PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामजीको पिएचडीको अर्थ छैन: प्रचण्ड



पहिलोपोस्ट

कम्युनिष्ट आन्दोलनमा नजोडिए बाबुरामजीको पिएचडीको अर्थ छैन: प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनसँग नजोडिए बाबुराम भट्टराईको पिएचडीको अर्थ नहुने टिप्पणी गरेका छन्।

‘बाबुरामजीको बौद्धिकता अन्त गएर हुँदैन। कम्युनिष्ट आन्दोलनमा जोडिए मात्र उहाँको पिएचडीको अर्थ हुने हो,’ पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बाबुराम भट्टराईलाई नेकपामा आउन आग्रह गर्दै उनले भने, ‘पहिले उहाँको पिएचडीको अर्थ थियो। अहिले छैन।‘

उनले पुराना कम्युनिष्ट नेताहरुलाई एकिकृत गर्न नसकेकोमा चिन्ता पनि प्रकट गरे। ‘भत्तपुरमा रोहितजी हुनुहुन्छ। उहाँ एउटा धार हो। उहाँ पनि यहीँ आउनुपर्छ जस्तो लाग्छ,’ उनले भने, ‘मोहन वैद्य, मेरा गुरु। उहाँलाई कसरी बुझाउने होला भन्ने चिन्ता लाग्छ।’

विप्लव अहिले सम्भव नहुने बाटोतर्फ लागेको उनको टिप्पणि थियो। विप्लवका बारे उनले भने, ‘विप्लवले नहुने बाटोतर्फ बल गर्नु भएको छ। त्यसो नगर्नुस्। उहाँको बल बुद्धि त यहाँ (नेकपामा) पो लगाउनुपर्ने हो।’ यी सबै कम्युनिष्ट नेताहरुलाई एकै ठाउँमा ल्याउन आफुले के गर्नुपर्ने हो भनिदिए आफूलाई सजिलो हुने उनले बताए।

सबै कम्युनिष्टलाई एकै ठाउँमा समाहित हुन आग्रह गरिरहँदा उनले नयाँ खोज्ने नाममा केही क्षण भड्किए पनि उनीहरु अहिले झंल्यास्स भएको उनले बताए। ‘केही समय अन्त जाँदा नयाँ हुन्छ भन्ठान्नु भयो। अहिले झल्यास हुनुभएको छ,’ उनले थपे, ‘कमरेडहरुलाई अब ढिला हुन्छ, छिटो आउनुस् भन्छु।’

प्रतिक्रियावादीलाई औडाहा

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा ८९ जनालाई पार्टी प्रवेश गराएपछि प्रचण्डले कम्युनिष्ट एकताले प्रतिक्रियावादी तत्वलाई छटपटी भएको टिप्पणि गरे। नेकपाको एकताले विश्वमा नयाँ सन्देश दिएको भन्दै उनले भने, ‘सगरमाथाबाट एकताको सन्देश गएको हुनाले यो संसारभर देखिएको छ। सगरमाथामाको टुप्पोमा कम्युनिष्टहरुको बहुमत छ। यो प्रतिक्रियावादीहरुलाई सहिसक्नु भएको छैन।’

उनले भन्दै आएको प्रतिक्रियावादीलाई नेपाल शान्ति प्रक्रियामा गएकोले पनि छटपटी भएको प्रचण्डले दोहोर्‍याउन छुटाएनन्। ‘एकथरी शान्ति प्रक्रिया तुहाउन लागी परेका छन्। यो सफल भएको उनीहरुलाई मन परेको छैन,’ उनले भने, ‘कोपरेर, चिथोरेर, घाउ बनाएर यसलाई क्यान्सर बनाउन लागिपरेका छन्।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell