PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा?



सहयोग रञ्जित

के प्रधानमन्त्रीले भनेजस्तै मास्क लगाउने घटेका हुन् त काठमाडौंमा?

काठमाडौं: काठमाडौंको फोहोरले पुरानै नियति भोग्न थालेको छ। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलका स्थानीयले फेरि फोहोर फ्याल्न रोकेपछि अहिले काठमाडौंका सडक फोहोरको थुप्रोले भरिएका छन्। आइतवार साँझ महानगर र सिसडोलबासी बीच सहमति भएपछि सोमबार बिहानबाट बल्ल फोहोर उठ्न शुरु भएको छ।

चर्को घाम र मनसुने झरीका कारण ती फोहोरबाट आउने प्रदुषण मानव स्वास्थ्यका लागि झनै खतरनाक हुँदै गइरहेको छ। त्यसमाथि सडकको अवस्था र धुलो धुवाँको प्रदुषणलाई केही हदसम्म आफूबाट टाढै राख्न मानिसहरु मास्क लगाएर र नाक थुनेर हिँड्न बाध्य छन्।

उता शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनेको संख्या आधा घटेको बताए।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एक वर्ष अघि र अहिलेको काठमाडौंका सडकको अवस्थाका बारेमा मूल्यांकन गर्द भन्दै भने, ‘म प्रधानमन्त्री भएको बेला भनेको थिएँ, अब काठमाडौंमा नाक समाएर हिँड्न पर्दैन। मैले मास्क लगाएर हिँड्न पर्दैन भनेको थिएँ। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही हिँड्दैनन्।’

प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा कार्यक्रममा उपस्थित धेरैले ताली बजाए। तर आम मानिसहरुले र सामाजिक संजालमा भने केपी ओलीको भनाइ आलोचना भयो। धेरैले प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई उनको अर्को 'जोक' को संज्ञा दिए।

बजेट भाषणमा राजमार्गमा धावन मार्ग बनाउने र कलंकलीबाट प्रवेश गर्ने गाडीहरुलाई नाकामा नै सफा गर्ने महत्वकांक्षी योजना ल्याएका प्रधानमन्त्रीले सडक कालोपत्रे गरेको र धुलो हटाएको भन्दै दशैंसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुने ठोकुवा नै गरे।

के प्रधानमन्त्रीले भने झै काठमाडौंमा मास्क नलगाइ हिँड्छन् त मानिसहरु?

प्रधानमन्त्रीले भने झैं काठमाडौंमा मानिसहरु मास्क बिनै हिँडन थालेको भन्ने कुरा सही देखिँदैन। प्रधानमन्त्रीले भनेपछि हामीले काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा हेर्‍यौं। धेरै स्थानमा मानिसहरु मास्कका साथ नै देखिन्छन्। फोहोर नउठेकोले होला काठमाडौंका कतिपय स्थानहरुमा मानिसहरु नाक थुनेर नै यात्रा गर्न बाध्य थिए। मुख्य सडक बनेपनि भित्रि सडकको अवस्थामा अझै सुधार हुन सकेको छैन।

सडक नबन्दा धुलोको सास्ती बढेको बढ्यै छ। सडक नबनेकोले थली, ढल्कु, बालाजु, खुमलटार, चापागाउँ, जोरपाटी लगायत ठाउँका स्थानीयहरुले सडक नै बन्द गरेर आन्दोलन गरेका थिए। बौद्ध जोरपाटी सडकखण्ड बाहेकका स्थानीयहरुको माग अहिलेसम्म पनि पुरा हुन सकेको छैन। चक्रपथ भित्रका स्थानहरुमा सडकमा केही सुधार भएपनि चक्रपथ आसपासका क्षेत्रका सडकको अवस्था झन् दयनीय बन्दै गएको छ।

केही दिनदेखि काठमाडौं र ललितपुरमा फोहोर नउठेकोले मात्रै मानिसहरु मास्क लगाउन वाध्य भएका होइनन्। सडकको अवस्था, धुलो धुवाँ, गाडीको प्रदुषण, नदीबाट आउने गन्धले पनि मानिसहरु मास्क लगाउन बाध्य छन्।

वातावरण विभागका निरीक्षक भूपेन्द्र शर्मा भने मौसम अनुसार हावापानी फरक हुने भएकाले अहिले जाडो महिनाको भन्दा प्रदुषण कम भएको बताउँछन्। ‘जाडो महिनाभन्दा गर्मी महिनामा स्वभाविक रुपमा प्रदुषण कम हुन्छ। पानीका कारण धुलो उँड्न पाउँदैन,’ शर्माले भने ‘प्रधानमन्त्रीले त्यही आधारमा भन्नु भएको होला।'

तर, शर्मा प्रधानमन्त्रीले भनेझै मास्क नै नलगाउने अवस्था भने आइनसकेको बताउँछन्। मौसमका कारणले पहिलाभन्दा मास्क लगाउने संख्या केही घटेको हुन सक्ने भएपनि मास्क नै नलगाउने अवस्था नभएको उनले बताए।

निरीक्षक शर्माका अनुसार काठमाडौंमा सबैभन्दा बढी प्रदुषण हुने समय बिहान हो। बिहानपख वायुमण्डल तातिने र प्रदुषणका कणहरु तल झर्ने भएकाले बिहान अत्याधिक प्रदुषण भइरहेको बताउँछन्।  दिउँसो प्रदुषण माथि जाने भएकाले काठमाडौंमा दिउँसोको समय प्रदुषण कम हुँदा मास्क लगाउने संख्या घटेको हुन सक्ने उनको तर्क छ।

ओलीले २०७४ फाल्गुनमा दोस्रोपटक प्रधानमन्त्री पदका लागि शपथ लिएका थिए। त्यसबेला जाडो महिना भएको र बाटोको अवस्था खराब भएकाले काठमाडौंमा धुलो धुवाँको कहर धेरै नै भएको उनी बताउँछन्।

त्यसो हुनुको कारण मुख्यत: मेलम्चीको पाइपलाइन बिच्छयाउने कामले गर्दा भएको थियो भन्छन् वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल। पौडेल मास्क नै नलगाई हिँड्ने अवस्था नै नभएपनि प्रधानमन्त्रीले ठोस आधारका साथ त्यस्तो बोलेको बताउँछन्।

‘ प्रधानमन्त्रीज्यूले त्यसै बोल्नु भएको पक्कै होइन। विगतको वर्षभन्दा यसपटक धुलो धुँवाको मात्रामा कमी आएकै हो,’ उनले भने, ‘सडकहरु बनेका छन्। उनले भनेझैँ सुधार चाहिँ भएका छन्।' तर अहिले काठमाडौं चक्रपथभित्रका सडक प्रधानमन्त्री ओलीका ठाउँमा अरु कोही प्रधानमन्त्री भएको भएपनि हुन्थ्यो।

सूचना अधिकारी पौडेलले प्रधानमन्त्रीले ठोस आधारसहित बोलेको भनेपछि हामीले गत वर्ष र अहिलेको वातावरणमापन रिपोर्टबारे सोध्यौं।  त्यसबारे उनले अहिले सफ्टवेयर विकासको काम भइरहेकोले डाटाहरु उपलब्ध गराउन नसकिने बताए।

हामीले उनलाई सोध्यौं, ‘प्रधानमन्त्रीले अहिले कुन आधारमा प्रदूषण कम भयो भन्दै मास्क लगाउन नपर्ने भन्नुभयो, त्यो रिपोर्ट त होला नि?’ जवाफमा पौडेलले यस्तो रिपोर्ट नभएको बताए।

'अहिले नै हामीले रिपोर्ट तयार गरेका छैनौं। सफ्टवेयर बनाउँदैछौं,’ उनले भने, ‘हाम्रो वेबसाइटमा एक हप्ताको डाटा हुन्छ। हामीले अहिलेको अवस्थाको बारेमा अध्ययन गर्न पाएका छैनौं।‘ तथ्याङ्कै नभएको बताउने उनले ‘ प्रधानमन्त्रीले त्यसै नबोलेको’ भन्न भने छोडेनन्।

हाल वातावरण विभाग अन्तर्गत काठमाडौं उपत्यकामा ६ स्थानमा वायुको गुणस्तर नाप्ने यन्त्र जडान गरिएको छ। भक्तपुरको विरेन्द्र सैनिक आवासीय विद्यालय, रत्नपार्क, शंखपार्क, पुल्चोक, भैंसेपाटीमा जडान गरिएका यन्त्रहरुबाट वायु प्रदुषणको मात्राका बारेमा अनुसन्धान हुँदैछ। कीर्तिपुरमा रहेको यन्त्र भने प्राविधिक कारणका कारण संचालनमा आउन सकेको छैन।

विगत एक हप्ताको ‘रियल टाइम एनालाइसिस’को मूल्यांकन गर्ने हो भने काठमाडौंमा मौसमको अवस्था राम्रो भएको बताउँछन् पौडैल।

वातावरण विभागको वेबसाइटको ‘रियल टाइम एनालाइसिस’का अनुसार हाल सबै स्थानको वायु प्रदुषण औसत रहेको छ। दिउँसो रत्नपार्क र भक्तपुरको वायु प्रदुषण मापन गर्दा वायुको गुणस्तर अरु स्थानकोभन्दा राम्रो रहेको देखिएको छ। यस्तै, अरु स्थानको वायु भने औसत देखिएको छ। बिहानपख भने वायुको गुणस्तर नराम्रै देखिन्छ।

उसो त काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले वायु प्रदुषण मापषन गर्न र कम गर्न भन्दै विभिन्न स्थानमा वायु प्रदूषणमापण यन्त्रहरु जडान गरिएका छन्। यस्तै सडकमा हुने धुलोलाई कम गर्नकालागि ब्रुमरको प्रयोग गरिँदै आएको छ। तर पनि सर्वसाधारणहरुले भने धुलो धुँवाबाट छुटकारा पाउन सकेका छैनन्।

काठमाडौं महानगरका प्रवक्ता इश्वरमान डंगोल महानगरले काठमाडौंमा प्रदुषणलाई कम गर्ने प्रयत्न गरिरहेको बताउँछन्। ब्रमुरको प्रयोगले हाल काठमाडौंका सडकमा रहेका धुलोहरु निकै कम भएको र प्रदुषणमापन यन्त्रहरुले राम्ररी काम गरिरहेको दाबी गरे।

यता, निरिक्षक भूपेन्द्र शर्मामा वायु प्रदुषणमापन गर्ने यन्त्र राख्दैमा वायु प्रदुषण नघट्ने बताउँछन्। ‘वायु प्रदुषण मापन गरेपछि त्यसलाई न्यूनिकरण गर्ने उपाय खोज्नुपर्छ। प्रदुषण हुने स्रोत पत्ता लगाउनु पर्छ,’ उनी भन्छन्, ‘पुराना सवारी साधनहरुको व्यवस्थापन गर्नुपर्छ। वायु प्रदुषण कम गर्न सबैभन्दा पहिला त मापदण्ड लागू गर्न पर्छ। भन्दैमा मात्रै प्रदुषण कम हुने होइन।'

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell