PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

साझालाई विद्युतीय बस किन्न ४२ करोड, साझासहित ८ सय बसमा यात्रा कार्डको परीक्षण शुरु गरिने



पहिलोपोस्ट

साझालाई विद्युतीय बस किन्न ४२ करोड, साझासहित ८ सय बसमा यात्रा कार्डको परीक्षण शुरु गरिने

  • कुञ्जरमणि भट्टराई -

काठमाडौं: साझा यातायात सहकारीलाई विद्युतीय बस खरिदका लागि प्रदेश तीन सरकार र ललितपुर महानगरपालिकाले साढे बत्तीस करोड रुपैयाँ हस्तान्तरण गरेका छन्।

साझालाई विद्युतीय बस खरिदका लागि प्रदेश तीन सरकारले तीस करोड र ललितपुर महानगरले साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। काठमाडौं महानगरपालिकाले विद्युतीय बस खरिदका लागि १० करोड रुपैयाँ दिने बताएको छ। यसका साथै साझा यातायात सहकारीले पनि विद्युतीय बस खरिदमा साढे दुई करोड लगानी गर्ने बताएको छ।

साझा यातायातले यो सबै गरेर ४५ करोडको विद्युतीय बस खरिद गर्न सक्नेछ। ४५ करोडमा कतिवटा बस किन्न सकिने भन्नेबारे जानकारी भने जानकारी दिइएन।

साझाले आजबाट युरो ४ मापदण्डका २० वटा बस सञ्चालनमा ल्याएको छ । योसँगै साझा बसको संख्या ७१ पुगेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकका प्रमुख विद्या सुन्दर शाक्यले सो बसको उद्घाटन गरेका हुन् । नयाँ बस आगामी आर्थिक बर्षभित्र खरिद गरिसकिने साझा यातायात सहकारीले बताएको छ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सहयोग विद्युतीय बसका लागि सुरुवात मात्र भएको बताए। साझा यातायात आफैँमा घाटामा गएको संस्था भएकाले सरकारले यत्रो पैसा दिनुहुँदैन भनिएपनि नाफाघाटा मात्र हेर्नु हुँदैन भन्ने आधारमा साझालाई सहयोग दिइएको बताए। आगामी दिनमा विद्युतीय बसहरु थपिँदै लगिने पनि उनले जानकारी दिए।

विद्युतीय बस खरिदका लागि प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, ललितपुरका मेयर चिरिबाबु महर्जन र साझाका अध्यक्ष कनकमणि दीक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

यात्राकार्ड प्रयोगमा ल्याइने

सार्वजनिक यातायातमा यात्रा गर्नको लागि यात्राकार्ड पनि प्रयोगमा ल्याइने भएको छ।

यात्राकार्ड बसका सहचालकसँग दुई सय रुपैँयामा खरिद गर्न सकिनेछ। यो कार्ड रिचार्ज गर्न सकिन्छ। ठगी हुने र तोकिएकै समयमा गन्तव्यमा पुग्नका लागि यात्रा कार्ड प्रयोगमा ल्याइएको हो। हाल साझा यातायात र पोखराका ८ सय बसमा ट्रायल गरिने कार्यक्रममा जानकारी दिइयो।

कार्डको अघिल्लो भागमा नेपालमण्डल यात्राकार्ड लेखिएको छ। यात्रा कार्डको पछाडि भागमा कुनै यात्रुले हिंसा गरेमा के गर्ने भन्ने सुझाव पनि उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell