.jpg)
- कुञ्जरमणि भट्टराई-
काठमाडौं : नेकपा पार्टी कार्यालय धुम्बाराहीमा निकै भिडभाड थियो। पार्टी प्रवेश गर्ने नै ८९ जना थिए। अनि भाषण सुनेर ताली बजाउने कार्यकर्ताको भिड उत्तिकै। खचाखच हलमा गर्मीले नेता तथा कार्यकर्ता असिन पसिन हुँदै थिए। पार्टी प्रवेश सकिएपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधनका लागि ड्यासमा उभिए। उनको भाषण शुरु भएपछि त झन् माहोल गर्मिने नै भयो।
आफ्नो भाषणमा उखान टुक्का मात्र हैन अरुलाई ब्यङ्ग्य गर्न माहिर मानिन्छन् प्रधानमन्त्री ओली। पार्टीको कार्यक्रममा पनि उनले जमेरै त्यसको प्रयोग गरे। आजको कार्यक्रममा ओलीले काठमाडौंमा मास्क लगाउनेदेखि समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई अनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससम्मलाई कटाक्ष गर्न भ्याए।
कटाक्ष नम्बर १: कुरा हुँदै थियो, अर्बौं सक्यो भने
कार्यक्रममा बोल्ने क्रममा ओलीले भारतीय चलचित्र अवार्ड आइफाबारे पनि बोले। उनले पर्यटन वर्ष सफल हुन नदिन आइफाबारे अनावश्यक हल्ला फैलाएको आक्षेप नै लगाए। आइफा अवार्डको बिषयले पछिल्लो समय चिया पसलदेखि सामाजिक सञ्जाल गर्माएको थियो। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशको सार्वभौमिकता, राष्ट्रियता प्रतिकूल हुने ठहर गर्दै अवार्ड रोक्न निर्देशन दिएको थियो।
‘न्युन लगानीमा अधिक फाइदा हुनेगरी भ्रमण वर्ष–२०२०लाई टेवा पुग्नेगरी आयोजना गर्न खोजिएको थियो,’ आइफाबारे बोल्दै ओलीले भने, ‘सरकारले अर्बौ खर्च गर्न लाग्यो भन्ने हल्ला फैलाइयो।’
आइफाबारे छलफल चलिरहेकै अवस्थामा ढुकुटी नै सक्न खोजे झैं विरोध भएको टिप्पणी गरे उनले। ‘सरकार यस विषयमा अझै छलफल गरिरहेको छ,’ उनले भने, ‘राम्रो अवस्थामा आयोजना गर्छौं। देशलाई नाफा हुनेगरी, घाटा हुने गरी हैन।’
कटाक्ष नम्बर २: सरकारको विरोध गर्न मास्क लगाउन थाले
प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा कसैले पनि मास्क लगाएर हिँड्नु नपर्ने बताएका थिए। सो विषयमाथि चर्को विरोध भइरहेको छ। कांग्रेसकी समानुपातिक सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै स्कुटीको पछाडि बसेर वनस्थलीको यात्रा गर्न चुनौती दिइन्। प्रम ओलीले यस विषयमा पनि कटाक्ष गर्न भ्याए।
‘म प्रधानमन्त्री भएका बेला काठमाडौंमा धेरै मान्छेहरु मास्क लगाएर हिँड्थे,’ उनले भने, ‘अहिले काठमाडौंमा धूलो घटेको छ, मास्क लगाउने घटेका छन्। केही दिनअघि मास्क नलगाएर पनि हिड्न सकिन्छ भनेको थिएँ। अहिले मेरो विरोध गर्नका लागि मास्क लगाउन थालेका छन्। मेरै विरोधका लागि भएपनि कृपया मास्क लगाइदिनुस्।‘
कटाक्ष नम्बर ३: बाबुरामलाई कटाक्ष, नेपालमा धेरैका पिएचडी छन्
बोल्नेक्रममा उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि व्यङ्ग्य हान्न भ्याए। बाबुराम भट्टराई नेतृत्वका केही कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै डिग्रीले क्रान्ति नहुने बताए।
उनले भने, ‘डिग्रीले क्रान्ति हुँदैन। क्रान्ति निष्ठाले गर्ने हो। सम्हालिएर डिग्रीको सदुपयोग गर्यौं भने राम्रो हुन्छ। नेपालमा पिचडी गरेका धेरै छन्। तर पिएचडी गर्ने एक जना मात्र जस्तो गरिन्छ।’
प्रधानमन्त्री ओली आफैले तीनवटा मानार्थ पिएचडी हात पारिसकेका छन्।
कटाक्ष नम्बर ४: विरोधीमाथि धावा
नेकपाको एकता भएको वर्ष बितिसक्दा पनि यसले पूर्णता पाउन नसकेको बारे अनेकन टिप्पणी सुनिन्छन् बजारमा। ओलीले यस्ता टिप्पणीबारे पनि कटाक्ष गरिहाले।
‘कतिले फुट्न आँट्यो, फुट्नै आँट्यो भनेका छन्। तिनीहरुको सपना देख्दा माया लाग्छ। कठैबरा,’ उनले भने, ‘ नेकपा एकताबद्ध छ। एकजुट छ। कहाँ हुन्छ एकता भन्थे। एकता भयो। प्रचण्ड र ओली एकै ठाउँ बस्न सक्दैनन् भन्थे। आलोचना गर्नेहरुलाई मेरो भन्नु छैन।‘
उनले पार्टी फुट्न नभइ जुट्न बनेको बताए। पार्टी एकता विलम्ब गर्न उपयुक्त नहुने भन्दै यही महिनाभित्र एकता प्रक्रिया टुंगो लाग्ने दाबी गरे।
कटाक्ष नम्बर ५: बाबुराम मात्र हैन, सिंगै समाजवादी अट्छ
कार्यक्रमलाई सम्बोधन गर्दै ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा बाहिरका कम्युनिष्ट नेतालाई एकतामा समाहित गर्न नसकिएको भन्दै चिन्ता जाहेर गरेका थिए। त्यही प्रसंगलाई जोड्दै ओलीले भने, ‘अघि प्रचण्डजीले आफ्ना गुरु मोहन वैद्य पार्टीमा आइदिए हुन्थ्यो भन्नु भयो। देश बनाउने बेलामा डिलमा बसेर हेरेर हुन्छ? आउनुहोस्, बहस गरौँ। बाबुरामजी मात्रै किन, सिंगै समाजवादी पार्टी नै आउनुहोस्, अटाउनुहुन्छ। कसरी एकताबद्ध हुने होला भनेर हिच्किचाउनु पर्दैन। आउनुस् स्वागत छ मिलेर काम गरौँ।‘
कटाक्ष नम्बर ६: चुनाव पनि जित्न नपाउनू, आलोचना गर्न नि नपाउनु?
प्रधानमन्त्री ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताए। उनले प्रतिपक्षीलाई संकेत गर्दै कटाक्ष गरे। ‘बहुदलमा आलोचना गर्न पाइन्छ। चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि। जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ।‘