
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुनेगरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्।
पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे।
'हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ। देशमा काम पाएको छैन। पायो भने सीप र क्षमता छैन,' प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ।'
नेपाल विद्वान पूर्खाको देश भएको बताउँदै पौराणिक कालका ऋषिमुनिहरुले यही भूमिबाट ज्ञान प्राप्त गरेको उल्लेख गरे। ओलीले भने, 'शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहँदैन।'
ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यतान मिल्दा ठूलो ठूलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको सुनाए।
'कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन्,' प्रधानमन्त्री ओलीले भने, 'यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ। त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेरमात्र शिक्षामा लगानी गर्नु पर्दछ।'
आवश्यकता, रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेरमात्र विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने उनले बताए। 'विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस,' ओलीले भने।