
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन्।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाए।
'पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ। असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ,' प्रधानमन्त्री ओलीले भने– 'पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुंगामा सवार छौं। यो कुरा सबैले मनन् गर्नुपर्दछ।'
प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको विषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए।
आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
'कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन्,' प्रधानमन्त्री ओलीले भने,– 'हामीले गर्न खोजेको त्यही हो। यसबाट हामीलाई लाभ हुन्छ। देशका निम्ति हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो।'
बैठकमा प्रधानमन्त्री ओलीले संसदहरुले राखेका सुझाव, आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको बताए। आजको बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राखेका थिए। दलको अर्को बैठकको मिति चाँडै तय हुने प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।