PahiloPost

Dec 12, 2019 | २६ मंसिर २०७६

रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

सहयोग रञ्जित/पहिलोपोस्ट


काठमाडौं: भक्तपुरकी रामदेवी सिन्ताकल हातमा कु/तकुचा (कोदालो/कुटो) समाउँदै कालो माटोको ठूलो थुप्रोबाट अरु साना साना थुप्रा पार्दैछिन्। सँगै रहेकी तीर्थलक्ष्मी लागे साना थुप्रामा बाँडिएको कालो माटोलाई लाइनमा बसेका अरु महिलालाई पास दिँदैछिन्। लाइनमा बसेका महिलाहरु हात हातै कालो माटो एकले अर्कालाई दिन्छन्। लाइनको अन्तिममा रहेकी अष्टलक्ष्मी दुवाल कालो माटोलाई बालुवा बिछ्याइएको पोखरीमा मिलाउने काम गरिरहेकी छिन्।

२०७२ को भूकम्पपछि अस्तित्व नै मेटिने अवस्थामा पुगेको 'न्हू पुखु' अर्थात् रानी पोखरीको पुनर्निर्माणको दृश्य हो यो।

असारको मध्य बितिसक्दा पनि पानी पर्न सकेको छैन। घाम चर्केकै छ। तर चर्को घामले भक्तपुरे यी महिलालाई माटोसँग खेल्न रोक्न सकेको छैन।

सरकारले रानीपोखरीको पुनर्निर्माण कार्य काठमाडौं महानगरबाट खोसेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि यसको निर्माणको शैली नै फेरिएको छ। महानगरले रानीपोखरीमा कंक्रिटको प्रयोग गरेर स्विमिङ पुल बनाउन लागेको भन्दै चर्को आलोचना भएपछि यसको जिम्मा प्राधिकरणलाई दिइएको थियो।

सम्बन्धि समाचार: रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिले नसकेपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

प्राधिकरणले गत फाल्गुनमा पोखरीलाई पहिलेकै अवस्थामा फर्काउन उपभोक्ता समिति गठन गर्‍यो र पानी अड्याउन भक्तपुरका दक्ष जनशक्तिलाई जिम्मेवारी दियो। भक्तपुरे महिलाले काम सुरु गरेपछि अहिले रानीपोखरी बन्ने लगभग निश्चित भएको छ।

यही बर्षको भाइटीकासम्म रानीपोखरीमा पानी अड्याउने लक्ष राखेर फाल्गुन २२ गतेदेखि भक्तपुरबाट करिब ५० जना महिला दैनिक रानीपोखरीमा खटिएका छन्। उनीहरुलाई भक्तपुरकै करिब १० जना पुरुषले सहयोग गरिरहेका छन्।

पानी अड्याउने प्रविधिमा निपूर्ण मानिएका भक्तपुरका महिला अहिले जमिनमा पानी अड्याउन कालो माटो बिछ्याउने काममा व्यस्त छन्।

पोखरीको पूर्वी भागमा महिलाहरु चार समूह बनाएर लाइन बसेका छन्। लाइनमा आबद्ध चारै समूहका लागि छुट्टाछुट्टै कालो माटोका थुप्राको भाग लगाइएको छ।

कालो माटोलाई पोखरीमा तह मिलाएर राख्दै गरेकी अष्टलक्ष्मी दुवालका अनुसार बालुवामाथि कालो माटो राख्ने यो प्रविधि पुरानै हो। भक्तपुरमा पुनर्निर्माण भइरहेको भाजु पुखुमा समेत काम गरिसकेकी उनी कालो माटोले पानी तल जान रोक्ने बताउँछिन्। बालुवा र कालोमाटोको समिश्रणले पानीको बहाव कायम रहने उनको अनुभव छ।

एकातिर महिलाहरु कालो माटो बिछ्याउन व्यस्त छन्। अर्कातिर कालो माटोमा पानी अडिन्छ कि अडिँदैन भनेर परीक्षण पनि भइरहेको छ। त्यही परीक्षणका लागि पोखरीमा दुईवटा साना पोखरी बनाइएका छन्। ती पोखरीमा कालोमाटो राखेर पानी चुहिने नचुहिने, कति समयसम्म टिक्ने जस्ता कुरा परीक्षण भइरहेको छ।

दुई पोखरीमा भक्तपुर र साँखुको कालो माटो

पुनर्निर्माणको नेतृत्व गरिरहेका छन् भक्तपुरका कृष्णप्रसाद दुमरुले। उपभोक्ता समितिसँग सहकार्य गरेर दुमरुको टोलीले पोखरी निर्माणमा प्राविधिक सहयोग गरिरहेको छ। दुमरुका अनुसार पोखरी निर्माणका लागि भक्तपुर र साँखुबाट कालो माटो ल्याइएको छ। उनका अनुसार रानीपोखरीमा अहिलेसम्म करिब ४० ट्रक कालो माटो ल्याइसकिएको छ। पोखरी निर्माण सक्न अझै धेरै कालो माटो चाहिनेछ।

अहिले साँखु र भक्तपुरबाट ल्याइएको कालो माटो पोखरीको बीचमा बिछ्याउन मात्र नभएर पर्खाल निर्माणमा समेत प्रयोग भइरहेको छ। पुरानो पर्खाल पहिचान गरी त्यसलाई कालो माटोले पोत्ने र त्यसमाथि बज्र (चुना, सुर्की र बालुवाको समिश्रण गरी बनाइएको मसला)को प्रयोग गर्दै माअप्पा (पातलो इट्टा) ले अड्याउने काम पनि सँगसँगै भइरहेको छ।

पोखरीको निर्माण गर्दा कालो माटो सिधै नराखेर पहिला बालुवा राखेर त्यसमाथि कालो माटो राखिएको छ। पोखरीमा पानी जम्मा गरेपछि कालो माटो रसाउने भएकाले पहिला बालुवा राखिएको छ र बालुवामाथि कालो माटो। कालो माटो बिछ्याइसकेपछि पनि त्यसमाथि माअप्पाले सोलिङ गरिनेछ। बेलाबेला पोखरी सफा गर्नुपर्दा कालो माटो चलाउनु नपरोस् भनेर सोलिङ गर्न लागिएको हो।

कालो माटो कै प्रयोग गरेर पोखरीको पूर्वतिर स्लोपिङ पर्खाल बनाउने काम भइरहेको छ। उता पश्चिमतिर बनाइएका कंक्रिटका पर्खाल भत्काएर बज्र र माअप्पा कै प्रयोग गरेर पर्खाल बनाउने काम सकिइसकेको छ।

पहिला भूकम्पपछि पनि पानी नसुकेको पोखरीको पानी सुकाएर कंक्रिट प्रयोग गरिएको थियो। पानीको प्राकृतिक स्रोतको बारेमा अध्ययन नहुँदा पोखरीमा पानी अडिने कुरामा पनि शंका थियो। त्यसैले प्राधिकरण, उपभोक्ता समिति र भक्तपुरका कालिगढहरुले मिलेर पोखरीमा पानी जम्ने अवस्थाका बारेमा अध्ययन गर्न दुई पोखरी बनाउने निर्णय गरे।

त्यसकै आधारमा परीक्षणका लागि पोखरीको दक्षिणतिर दुई साना पोखरी बनाइए। पोखरीमा प्रयोग भएकै पुरातात्विक सामाग्री 'बज्र र माअप्पा' प्रयोग गरेर एक महिना अघि परीक्षणका लागि भनेर यी पोखरीहरु बनाइए।

दुई पोखरीको एक भागमा भक्तपुरबाट ल्याइएको कालो माटो राखिएको छ भने अर्को पोखरीमा साँखुबाट ल्याइएको कालो माटो। दुमरु भन्छन्, 'माटो त ल्याइयो। तर यत्रो पोखरीमा पानी अड्याउनु ठूलो कुरा थियो। त्यसैले दुई स्थानबाट ल्याइएको माटो परीक्षण गर्ने र पानीको चुहावटबारे अध्ययन गर्ने हेतुले नमूना पोखरी बनाइएको हो।'

उनका अनुसार हालसम्म पोखरीबाट पानी चुहिने वा अरु कुनै प्रकारको समस्या देखिएको छैन। यसबाट रानीपोखरीमा पानी अडिने प्राय: निश्चित भएको उनको ठम्याइ छ।

पानी जम्नलाई कालो माटो राखेरमात्रै हुँदैन। कुन ठाउँमा कति कालो माटो हाल्ने र त्यसले बाहिरी पर्खाललाई कतिको प्रभावित गर्छ भनेर बुझ्न जरुरी हुन्छ। त्यसैले अहिले पोखरीको छेउमा १८ इन्चसम्म कालो माटो बिछ्याउने काम भइरहेको छ। पर्खाल बलियो होस् भनेर बीच भागमा भने ३ इन्चको स्लोप बनाएर कालो माटो लगाउने योजना रहेको छ। आवश्यकता अनुसार पोखरीमा १५ देखि १८ इन्चसम्म कालो माटो लगाइनेछ।

पानी अड्याउन कालो माटो नै किन ?

नेपाल भाषामा कालो माटोलाई 'द्य: चा' भन्ने गरिन्छ। 'द्य:' अर्थात् देउता 'चा' भनेको माटो। संस्कृतिविद् ओम धौभडेल देवताका लागि प्रयोग हुने भएकाले कालो माटोलाई 'द्य: चा' भन्ने गरेको बताउँछन्। देवताको प्रतीमादेखि ख्वापा (मुकुट) सम्म कालो माटोले बनाइने हुँदा यसलाई ईश्वरसँग तुलना गरिएको उनको भनाइ छ।

कालो माटोको विशेष गुण भनेकै त्यसमा रहेको पानी चुहावट रोक्न सक्ने क्षमता हो। कालो माटोको प्रयोगबारे ज्ञान बढ्दै गएपछि त्यसको प्रयोग पोखरी निर्माणमा गरिएको हो। पानी चुहावट नुहुने गरी पानी अड्याउन पोखरीमा र पर्खालमा कालो माटोले छाप्ने (सलामी) दिने प्रचलन पुरानै हो। त्यसरी सलामी दिँदा पोखरीमा पानी अडिएको र कालान्तरमा उपत्यकाका पोखरीहरु निर्माण क्रममा कालो माटोको व्यापक प्रयोग भएको धौभडेल बताउँछन्।

पोखरीमा अरु माटो बालुवासँग मिसिन गयो भने पानी सुकेर जाने गरेकाले पनि कालो माटोको प्रयोग हुन थालेको हो। लिच्छवीकालदेखि निर्माण भएका पोखरीमात्र नभइ ढुंगेधारामा पनि पानी चुहावट रोक्न कालो माटोको प्रयोग गरिएको देखिएको छ।

'कालो माटोमात्रै राख्दा त्यसमा पानीको मिश्रणले त्यो रसिदै लेदो बन्दै जाने खतरा हुन्छ,' धौभडेल भन्छन्, 'बालुवा राखेपछि त्यो कालो माटोसँग मिसिन्छ र जमिनमा कडापन ल्याउँछ र पानी सुक्न दिँदैन।' 

धौभडेलले कालो माटोसँग बालुवा मिसाउने प्रक्रियाबारे किम्बदन्ती नै रहेको बताए।

पहिला प्रजापतिहरुले माटोको भाँडा बनाउँदा कालो माटोको प्रयोग गरेर भाँडा बनाउँथे। भाँडालाई आकृति दिने कोसिस गर्थे तर त्यो दिगो भएन। कालो माटोले बनेका भाँडा फुटे। प्रजापतिहरु सबै भाँडा फुटेकोले निराश हुँदै बसिरहेको बेला उनीहरुसामुन्ने एकदिन एउटा हाँस देखापर्‍यो। हाँस 'फिति फिति' गर्दै प्रजापतिको अगाडि पुग्यो। हाँस किन फिति फिति गर्दै आयो भनेर प्रजापतिहरु अचम्ममा परे। पछि हाँसको इसारा बुझे। नेपाल भाषामा 'फि' भनेको बालुवा 'ति' भनेको राख्नु। हाँसले कालो माटोमा बालुवा राख्न इशारा गरेको बुझेर प्रजापतिले बालुवा र कालो माटोको भाडो बनाउँदा त्यो फुटेन। त्यसैले प्रजापतिहरु हाँसलाई आफ्नो विश्वकर्मा मान्ने गर्छन्।

पूरा होला तिहारको लक्ष्य?

जेठ १० गते दरबार हाइ स्कूलमा आयोजित एक कार्यक्रम सकेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोझै रानीपोखरी पुगेका थिए। त्यसबेला कालो माटोको काम सुरु भएको थिएन। उनले पूर्वी भागमा बन्दै गरेको पर्खालहरुको निरीक्षण गरे र दक्षिणतिर लागे।

त्यहाँ महानगरले ठेक्का दिएर बनाउन लगाएको कंक्रिट वाल भत्काएर पुरानै शैलीमा पर्खाल बनाउन बज्र बनाउँदै थिए भक्तपुरका महिला। ज्ञवाली हाँस्दै त्यहाँ पुगे र ठट्टा गर्दै भने, 'तिहारको भाइटीकासम्म जसरी पनि रानीपोखरीमा पानी जम्मा हुनुपर्छ है। नत्र यहाँ सबै लखेट्न आउँछन्।'

महिलाहरुले पनि आफूले तिहारसम्ममा नै काम सकाउने लक्ष्यका साथ काम गरिरहेको बताए। भने, 'सिध्याउने भनेरै आएको हो। तर भन्न सकिन्नँ।'

निकै सकारात्मक देखिएका ज्ञवालीले चाँडो काम सकाउन प्राधिकरणले जे गर्नुपर्छ गर्ने बताउँदै थप मानिस खटाउनु परे खटाउन समेत भने।

पहिलोपोस्टसँगको कुरामा उनले रानीपोखरीको काम सुरु भएपछि मानिसहरु निकै आशावादी भएको बताउँदै भने, 'भाइटीकासम्म रानीपोखरी बनोस् भन्ने सबैको इच्छा छ। यहाँ भइरहेको कामको गतिले त्यो इच्छा साकार हुने सम्भावना छ। तर बर्खाको समयले काम गर्न अलि गाह्रो हुने सम्भावना उत्तिकै छ। भक्तपुरका दिदी बहिनीहरुले आफ्नै ठाउँ मानेर काम गरिरहनु भएको छ।'

पोखरीको काम भइरहँदा मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरको काम भने सुरु हुन सकेको छैन। प्राधिकरणले टेन्डर मार्फत् मन्दिर, पुल तथा सौन्दर्यीकरणका लागि ठेक्का दिइसकेको छ। १२ करोड ३९ लाख १८ हजार १ सय ९३ रुपैंयामा सीएम/तुलसी जेभी काठमाडौंले ठेक्का प्राप्त गरेको छ।

मल्लकालमा शिखर शैलीमा बनेको रानीपोखरी राणाकालमा गुम्बज शैलीमा पुन:र्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पपछि काठमाडौं महानगरपालिकाले गुम्बज शैलीमा मन्दिर बनाउने भएपछि त्यसको विरोध भएको थियो।

अहिले भने रानीपोखरी पहिलाको भन्दा पृथक बन्ने सहमति भइसकेको छ। काठमाडौंको रानीपोखरीमा बन्ने मन्दिरको शैली गुम्बज नभइ ऐतिहासिक प्रमाणका आधारमा अब ग्रन्थकुट (शिखर) शैलीको हुनेछ।

प्राधिकरण प्रमुख ज्ञवालीले ठेक्का दिने काम भइसकेकोले अब छिट्टै मन्दिर र पुलको काम सुरु हुने बताए।

तर, तिहारसम्मको टार्गेट लिएर काम गरिरहेका भक्तपुरवासी र उपभोक्ता समिति भने मन्दिर र पुलको काम सुरु हुँदा पोखरीको काममा असर पर्न सक्ने भन्दै चिन्तित छन्।

दुमरु भन्छन्, 'पुल र मन्दिर बनाउन सामाग्री कहाँ राख्ने भन्ने कुरा आउँला। पोखरीमा राखौं भने पोखरीमा कालो माटो बिछ्याउने काम रोकिएला भन्ने डर छ। त्यसैले अहिले हामीले पुलबाट केही मिटर स्थान छोडेर कालो माटो लगाइरहेका छौं। उपभोक्ता समितिले प्राधिकरणसँग यस बारेमा छलफल गरिरहेको छ।'

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण संचालक समितिका सदस्य चन्द्रबहादुर श्रेष्ठ भने पोखरीसँगै मन्दिर र पुल निर्माणमा समस्या नआउने बताउँछन्। भन्छन्, 'उहाँहरुको चिन्ता स्वभाविक हो। अहिले पुल र मन्दिरको वरिपरि केही स्थान छोडेर पोखरीको निर्माण गरौं भन्ने कुरा भएको छ।'

पोखरी निर्माणसँगै पानीको व्यवस्था गर्न पनि प्राधिकरणले अध्ययन गरिरहेको उनले बताए। उनले प्राधिकरणले वर्षातको पानी संचय गर्ने, डिप बोरिङ गर्ने र मेलम्चीको एउटा डेडिकेटेड पाइपलाइन रानीपोखरीमा ल्याउनसक्नेमा अध्ययन भइरहेको बताए।

श्रेष्ठले यी तीन उपायसँगै रानीपोखरीमा पहिला पानी कसरी रहन्थ्यो भन्नेबारे अध्ययन समेत हुने बताए। रानीपोखरीमा सातवटा इनार रहेको कथन छ। तर, उत्खननका क्रममा ती इनारहरु फेला नपरे पनि पोखरीका कतिपय ठाउँमा पानी रसाइरहेको हुँदा यसबारे थप अध्ययन गर्न सकिने दुमरुको तर्क छ।

प्राधिकरणले सब वे निर्माण गर्दा भेटिएको दुंगेधारा र त्यसको रानीपोखरीसँगको सम्बन्धबारे पनि अध्ययन गर्ने श्रेष्ठले बताए।

सम्बन्धित समाचार: ३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' 

३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' बनाउँदा भेटिएको ढुंगेधाराबाट रानी पोखरीमा पानी जाने अनुमान गरिएको थियो।

बि सं २०४१ सालमा प्रकाशित 'प्राचीन नेपाल' नामक जर्नलमा शंकरमान राजवंशीले 'लिच्छवीकालीन भोटाहिटीको अभिलेख' शीर्षकमा उक्त धाराको चर्चा गरेका छन्।

टुँडिखेल विस्तारका क्रममा हिलो भएको खाल्डो पुर्दा धाराको अस्तित्व लोप भएको हुनसक्ने अनुमान सो लेखमा गरिएको छ। अस्तित्व लोप भएको १०० वर्ष भएको कुरा उत्खननका क्रममा फेला परेको तामाको पूजापात्रबाट थाहा हुने दाबी गरिएको छ। उत्खननका क्रममा चार धाराहरु स्पष्ट रुपमा देखापरेको उल्लेख गरिएको छ। एउटा धारा लिच्छविकालीन रहेको र अरु तीन धाराहरु प्रताप मल्लको पालामा बनेको हुन सक्ने बताइएको छ।

यस्तै तामाको यन्त्र भने प्रताप मल्लले लिच्छविकालीन धाराको जिर्णोद्वार गरी चढाएको हुन सक्ने विश्वास गरिएको छ।

प्रताप मल्लले वि सं १७२७ मा आफ्नो छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन रानीपोखरी बनाएका हुन्। त्यसैले ती धारा नै रानीपोखरीको पानीको स्रोत हुन सक्ने भन्दै खोज हुनुपर्ने माग हुँदै आएको छ।

यो पनि: भक्तपुर र काठमाडौंका पोखरीसँगै पाटनको मल्लकालीन पोखरी ब्युताउँदै भक्तपुरबासी



ट्रेन्डिङ पोस्ट

Ncell