PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापना: भैरहवा-छेन्दु सिधा उडानका लागि सहयोगको आग्रह



पहिलोपोस्ट

५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध स्थापना: भैरहवा-छेन्दु सिधा उडानका लागि सहयोगको आग्रह

काठमाडौं : नेपालको ५ नं प्रदेश र चीनको सिचुवान प्रान्तबीच भगीनि सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको चीन भ्रमणका क्रममा मंगलवार यस्तो समझदारी भएको हो।

मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। दुई नेताबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए। भेटवार्तामा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको गभर्नर लीले बताएको सल्लाहकार केसीले बताए।

यसैबीच मुख्मन्त्री पोखरेलले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निम्तोसमेत दिएका छन्। उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने बताउँदै सिचुवानको राजधानी छेन्दु र भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।

छेन्दुबाट हाल काठमाडौंका लागि सिधा उडान हुँदै आएको छ। गभर्नर लीले लुम्बिनी भ्रमणको निम्तो दिएकोमा धन्यवाद दिँदै यस विषयमा छलफल अगाडि बढाउने बताएका थिए।

यसैबीच चीन भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङसँग भेटवार्ता गरेका छन्। भेटमा उपमहानिर्देशक सङले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याटएको बताएका थिए।

ने क पाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले ने क पा र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमवार छेन्दु पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell