PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

प्रेरणाको मुद्दामा सर्वोच्चले माग्यो दुवै मिसिल, फिर्ता होला दाइजो?



पहिलोपोस्ट

प्रेरणाको मुद्दामा सर्वोच्चले माग्यो दुवै मिसिल, फिर्ता होला दाइजो?

काठमाडौँः सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो विवाद सम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शाहको मुद्दामा भएका संयुक्त र पूर्ण इजलासको फैसला मगाउन आदेश गरेको हो।

आदेश अनुसार अब तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साहसहितको संयुक्त इजलासको फैसला र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले गरेको फैसलाको मिसिल संवैधानिक इजलासमा पेस हुनेछ।

साहसँग संयुक्त इजलासमा बेञ्च सेयर गर्ने न्यायाधीश हालका प्रधानन्यायाधीश जबरा थिए। यस्तै, पूर्ण इजलासमा कार्कीसँग फैसला गर्नेमध्ये अर्का न्यायाधीश संवैधानिक इजलासका हालका सदस्य दीपककुमार कार्की हुन्। कार्की समेतको इजलासले शुक्रवार मिसिल झिकाउने आदेश गरेको हो।

 

जेलिएको विवाद

प्रेरणाले आफूले दाइजोबाट पाएको सम्पत्ति सरकारले नेपाल ट्रष्टको नाममा कायम गरेको भन्दै ०७१ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा २०७२ असार ६ गते तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर जबराले उक्त प्रेरणाको नाममा हुने आदेश गरेको थियो।

उक्त फैसलाविरुद्ध नेपाल ट्रष्ट र भूमिसुधार मन्त्रालयले सर्वोच्चमा पुनरावलोकन दर्ता गरेका थिए। पुनरावलोकनमा सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले २०७३ पुस २१ गते जग्गा ट्रष्टकै नाममा हुने आदेश गरेको थियो ।

तर, पुनरावलोकनको फैसला कार्यान्वयनको चरणमा पुनः रिट क्षेत्रधिकारबाट प्रेरणा सर्वोच्च पुगेकी थिइन्। २०७५ पुस ६ गते रिट लिएर पुगेकी थिइन। संवैधानिक इजलासबाट सुनुवाइ हुनुपर्ने विवाद पूर्ण इजलासबाट हेरिएको भन्दै प्रेरणाको पुनरावलोकन दर्ता भएको थियो। पुनरावलोकनबाट समेत अन्तिम भइसकेको विषयमा पुनः रिट दर्ता हुनुलाई धेरैले आश्चर्यका रूपमा हेरेका थिए।

अन्तरिम संविधानको धारा १५९ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारका सदस्यका नाममा रहेको सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रष्ट बनाइ राष्ट्र हितमा प्रयोग गर्ने उल्लेख थियो। यस्तै, तत्कालीन राजाको हैसियतले ज्ञानेन्द्रले प्राप्त गरेका सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था थियो।

सो संवैधानिक व्यवस्था कायम गर्न ०६४ को नेपाल ट्रष्ट ऐन अनुसार स्वर्गीय राजा र परिवारका नाममा रहेको सम्पत्ति ट्रष्ट मातहतमा ल्याउने निर्णय भएको थियो। प्रेरणाले दाइजोमा पाएको दाबी गरेको छाउनीस्थित उक्त जग्गा मन्त्रिपरिषद्को ०६७ कात्तिकको निर्णयबाट ट्रष्ट मातहत कायम भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell