
पोखरा : गत वर्ष पहिलो संस्करणको पोखरा प्रिमियर लिग (टी २०) क्रिकेट प्रतियोगिता आयोजना गरेपछि पोखरा क्रिकेट मैदानले चर्चा पाएको थियो।
चार वटा पिच निर्माण गरेर पीपीएल आयोजना भएको थियो। अब उक्त क्रिकेट मैदानको स्तोरोन्ती गरिने भएको छ। यसका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरेको छ।
'प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटमा पोखरा क्रिकेट मैदानको लागि २ करोड बजेट छुट्याएको छ।' पहिलो संस्करण सफल रुपमा आयोजना गरेको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टमा निर्देशक छुम्बी लामाले भने।
गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वी सुब्बा गुरुङसहित राष्ट्रिय टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायतका व्यक्तिहरुले बिहीवार पोखराको मैदान अवलोकन गरेको थिए। गुरुङसँग भेटर मैदानको स्तर उन्नती गर्ने विषयमा छलफल भएको लामाले जानकारी दिए।
'उहाँहरु सबै जना एकदमै सकरात्मक हुनुहुन्छ। हामीलाई अब चाहिएको पभेलियन हो। हामी अब त्यो बजेटबाट पभेलियन बनाउने र बाउन्ड्री बनाउने काममा खर्च गर्छौँ।' लामाले भने।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सकिने भन्दै लामाले प्रदेश सरकारले पनि यसमा चासो दिएको बताए।
निरीक्षणका क्रममा मुख्य मन्त्री गुरुङसँगै पारस, ज्ञानेन्द्र, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशका अर्थसमिति संयोजक दीपक कोइरालाको उपस्थिति थियो।