
युवा ब्याट्सम्यान अभिष्का फर्नान्डोले एक दिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि श्रीलंकाले आइसीसी विश्वकप क्रिकेट २०१९ मा वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको छ।
दुबै टोली यसअघि नै लिग चरणबाट बाहिरिसकेकोले खेल प्रतिष्ठाको लडाईँमात्र थियो। जसमा श्रीलंकाले बाजी मार्यो।
श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रनमात्र बनाउन सक्यो। निकोलस पुरनले शतक प्रहार गरे पनि वेष्ट इन्डिजलाई जिताउन सकेनन्।
पुरनले १०३ बल खेल्दै ११ चौका र ४ छक्काको मद्दतमा ११८ रन बनाए। यस्तै फाबियन एलनले ५१ रन बनाउँदा क्रिस गेलले ३५ र सिमरोन हेतमारले २९ रन जोडे। कप्तान ज्यासन होल्डरले २६ रन बनाए।
श्रीलंकाका लागि लासिथ मालिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए। वेष्ट इन्डिजविरुद्ध ३ विकेट लिएपछि मालिंगा विश्वकपमा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा रहेका पाकिस्तानका वासिम अक्रमसँग बराबरी गरेका छन्। दुबैको ५५ विकेट भएको छ।
त्यसअघि चेस्टर लेस्ट्रिटमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो।
२१ वर्षीय अभिष्का फर्नान्डोले यस विश्वकपमा श्रीलंकाको लागि पहिलो शतक प्रहार गर्दा टिमले उच्च स्कोर बनाएको हो। फर्नान्डोले १०३ बल खेल्दै ९ चौका र २ छक्काको मद्दतमा १०४ रन बनाए। यस्तै कुशल परेराले ६४ रन बनाए भने लाहिरु थिरिमानेले ४५ र कुशल मेन्डिसले ३९ रन जोडे। वेष्ट इन्डिजका होल्डरले २ विकेट लिए।
तेस्रो जितपछि श्रीलंका ८ खेलबाट ८ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लेको छ। श्रीलंकाले अब लिगको अन्तिम खेलमा भारतसँग खेल्नेछ। श्रीलंकाले अन्तिम खेल जितेमा चौथो स्थानको इंग्ल्याण्डसँग अंक बराबरी गर्नेछ। तर पाकिस्तानले बंगलादेशसँग हार्ने, भारतले बंगलादेशलाई हराउने, श्रीलंकाले भारतलाई हराउने अनी इंग्ल्याण्डले अन्तिम खेलमा न्यूजिल्याण्डसँग हारे पनि लिगमा बढि खेल जितेका कारण इंग्ल्याण्ड नै अगाडि रहने भएकोले श्रीलंका बाहिरिएको हो।
अष्ट्रेलिया ८ खेलबाट १४ अंक जोड्दै यसअघि नै सेमिफाइनल पुगिसकेको छ। अब भारत (११), न्यूजिल्याण्ड (११ ), इंग्ल्याण्ड (१०) सँगै पाकिस्तान (९) र बंगलादेश (७) पनि सेमिफाइनल होडमा छन्।
भारत र बंगलादेशले २-२ तथा अन्य टिमले १-१ खेल खेल्न बाँकी छ। बंगलादेशको लागि निर्णायक रुपमा रहेको आजको खेलमा भारतको सामना गर्दैछ।
त्यसपछि लिगमा बुधबार इंग्ल्याण्ड र न्यूजिल्याण्ड, बिहीबार अफगानिस्तान र वेष्ट इन्डिज, तथा शुक्रबार पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ। यस्तै लिगको अन्तिम दिन शनिबार भारत र श्रीलंका तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।