PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

३३ किलो सुन प्रकरणः बदनियतपूर्ण आदेश गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त, कार्की र सापकोटाको दुई वर्ष बढुवा रोक्का



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणः बदनियतपूर्ण आदेश गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त, कार्की र सापकोटाको दुई वर्ष बढुवा रोक्का

काठमाडौँः न्याय परिषदले ३३ किलो सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ। न्याय परिषद बैठकले सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए। 

प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो। 

असार ४ गतेको परिषद बैठकले कारबाही प्रक्रिया अघि बढाउन तीन न्यायाधीशलाई थप स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण हेरेपछि परिषदले प्राप्त प्रमाणका आधारमा सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको हो। 

परिषदले सुन प्रकरणको आदेशमा जोडिएका न्यायाधीशमध्ये तत्कालीन मुख्य न्यायाधीश कलुरत्न भुर्तेल र न्यायाधीशहरु साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराएर छाडेको थियो। काजमा राखेर छानबिन गरिएका अन्य दुई न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको छानबिन प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको थियो। 

सुनकाण्डका आरोपितलाई सुरुमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको थियो। पुर्पक्षमा पठाइएका धेरै अभियुक्त उच्च अदालतको आदेशले साधरण तारेखमा छुटेका थिए। अदालतको आदेशपछि प्रहरीका केही उच्च अधिकारीले सेवामा समेत सहभागिता जनाइरहेका छन्।

उच्चका आदेश र सुनुवाइ प्रक्रिया विवादित बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनमा न्याय परिषदका तत्कालीन सचिव नृपध्वज निरौला नेतृत्वको टोलीले विराटनगर पुगेर अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदन अनुसार परिषदले उच्चका आठ न्यायाधीशलाई माघदेखि काजमा राखेर अनुसन्धान प्रक्रिया थालेको थियो। पाँच महिनापछि छानबिन प्रक्रिया टुंगिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell