PahiloPost

Nov 9, 2024 | २४ कात्तिक २०८१

भारतमा बने पनि औसत नेपाली फिल्मभन्दा कमजोर 'आप्पा'



मन्दिरा खत्री

भारतमा बने पनि औसत नेपाली फिल्मभन्दा कमजोर 'आप्पा'

गत बिहीवार जय नेपाल हलमा बाजा बजाएर फिल्मको प्रिमियर भएपछि धेरैको हेर्नैपर्ने चलचित्रको सूचीमा चढ्यो फिल्म 'आप्पा'। सन्तानप्रति बाबुको मायालाई लिएर बनाइएको चलचित्र पारिवारिक चलचित्र हो।

भारतको पश्चिम बंगालका नेपाली बाहुल क्षेत्रमा छांयाकन गरिएको आप्पाले उतैको परिवेश वर्णन गरेको छ। नेपाली चलचित्रमा छुट्टै छाप बनाएका कलाकार दयाह्याङ राईको मुख्य भूमिका रहेको चलचित्रमा नयाँ कलाकारहरु सिद्धार्थराज तामाङ गुरुङ र अलोना काबो लेप्चाका साथै तुलसी घिमिरे र अरुणा कार्कीको पनि अभिनय छ।

अनमोल गुरुङले निर्देशन गरेको 'आप्पा' चलचित्रले एउटा सन्तानको जीवनमा आप्पा अर्थात् बाबुको महत्व कतिको हुन्छ भन्ने कुरालाई चित्रण गरेको छ।

चलचित्रको मुख्य पात्र 'बिर्खे' (दयाहाङ राई) गाडी चालक हुन्छन्। उनले चलाएको जीप दुर्घटना हुँदा 'सिद्धार्थ'को परिवारका सबै सदस्यको मृत्यु हुन्छ। दुई जना घाइते अस्पतालबाट नजिकिन्छन्। बंगाली परिवार (कथा पूरै भारतको पश्चिम बंगालको नेपाली बाहुल क्षेत्रमा घुमेको छ)को सिद्धार्थ र नेपाली भाषी बिर्खेबीच यहीँदेखि आत्मियता बढ्दै जान्छ र कथा अगाडि बढ्छ।

नेपाली भाषीबहुल भारतीय माझ फिल्मकर्मीको रुपमा चर्चित नाम हो अनमोल गुरुङ। उनको निर्देशनमा बनेको चलचित्रमा औशत नेपाली चलचित्रभन्दा फरक मान्न सकिने खालको छैन।

चलचित्रले उठान गर्न खोजेको विषयवस्तुले खास अर्थ राखे पनि प्रस्तुती भने फितलो देखिन्छ। निर्देशकीय पाटोमा अनेक कमजोरीहरु भेटिन्छ।

चलचित्रमा दयाह्याङ राईबाहेक अरुको अभिनय फितलो देखिन्छ। कथाभित्रका प्लटहरु पनि कमजोर छन्। मूल भूमिकामा रहेका दयाह्याङ राईलाई फिल्म सकिँदासम्म पनि आप्पाको रुपमा स्थापित गर्न सकेको छैन। मृत्युपछि सिद्धार्थले आँशु झार्दै ग्लानी व्यक्त गरे पनि चलचित्रको मूल मर्मलाई झल्काउन सकेको छैन।

अस्पताल बसाईको छोटो समयमा बिर्खेलाई आप्पाको रुपमा स्थापति गर्न हतारिँदा कथा चिप्लिएको देखिन्छ। स्क्रिप्ट फितलो हुँदाको अवस्था छर्लङ्ग हुन्छ यसमा।

जति छोटो समयमा बिर्खेलाई आप्पाको रुपमा स्थापित गराइयो त्यति नै हतारमा उसलाई अलग्याउनु फिल्मको अर्को कमजोरी हो। बिर्खे र सिद्धार्थ रगतले बाबुछोरा होइनन् भन्ने थाहा हुँदाहुँदै पनि कथामै उनीहरुबीच आत्मियता झल्काउनसक्ने ठाउँ हुँदा हुँदै पनि पूरा गर्न सकेको देखिन्न। एउटा घटनाले नजिएको नातालाई लामो समय अलग राख्दा सम्बन्ध स्थपित नै गर्न सकेको छैन। त्यही स्थापित नभएको सम्बन्धलाई जबरजस्ती बिर्खेमार्फत् अगाडि बढाउन खोजिएको छ।

यतिमात्र होइन, चलचित्रको अर्को प्लट सिद्धार्थ र काब्याको प्रेम। उनीहरु जसरी नजिक हुन्छन् त्यसरी नै टाढिन्छन्। चलचित्र हेर्दैजाँदा उनीहरु अब नजिकिन्छन् कि भन्ने आशा हुन्छ। तर, त्यति नै चाँडो उनीहरु छुटिन्छन्। काब्याको भूमिका कथामा सिद्धार्थलाई सुसाइड अटेम्ट गराउनकै लागि मात्र इन्ट्रोड्युस गरिएको जस्तो लाग्छ। चलचित्रमा छिनछिनमा फरक फरक पात्रहरु उभ्याइन्छ। पात्र स्थापित नहुँदै विस्थापित हुन्छन्। त्यस्तै चपेटामा पर्छिन् काब्याकी आमा जसलाई एक झलकमात्रै देखाइन्छ।

मध्यान्तरपछि कथालाई दगुर्‍याइएको देख्दा निर्देशकमा फिल्म सक्ने हतारो देखाउँछ। गायन प्रतियोगितामा सिद्धार्थ र काब्यालाई अंग्रेजी गीत गाउन लगाएर झन् पट्यारलाग्दो बनाइएको छ। अंग्रेजी गीत गाएर छानिएका कलाकारलाई नेपाली गीत गाएर राज्य प्रथम भएको देखाउनु हाँस्यास्पद लाग्छ। अंग्रेजी गीतको स्थानमा नेपाली नै गीत राख्न सकिन्थ्यो। अथवा भारतको पश्चिम बंगाल राज्यस्तरीय कार्यक्रम थियो, त्यहाँ पनि अंग्रेजी नै गाउन लगाउन सकिन्थ्यो। संगीत सिकाउन इन्ट्रोड्युस गराइएका गुरु पनि त्यही गीतमा मोड्लिङका लागि इन्ट्रोड्युस गराएजस्तो मात्र देखिन्छ।

कतिपय दृष्यहरुले चलचित्रलाई झिँझोलाग्दो बनाएका छन्। संगीत प्रतियोगितामा गरिएको अंग्रेजी उद्घोषणले दर्शकको ध्यानलाई विकेन्द्रित गर्छ। सिद्धार्थ र अलोनाको अभिनयले पनि दर्शकलाई बाँध्न सक्दैन्। तुलसी घिमिरेको अभिनय पनि त्यति जोडदार देखिँदैन्।

समग्रमा कथाको एउटा प्लट बाहेक 'आप्पा' फिल्मका रुपमा सशक्त देखिँदैन। यो औशत नेपाली चलचित्रभन्दा माथि उठ्न सकेको छैन। अर्कातिर कलाकारको अभिनय औशत नेपाली फिल्मभन्दा पनि कच्चा देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell