‘स्वार्थी संसार’ (चक्रब्युह एल्बम)ले नै मलाई गायकको रुपमा चिनायो। ‘स्वार्थी संसार मेरो पहिलो रेर्कडेड गीत हो। तर स्वार्थी संसारभन्दा पनि ‘यो साँझ’ भन्ने गीत बढी चर्चित भयो,’ आफ्नो पहिलो एल्बमका गीत सम्झिन्छन् उनी, ‘तर, मेरो आफ्नै शब्द संगीत र स्वरमा गीत रेकर्ड गराउन अर्को पाँच वर्ष कुर्नुपर्‍यो।' यो साँझ’ उनकै शब्द, स्वर  र संगीतमा रेकर्ड भएको पहिलो गीत हो।

पहिलो पटक मैले नेपाली फिल्ममा ‘तिमी र म’ को शिर्ष गीत गाएँ। त्यसपछि उनले नेपाली चलचित्रमा गीत संगीतमा काम गर्ने अवसर पाए। ‘मेरो टर्निङ प्वाइन्ट नै तिमी र म नै हो। सुरुमा गीतको म्यूजिक भिडियो बनाउने कुरा थियो पछि चलचित्रकै शीर्ष गीत बन्यो,’ उनी भन्छन्, ‘त्यसपछि त फिल्मका गीत लेख्ने संगीत भर्ने र गाउने पनि काम आउन थालेँ। अभिनय पनि गरेको छु। तीनवटा चलचित्रमा।’ उनी चलचित्र तिमी र म, मल रोड र गेममा खलपात्रको भूमिकामा देखिएका छन्। अरु दुई चलचित्रको तयारीमा छन् अहिले उनी।

सानै देखि नै गीत गाउन थालेका उनको ‘फ्रेण्डस् सर्कल’ ब्याण्ड नै थियो। उनलाई यही ब्याण्डले सिक्किम दार्जिलिङतिर चिनाउने काम गर्‍यो। गायक संगीतकार र गीतकारको पनि परिचय दिलायो। भारतमा भारतीय गीत संगीतको बोलावाला छ। नेपाली भाषी गायक गायिकाको मुख्य श्रोता भनेकै नेपाली हुन्। उनले हिन्दी गीत नगाए पनि शब्द र संगीत भनेका दिएका छन्। दिवाकर प्रधानको ‘ख्वाइस’ (हिन्दी एल्बम)मा उनको शब्द र संगीत छ। ‘म भिजेको हिन्दीमा भन्दा पनि नेपालीमै हो। मैले नेपालीमै केही गर्नुछ,’ उनी भन्छन्, ‘म नेपाली गीत सुन्दै हुर्किएको हुँ।’ तोपदेन भुटिया, सुरेश कुमार, नविन के भटराई, अनिल सिंह, सबिन राईका गीत सुन्दै हुर्किएको उनी बताउँछन्।

दुई साता लामो नेपाल बसाई सकेर सिक्किम फर्किएका उनले नेपालमा ‘कहानी’ रिलिज गरे। कान्तिपुर एफएम र हिट्स एफएमबाट गीत रिलिज गरेर फर्किएका उनी गीत रिलिज गर्नकै लागि काठमाडौं आएका थिए।

लामो समय संगीतमा रहे पनि कमै सुनिने नाम बनेकोमा दीपंकर आफूलाई केही दुःखी महसुस भने गर्दैछन्। ‘मेहेनत गर्दा पनि चर्चामा नआउनुले एकदम नराम्रो महसुस गराउँछ। 'चर्चामा भन्ने कुरा कस्तो भने दार्जीलिङमा त धेरै मानिसले मलाई चिन्नुहुन्छ। एक समय थियो मलाई कसैले चिन्दैन्थ्यो । तर आजको दिनमा १५ जना श्रोताहरुमा दुईजना तिनजनाले मलाई कम्पलिट्ली संगीतकारको रुपमा चिन्नुहुन्छ। त्यो देख्दा खुसी लाग्छ। त्यो चाहिँ मेरो अलिकति अचिभमेन्ट नै हो। काठमाडौंमा पनि म र मेरो गीत संगीतलाई दर्शकहरुले बिस्तारै रुचाउन थाल्नु भएको छ,’ उनी भन्छन्, ‘यदि २० वर्ष अगाडि नै मैले संघर्ष गर्ने आँट गरेको भए अहिले यस्तो भन्नु पर्दैनथ्यो होला।’

जीउनकै लागि व्यवसाय

आफूलाई  'फुल टाइम' संगीतकार ठान्ने दीपंकर व्यवसायमा पनि जोडिएका छन्। उनको सिक्किममै रेष्टुराँ छ, ‘सर्कल’। यही रेष्टुराँले उनको परिवार चलेको छ। ‘तर, म्युजिकमा म पार्ट टाइमर होइन। फुल टाइमर हो। रेष्टुराँले खर्च पर्च निकाल्नै पर्छ, म्युजिक चाँहि जिन्दगी हो,’ उनले अंग्रेजीमै भने, ‘म्युजिक इज टु लिभ माई लाइफ एण्ड रेष्टुरेन्ट इज टु सर्भाइभ माई लाइफ।’

उनी काठमाडौंमा आउँदा भाइ र बुबालाई यसको जिम्मा लगाएर आएका थिए। ‘सर्कलले नै घर परिवारको गुजारा लगाइरहनु भएको छ,’ उनी भन्छन्, ‘सिक्किममा रेष्टुराँ हेरिदिने मान्छे कोही हुँदैन। कुनै बेला बुवालाई बोलाएर राख्नुपर्छ अहिले त भाइ र स्टाफहरु छ हेरिदिने। त्यहि पनि दिनरात फोन गरेर सोध्नुपर्छ रेष्टुराँको के छ, कस्तो छ भनेर।’ तर पनि उनी अब काठमाडौंमै आएर संघर्ष गर्ने योजनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell