
काठमाडौं: एथलेटिक्सका अजितकुमार यादवले उत्कृष्ठ युवा खेलाडीको अवार्ड हात पारेका छन्। पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा यादवले उनीसँगै नोमिनेसनमा परेका अन्य चारजनालाई पछि पार्दै अवार्ड हात पारेका हुन्।
‘मेरो लागि यो जिवनकै ठूलो उपलब्धिको हो,’ अवार्ड हात पारेपछि यादवले भने। यादवले ब्याडमिन्टनका प्रिन्स दाहाल, फूटबलकी मन्जलीकुमारी योन्जन, क्रिकेटका ललित राजवंशी र कराँतेका विजय श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन्।
यादवले राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण पदक हासिल गरेका थिए। त्यस्तै हङकङमा भएको तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण जितेका थिए।
उनले २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रिय किर्तिमानमा सुधार गरेका थिए। त्यसैगरी काठमाडौं म्याराथन ५ किलोमिटरमा खुला रोड रेसमा स्वर्ण र बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण पदक जितेका थिए।
पल्सर अवार्डमा बर्षको उत्कृष्ठ टीमको अवार्ड प्याराग्लाइडिङ टीमले हात पारेको छ। इन्डोनेसियामा भएको १८ औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा यो टीमले रजत पदक जितेको थियो।
त्यस्तै रजत पदक जिताउने प्याराग्लाइडिङ् टीमका कोच योगेश भट्टराईले बर्षको उत्कृष्ठ कोचको अवार्ड हात पारे। एशसियाडमा पहिलोपटक समावेश गरिएको प्याराग्लाडिङमा नेपालले सहभागी भएकै साल रजत पदक जितेको थियो। एसियाडमा नेपालले २० बर्षपछि पहिलोपटक रजत पदक जितेको थियो।
नेपाल खेलकूद पत्रकार मञ्चले हरेक बर्ष खेलकूदका विभिन्न विधामा अवार्ड वितरण गर्ने गर्छ।