
काठमाडौं : सागर ढकालको उत्कृष्ट बलिङ र पवन सर्राफको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले एसीसी यू-१९ इस्टर्न रिजनको पहिलो खेलमै चीनलाई १० विकेटले पराजित गरेको छ।
चीनले दिएको ५४ रनको लक्ष्य नेपालले ५ ओभर खेल्दै बिना क्षति पूरा गरेको हो। नेपालको जितमा ओपनर पवन सर्राफले नटआउट ४६ रन बनाए। उनले २१ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै रित गौतमले नटआउट १० रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीन नेपाली बलिङ सामु टिक्न नसक्दा २३.१ ओभरमा ५३ रनमा अलआउट भएको थियो। चीनका लागि ओपनर गुओहाओ र लिएङ चेनले १३-१३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
चीनलाई अलआउट गर्न नेपालका सागर ढकालले शानदार बलिङ गर्दै ६ विकेट लिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दै १९ रन मात्र खर्चे। यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन राख्द १५ रन खर्चेर ३ विकेट लिए।
समूह ए मा तीन टिम मात्र रहेकोले दपहिलो जितपछि नै नेपाल सेमिफाइनल पुगिसकेको छ। चीनले पहिलो खेलमा सिंगापुरसँग हार बेहोरेको थियो। लगातार दुई खेल हार्दै चीन बाहिरिएको छ। एक खेल खेल्नुअघि नै सेमिफाइनल पुगेको नेपाल र सिंगापुरपुरबीच बिहीवार समूह विजेताको लागि खेल हुनेछ।