PahiloPost

May 14, 2024 | १ जेठ २०८१

प्रकाशको जन्मदिनमा 'नोस्टाल्जिक' बिना : शेर्पाको साथ छोडेर सगरमाथा यात्रा



विधुर ढकाल

प्रकाशको जन्मदिनमा 'नोस्टाल्जिक' बिना : शेर्पाको साथ छोडेर सगरमाथा यात्रा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाशको ३८ औँ जन्म दिनको अवसरमा आज प्रकाश दाहाल प्रतिष्ठानले ६ जनालाई 'प्रकाश सहासिक सगरमाथा सम्मान' प्रदान गरेको छ।

सगरमाथा आरोहणका क्षेत्रमा योगदान पुर्‍याउने छ जनालाई प्रकाशको स्मृतिमा स्थापति प्रतिस्ठानले सम्मान गरेको हो। सगरमाथासहित विश्वका १४ वटा ८ हजार माथिका हिमाल आरोहण गरेका दक्षिण कोरियाली नागरिक अम हङ गिल, नेपाल सरकारका अधिकृत तथा सगरमाथा बेस क्याम्पममा सम्पर्क अधिकृतको रुपमा १० वर्ष काम गरेका ज्ञानेन्द्रकुमार श्रेष्ठ, सगरमाथा आरोही माया शेर्पा, सगरमाथा आरोही तथा प्रकाश दाहाल सम्मिलित सगरमाथा आरोहण दलका सरदार छिरिङ थुन्दु शेर्पा, आइसफल डक्टर आङसार्की शेर्पालाई प्रतिष्ठानले सम्मान गरेको हो।

कार्यक्रममा प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको स्मृतिमा दुई जना क्यान्सर पीडितहरुलाई आर्थिक सहयोग गरिएको थियो। ज्ञानुको क्यान्सरकै कारण मृत्यु भएको थियो। क्यान्सर पीडित रुकुम सानोभेरीका धर्मबहादुर वलीलाई एक लाख सहयोग प्रदान गरिएको हो। उनी पूर्व जनमुक्ति सेनाका लडाकु हुन्। त्यस्तै प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका निजी फोटोग्राफर तथा युद्ध फोटो पत्रकार दिनेश श्रेष्ठलाई पनि उनकी क्यान्सर पीडित छोरी पल्लवीको उपचारका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

कार्यक्रममा अध्यक्ष तथा प्रतिष्ठानका संयोजक खानेपानी मन्त्री विना मगरले प्रकाशसँगको सगरमाथा यात्राको छोटो वर्णन गरिन्। प्रकाशसँगको यात्रा वर्णन उनकै शब्दमा -

हामीले डेथ जोनबाट यात्रा सुरु गर्‍यौँ। त्यो यात्राका यात्रीहरु थुप्रै थिए। सबैलाई चिन्दैनथ्यौँ। तर, लक्ष्य एउटै थियो सगरमाथा चुम्ने। आफ्नो आफ्नो शेर्पाको साथमा हुनुहुन्थ्यो। त्यो मृत्यु चुम्ने पाइलाहरुमा हामीलाई साथ दिने केवल शेर्पाहरु मात्र हुने थिए। सबै साथीहरु अगाडि बढिसक्नु भएको थियो। र, म सगरमाथा चढ्ने अन्तिम टिममा पछाडि थिएँ। प्रकाश लगायतका साथीहरु निकै अगाडि बढिसक्नु भएको थियो। त्यो जुनेली रातमा सानो टाउकोमा बाँधिएको टर्चलाइटको आधारमा एउटा डोरीमा मृत्युसँग जुध्दै यात्रा गरिरहेका थियौँ।

बीच बाटोमा पुग्दा उहाँ (प्रकाश)का सहयोगी शर्पा भाइलाई केही असहज भयो। त्यसपछि हामीसँगै अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा ढुंगाको पहिरो पनि गयो। केही हाम्रा साथीहरु फर्किनु पनि भयो। मेरो शेर्पा भाइ पनि घाइते हुनुभयो। एउटै ठाउँमा बसेर दुई शेर्पा भाइहरुले हाम्रो अक्सिजन साटिदिनुभयो। अरु साथीहरु धेरै अगाडि बढिसक्नु भएको थियो। हुन त निकै लामो पंक्ति पछाडि नै थियो। हामीले शेर्पालाई छोडिसकेका थियौँ। हामी शेर्पाविना यात्रा गरिराखेका थियौँ। उहाँहरु पछि आउने प्रतिवद्धता व्यक्त गरिराख्नु भएको थियो। उहाँहरुको झोलामा हाम्रो अक्सिजन थियो। यानिकी हाम्रो प्राण थियो। उहाँहरु आफै घाइते हुनुहुन्थ्यो। उहाँहरुकै भरमा हामीले हाम्रो जीवन उहाँहरुसँगै छाडेका थियौँ।

बीच बीचमा मलाइ अनौठो महसुस भइरहेको थियो। हाम्रा शेर्पाहरु तलै थिए। हामीहरुसँग एउटा मात्र अक्सिजन सिलिण्डर थियो। मैले प्रकाशजीलाई पटक पटक भन्ने कोशिस पनि गरेँ। सायद हामी फर्किन पर्छ कि? अक्सिजन पुग्दैन फर्किन पर्छ कि? केही समयपछि उहाँले एउटा उत्तर दिनुभयो, 'यो अक्सिजनले सगरमाथाको चुचुरो पुग्न सकिन्छ। पुर्‍याउन सकिन्छ।' उहाँसँग फर्किने हिसाब थिएन। एउटा साहसी आरोहीले एउटा लक्ष्यमात्र हेर्छ। जोखिम हेर्दैन। हामीलाई माया गर्ने हाम्रा शेर्पा भाइहरु पुग्नुभयो। हाम्रो सिलिण्डर फेरिदिनु भयो। र, हामीले समिट गर्‍यौँ। हामीले उहाँहरुप्रति विश्वास गरेका थियौँ। उहाँहरुको हातमा हामीले हाम्रो जीवन सुम्पिएर हिँडेका थियौँ। शेर्पा महत्वपूर्ण पक्ष हो। उहाँहरुको नेतृत्व सरदारले गर्नु भएको थियो। आज उहाँलाई सम्मानित गर्न पाउँदा खुसी लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell