काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने दावी गरेका छन्।
संसदीय दलको शनिबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको बताए।
'भारतबाट पत्र आयो! खोई कसलाई पत्र आयो? मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्र? मैले बुझेको छैन,' प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, 'मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यस कारण अलिकति समस्या पर्यो। हाललाई यसलाई छोड्नु पर्यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नु पर्यो अनि यसलाई लागू गर्नु पर्यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति।'
प्रधानमन्त्री ओलीले सीमामा विषादी जाँचपासको व्यवस्था भएपछि यो प्रक्रिया सुरु हुने बताए। 'त्यसलाई जाँच्न सक्ने अवस्था हामी विकास गर्दै छौं। त्यतापट्टि सरकारको ध्यान छ। त्यो सरकारको ध्यान छ भन्ने कुरा यसमा प्रकट भयो। तर ध्यान अलिकति एक स्टेप फरवार्ड भएछ। अलि बढी छिटो भयो।'
प्रधानमन्त्री ओलीले सरकारले जनताले शुद्ध र विष रहित खानेकुरा खान पाउन् भन्ने सरकारको चाहना भएको बताए।
'विषादीयूक्त चिज खानु हुँदैन। त्यो हामीले नै भनेको हो। अहिले जान्ने धेरै निस्किए। त्यो हामीले नै भन्यौं। अनि सबैको ध्यान गयो,' उनले भने, 'नेपाललाई हामी अर्गानिक बनाउन चाहन्छौं। खाने कुरा शुद्ध होस्। हाम्रो भान्सामा विष नपुगोस्। त्यो हाम्रो आकांक्षा हो। र,यसलाई हामी पूरा गर्छौं।'
संसदीय दलको बैठकमा भारतबाट आउने तरकारीमा भएको विषादी परीक्षणको सम्बन्धमा प्रधानमन्त्री ओलीको भनाइलाई उनको सचिवालयले जस्ताको त्यस्तै भन्दै यो अंश जारी गरेको छ -
हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नु पर्यो अनि यसलाई लागु गर्नु पर्यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति । जाँच्ने नै तपाईसँग छैन. भने जाँच्न पर्छ भनेर के गर्नु हुन्छ ? त्यो जाँच्ने हामी भर्खर स्थापना गर्दै छौं अनि, स्थापना हुदैँछन् जाँच केन्द्रहरु ।
त्यस कारण अहिले त्यो पर्याप्त अवस्था नभइकन, हामीले हाम्रो देश भित्र पनि अघि एक जना साथीले भन्नु भयो, बिषको सीमा हुदैन भित्रको भएपनि विष हो, बाहिरको भएपनि विष हो । विषादीयुक्त खानेकुरा खान हुदैन । जनतालाई खान दिन हुदैन तर विषादीयुक्त विक्री हाम्रा पनि भएका छन् भने हामीले त्यो जाँच्न सकिराखेको अवस्था छैन् । त्यो वास्तवमा के हो भने हामीले नसक्ने गरी, त्यो परीक्षण गर्न नसक्ने गरीको अवस्थामा भयो । तसर्थ यसमा हामी स्पस्ट हुन जरुरी छ । यहाँ निर हामीले केही झुकेर, दवामा परेर आदि, इत्यादी भन्ने कुरा होइन ।
त्यो भन्दा हामीले यो संयुक्त चेक पोष्टहरु राख्यौं, ति चेक पोष्टहरु एउटा चल्यो । विराटनगरमा सुरु हुदैछ । अरु बनिसकेको छैनन् । चालु नै छैनन् । यस्तो स्थितिमा जब संयुक्त चेक पोष्ट र जाँचका सामग्रीहरु त्यो अवस्था तयार भइसकेको छैन भने हाम्रो हतारो साथ अलिकति गरिएछ भन्ने कुरा हामीले ठान्नु पर्यो । त्यस कारण हतारो भएको कुरालाई महशुस गरेर नै मन्त्रालयले त्यो प्रस्तावहरु ल्याएर, त्यो प्रस्तावलाई क्वाविनेटले पास गर्यो । इच्छा मात्र गरेर हुदैन कतिपय कुरा त्यो । तर त्यो लागु भइहाल्ने स्थिति अलिक नभएको हो ।